१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नारायणगढ–मुग्लिङ सडक प्रयोग गर्दा शुल्क

हलुका सवारीलाई एक पटकमा २५ र भारी सवारीका लागि ५५ रूपैयाँ दस्तुर लिइने
विमल खतिवडा

काठमाडौँ — चितवनको नारायणगढ–मुग्लिङ सडक प्रयोग गर्दै हुनुहुन्छ ? ख्याल गर्नुस् है । अब केही समयपछि दस्तुर नतिरी यो सडक आवतजावत गर्न पाउनु हुने छैन । ३६ किलोमिटर दूरी रहेको यो सडक खण्डमा सरकारले सवारीसाधन गुडाएबापत शुल्क उठाउने निर्णय गरेको छ । त्यसका लागि हलुका र भारी सवारीसाधनको फरकफरक शुल्क निर्धारण गरिएको छ ।

नारायणगढ–मुग्लिङ सडक प्रयोग गर्दा शुल्क

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा शुल्क लिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । ‘केही सडक आयोजनाको निर्माण सकिएपछि तिनीहरूको नियमित मर्मतसम्भार गर्न स्रोत चाहिन्छ,’ उनले बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउँदै भने, ‘स्रोत अभाव नहोस् भन्न मर्मतसम्भार दस्तुर लिने चलन छ, त्यसैअनुसार यस्तो निर्णय गरिएको हो ।’ उनका अनुसार हलुका सवारीका लागि २५ र भारी सवारीका लागि ५५ रुपैयाँ प्रतिटिप सडक उपभोग दस्तुर संकलन गर्न दिने निर्णय भएको हो । स्कुटर र मोटरसाइकलका लागि भने दस्तुर लाग्नेछैन । सडक स्तरोन्नतिपछि सञ्चालनमा आएको एक वर्ष भएको छ । अहिले यो खण्डमा पहिरोको जोखिम उच्च छ ।

सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेत भने सरकारले सडक उपभोग दस्तुर ०५२ सालदेखि उठाउँदै आएको बताउँछन् । त्यो बेला ९ ठाउँमा दस्तुर उठाउने निर्णय भएकामा तीन ठाउँबाट मात्र लिन थालिएको उनको भनाइ छ । ‘सडक मर्मतसम्भारलाई सरकारले रकम उपलब्ध गराउन नसक्ने भएपछि राष्ट्रिय राजमार्गमा सवारी चाप बढी हुने र सडक भत्किने हुन्छ, यसलाई पारदर्शी बनाउन उपभोक्ताले तिरेको पैसा त्यही ठाउँमा खर्च गर्ने गरी उठाउन थालिएको हो,’ उनले भने, ‘जुन ठाउँमा सडक विस्तार हुँदै जान्छ, विस्तार भइसकेपछि त्यो सडकमा शुल्क लिएर मर्मत गर्ने गरिएको छ ।’ उनका अनुसार नारायणगढ–मुग्लिङ सडकबाहेक अन्य १९ वटा सडकमा पनि दस्तुर लिने निर्णय भएको छ । निर्णय गरिएका सडक दुई लेनका भएकाले अहिले चार लेनको बनाइँदै छ । ‘चार लेन भएपछि सडक उपभोग दस्तुर लिन थालिनेछ,’ उनले भने ।

सवारी दस्तुरबाट उठेको रकम त्यही सडकको मर्मतमा खर्च गरिनेछ । नारायणगढ–मुग्लिङ सडक भर्खर बनेको हो । तर बिग्रँदै जान्छ । ‘कहिलेबाट दस्तुर लिने भनेर निर्णय हुन बाँकी छ, लामा दूरीका सवारी सबै खुलेर पर्याप्त यात्रु नहिँडेसम्म शुल्क लिइने छैन,’ खतिवडाले भने, ‘कोभिडको त्रास हटेपछि मात्र यो नियम लागू हुनेछ ।’ लकडाउन र कोभिडले गर्दा धेरै ठाउँमा सडक दस्तुर लिन बन्द गरिएको छ । ‘सडक निर्माणमा सरकार र दातृ निकायबाट सहयोग हुन्छ । तर मर्मतका लागि सहयोग कम हुन्छ,’ उनले भने, ‘हामीसँग सडक उपभोग दस्तुर मात्र आउने हो, यो थोरै हुन्छ ।’ उनका अनुसार नौबिसे–मुग्लिङ खण्डको मझिमटारमा उठाइने सडक दस्तुर वार्षिक २३ करोड रुपैयाँ जम्मा हुन्छ । त्यो त्यहीँ खर्च हुन्छ । अहिले सबै गरेर २१ ठाउँमा उठाइन्थ्यो । ‘अहिले वार्षिक उपभोग दस्तुर नौबिसे–मुग्लिङ, हेटौंडा–नारायणगढ, भैरहवा–भुमही सडक खण्डमा मात्र उठाउने गरिएको छ । अघिल्लो वर्ष ५० करोड रुपैयाँ उठेको थियो । सबै ठाउँमा सुरु भएपछि वार्षिक चार अर्ब जति उठ्छ,’ उनले भने ।

नारायणगढ–मुग्लिङ सडक स्तरोन्नतिपछि नयाँ भएकाले मर्मत गर्न सहज होस् भनेर दस्तुर लिने विषय उठेको नारायणगढ–मुग्लिङ सडक आयोजना तथा डिभिजन सडक भरतपुरका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।

प्रकाशित : श्रावण १६, २०७७ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?