कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूपन्देहीका होटलमा पाहुनाको पर्खाइ

सन्जु पौडेल

तिलोत्तमा — सरकारी निर्णयअनुसार रूपन्देहीका विभिन्न क्षेत्रका होटल बिहीबारबाट सञ्चालनमा आएका छन् । व्यवसायीले लामो समय बन्द होटलका ढोका खोलेका हुन् । केही स्थानका सञ्चालकले भने अझै होटल खोलेका छैनन् । होटल खोलेर ग्राहक नआउने थाहा हुँदाहुँदै पनि सरकारी अनुमति स्विकारे जस्तो गरेको व्यवसायीको भनाइ छ ।

रूपन्देहीका होटलमा पाहुनाको पर्खाइ

देशमै पर्यटकको राम्रो आगमन हुने लुम्बिनीमा लकडाउन अवधिमा पर्यटक आउन नपाएपछि यहाँका होटल सुनसान छन् । सरकारले होटल खोल्न दिएको अनुमतिसमेत प्रयोगविहीन रहेको उनीहरूको गुनासो छ । लकडाउनअघि प्रदेश सरकारको भ्रमण वर्ष घोषणाअनुसार लुम्बिनीमा पर्यटक संख्या बढ्ने आकलनले लगानी थप गरी होटल विस्तार गरेका र नयाँ होटल सञ्चालनमा ल्याउन तयारी गरेका व्यवसायीले लकडाउनको अवधिमा अर्बौं रुपैयाँ नोक्सानी बेहोर्नुपरेको गुनासो गरेका छन् । यहाँका होटल सञ्चालनका लागि आन्तरिक र बाह्य पर्यटकको आगमन पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ । लकडाउनले लुम्बिनीमा पर्यटक आउन रोकिएपछि होटल व्यवसायीलाई समस्या परेको लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

‘अन्यत्र जस्तो आन्तरिक पर्यटक आउलान्, बस्लान् भन्ने तरिकाले लुम्बिनीका होटल खोलेर बसेर हुँदैन,’ उनले भने, ‘बाह्य पर्यटकबिना हाम्रो व्यवसाय चल्दैन ।’ लकडाउनको अवधिमा आन्तरिक र बाह्य पर्यटक आउन नपाएपछि यहाँका प्रत्येक होटलले १५ करोडदेखि ४० करोड रुपैयाँसम्म आम्दानी गुमाएको ज्ञवालीले जानकारी दिए । लुम्बिनीमा सानाठूला गरी ८५ होटल सञ्चालनमा छन् । लकडाउनले होटल व्यवसाय बन्द हुँदा दैनिक २० देखि ५० लाख रुपैयाँसम्म क्षति बेहोरेको उनले बताए ।

रेस्टुराँ तथा क्याफे जस्ता होटल सञ्चालन नभएकाले खोल्नु र नखोल्नुको अर्थ एउटै रहेको होटल तथा रेस्टुराँ व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुद्र जीसीको भनाइ छ । ‘ग्राहक आउलान् र सेवा दिऊँला भन्ने छैन,’ उनले भने, ‘ढोकामा सेनिटाइजर राखेर बस्ने काम मात्र भएको छ ।’

ग्राहक आएमा ढोकैबाट सेनिटाइजरको प्रयोग गर्न लगाउने, मास्क अनिवार्य गराउने र खाना प्याकिङ गरी खुवाउने व्यवस्थासहित तयारी थालिएको उनले बताए । यहाँका होटलमा बास बस्ने पर्यटक भारतीय र तेस्रो मुलुकका बढी हुने भएकाले सबैतिर खुला नभएसम्म व्यवसाय नचल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीका अध्यक्ष गणेशप्रसाद बेल्बासेले जानकारी दिए ।

प्रकाशित : श्रावण १६, २०७७ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?