कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘वार्म अप’ मै पोखराको पर्यटन

१० प्रतिशत होटल र २५ प्रतिशत रेस्टुरेन्ट मात्रै आंशिक खुला
दीपक परियार

पोखरा — लकडाउनअघि गुल्जार लेकसाइड देखेकी अमेरिकी पर्यटक रोक्सी जिउलियानो फेरि उत्साहित छिन् । लकडाउनभर उनले लेकसाइडको सडकमा गाडीमा हुइँकिन, रेस्टुरेन्टमा लाइभ म्युजिक सुन्न, सुविधासम्पन्न डिपार्टमेन्टल स्टोरमा चकलेट किन्न पाइनन् ।

‘वार्म अप’ मै पोखराको पर्यटन

फेवा किनारमा टहलिनेको भीड, सडक वारिपारिका पसलमा बस्ने हँसिला व्यापारी, हतारमा हुने डुंगा चालकलाई उनले खुब ‘मिस’ गरिन् । बिहीबारदेखि होटल रेस्टुरेन्ट खुलेको खबरले उनी लेकसाइड पुरानै लयमा फर्किनेमा आशावादी छिन् ।

स्वास्थ्य तथा सुरक्षा निर्देशिका पालना गरेर व्यवसायीले साउन १५ देखि होटल तथा रेस्टुरेन्ट खोल्न पाउँछन् । पोखराका पर्यटन व्यवसायी भने पूर्वतयारीमै छन् । पर्यटकीय मौसम सुरु नभइसकेकाले ‘पर्ख र हेर’ को अवस्थामा रहेको व्यवसायी बताउँछन् । बुधबार भएको सरोकारवालाबीचको छलफलले निर्देशिका पालना गरेर होटल तथा रेस्टुरेन्ट खोल्ने निर्णय गरेको छ । कास्कीका प्रशासन प्रमुख, महानगर प्रमुख, पर्यटन बोर्ड र व्यवसायी छलफलमा सहभागी थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल बजारलाई चलायमान बनाउन पनि पर्यटन व्यवसाय सञ्चालन गर्नुको विकल्प नरहेको बताउँछन् । हाल २५ प्रतिशत रेस्टुरेन्ट सञ्चालनमा आएको उनले जानकारी दिए । ‘भदौ १ बाट अन्तर्राष्ट्रिय उडान र लामो दूरीका यातायात नखुल्दासम्म हामी वार्म अपकै अवस्थामा रहन्छौं,’ उनले भने, ‘अहिले कर्मचारी व्यवस्थापन र उनीहरूलाई स्वास्थ्य तथा सुरक्षासम्बन्धी तालिम दिन्छौं ।’ ग्राहकले प्रयोग गरेपछि होटलका कोठा, रेस्टुरेन्टलाई कसरी कीटाणुरहित बनाउने, होटलमा आउने ग्राहकको रजिस्ट्रेसन कुन मोडलमा गर्ने भन्ने तयारी चलिरहेको उनले उल्लेख गरे । भने, ‘परिस्थिति हेरेर सेवा दिने सोचिरहेका छौं ।’

व्यवसाय खोल्दाको जोखिमका विषयमा पर्यटन व्यवसायीको चासो छ । ‘यो त्यति सजिलो छैन । झन् धेरै जोखिम हुन सक्छ,’ व्यवसायी खबु पहारीले भने, ‘खोल्नका लागि मात्रै खोलेर कर संकलन गर्ने उद्देश्यले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिँदै छ ।’ होटल सञ्चालनको पूर्वतयारीमै अझै एक–डेढ महिना बित्ने पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । बिहीबारबाट साना र मध्यमस्तरका १० प्रतिशत होटलले मात्रै आंशिक सेवा सुरु गरेको उनको भनाइ छ । अक्टोबरबाट सुरु हुने पर्यटकीय मौसमलाई लक्ष्य गरेर पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी तयारी गरेको उनको भनाइ छ ।

‘अहिले आर्थिक र मानसिक रूपमा पनि होटल पूर्ण रूपमा सञ्चालन गर्न व्यवसायी तयार छैनन्,’ उनले भने, ‘व्यावसायिक सिजनमा आउने बुकिङलाई हेरेर व्यवसाय चलाउने व्यवसायीको तयारी छ ।’ पर्यटनविहीन हुँदा व्ययभार पनि थपिने भएकाले चाँडै खोल्न व्यवसायी इच्छुक नभएको उनले सुनाए । भदौ १ पछि अन्तर्राष्ट्रिय उडानको कार्यविधिले पनि पोखराको व्यवसाय खुल्ने/नखुल्ने निधो गर्नेछ । अन्तर्राष्ट्रिय उडानबाट आउनेहरू काठमाडौंमा ५–६ दिन राख्ने कार्यविधि बने त्यसले पोखरालाई असर पुर्‍याउने उनको ठम्याइ छ ।

स्वास्थ्य निर्देशिकाअनुसार सभा, सम्मेलन गर्न नपाइने भएकाले पोखराका तारे होटल सेवा सुरु गर्ने पक्षमा छैनन् । पोखरामा १६ तारे होटल छन् । सिजनमा आउने बुकिङकै आधारमा आवश्यक कर्मचारी बोलाउने उनीहरूको तयारी छ ।

भिसा अवधि थप्न चाहन्छन् पर्यटक

सगरमाथा क्षेत्रमा पदयात्रा गर्ने सपना बुनेर नेपाल आएका दक्षिण अमेरिकी मुलुक उरुग्वेका मार्टिन ओलास्कोयगाको इच्छा पूरा हुन पाएन । पाँच वर्षयता सातपल्ट नेपाल आइसकेका उनी प्रेमिकासँग पोखरामा बसिरहेका छन् । नेपाल आएको केही समयमा लकडाउन सुरु भयो । भदौ १ मा अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र विदेशी पर्यटकले नेपाल छाड्नुपर्ने सरकारको निर्णयले उनको मन अमिलो बनेको छ ।

पर्यटक भिसामा आउनेले १ सय ५० दिन (५ महिना) नेपाल बस्न पाउँछन् । उनले उक्त अवधि पूरा गरिसकेका छन् । भदौ १ पछि १५ दिनभित्र नेपाल छाड्ने पर्यटकको भिसा र जरिवाना शुल्क मिनाहा गर्ने सरकारले निर्णय गरिसकेको छ । तर मार्टिन र उनकी दक्षिण अमेरिकी मुलुक चिलीकी प्रेमिका कहाँ जाने, कसरी जाने भन्नेमा दोधारमा छन् । भारतमा रहेको उरुग्वेको दूतावासमा बुझ्दा कुनै चार्टर्ड उडान नभएको जानकारी उनले पाएका छन् । चिलीमा कोरोनाको अवस्था झनै भयावह छ । ‘हामी त्यहाँ पुग्न असम्भव जस्तै छ,’ उनले भने, ‘उताको एयरपोर्ट बन्द छ । कोरोना महामारी भयावह छ ।’ उरुग्वेमा १ हजार २ सय मात्रै कोरोना संक्रमित भए पनि चिलीमा भने ३ लाख ४८ हजार पुगिसकेका छन् । ९ हजार १ सय ८७ ले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । आफ्नो देशको अवस्था खराब भएकाले नेपाल नै बस्न चाहेको उनी बताउँछन् ।

आफ्ना बुबासहित १५ जनालाई उनले सगरमाथा क्षेत्रको पदयात्राका लागि बोलाएका थिए । उरुग्वेबाट उडान हुनुभन्दा ३ दिनअघि नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भयो । कोरोनाले सिर्जना गरेको परिस्थिति चाँडै अन्त्य भएर बुबा र साथीहरूसँगै पदयात्रामा निस्कने सपना थियो उनको । लकडाउन लम्बिएपछि पोखरामै एक घर भाडामा लिए । नेपाली भाषा सिके । नेपाली परिवारलाई करेसाबारीको काममा सघाए । उक्त १५ जनाको समूह नोभेम्बरमा आउने भएको छ । त्यही समूहसँग पदयात्रामा जान चाहन्छन् उनी ।

‘हामीलाई थाहा छ, हामीले पर्यटकका रूपमा बस्न पाउने १ सय ५० दिन पूरा गरिसकेका छौं । तर हामी अझै बस्न चाहन्छौं,’ उनले भने, ‘ट्रेकिङ गर्ने हाम्रो सपना पूरा गर्न चाहन्छौं । मेरो बुबाको सपना पनि त्यही छ ।’ हाल नेपाल बसिरहेका पर्यटकमध्ये धेरै जना घर फर्कने अवस्थामा नरहेको उनको दाबी छ । नेपाल सरकारले भिसा अवधि विस्तार गरे शुल्क तिरेरै बस्न तयार रहेको उनले बताए ।

अमेरिकाकी एनी स्टिबर र इटालीका मार्कोको जोडीलाई नेपाल छाडेपछि कहाँ जाने भन्ने पत्तो छैन । प्रेमी इटाली फर्किन नसक्ने र आफू अमेरिका प्रवेश गर्न नसक्ने एमी बताउँछिन् । ‘अरू सम्भावना हेर्दा पनि हामी सुरक्षित नहुने जोखिम छ,’ उनी भन्छिन्, ‘हामी दुवै नेपालमै सुरक्षित र खुसी छौं ।’ पोखरामै रहेकी अमेरिकी नागरिक रोक्सी जिउलियानो अन्तर्राष्ट्रिय उडान सुरु भए पनि यात्रा असुरक्षित हुने ठान्छिन् । यात्राका क्रममा एक स्थानबाट अर्को स्थानमा कोरोना फैलन सक्ने उनको भनाइ छ । कोरोना महामारीले थिलोथिलो भएको लस एन्जलस पुग्नुभन्दा उनलाई नेपाल नै सुरक्षित लागेको छ । उता रहेका आफ्नो परिवार भयभीत भएकाले पनि देश फर्कन नसक्ने उनी सुनाउँछिन् । भ्रमण वर्ष २०२० मा सहभागिता जनाउन नेपाल आए पनि कतै घुम्न नपाएको उनको दुःखेसो छ । ‘अहिलेसम्म विदेशी पर्यटकलाई नेपाल सरकारले देखाएको उदारता प्रशंसनीय छ,’ उनी भन्छिन्, ‘अब १५ दिनभित्र नेपाल छाड्नुपर्ने निर्णयमाथि पुनर्विचार होस् भन्ने हाम्रो आग्रह हो ।’ लकडाउन अवधिमा नेपालमा रहँदा सरकार र व्यवसायीप्रति कुनै गुनासो नरहेको उनले सुनाइन् ।

पोखरामा झन्डै २ सय ५० विदेशी पर्यटक रहेको पर्यटक प्रहरी कार्यालय पोखराले जनाएको छ । अमेरिका, बेलायत, इटाली, रुसलगायत देशका पर्यटक पोखरामा छन् । पर्यटकलाई जबर्जस्ती फर्काउन नहुने पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । ‘भदौ १ देखि विदेशी पर्यटक नै बोलाउने भन्ने छ,’ उनले भने, ‘यो अवस्थालाई दृष्टिगत गरी यहाँ रहेका पर्यटकको भिसा अवधि थप्ने प्रावधान भए राम्रो हुन्थ्यो ।’ अध्यागमन कानुनअनुसार पर्यटक भिसामा आउनेले १ सय ५० दिनभन्दा बढी समय नेपालमा बिताउन पाउँदैनन् । कोरोनामा नेपाल सरकारले दिएको सुविधा भदौ १५ मा सकिन्छ । भदौ १५ पछि अनधिकृत रूपमा बसेको ठहरिन्छ । भिसाको म्याद गुजार्नेले दैनिक नियमित शुल्क ३ डलर र थप जरिवाना शुल्क ५ डलर गरी ८ डलर बुझाउनुपर्छ ।

प्रकाशित : श्रावण १६, २०७७ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?