दुग्ध पदार्थमा साढे २ करोड अपचलन

राजु चौधरी

काठमाडौँ — दुग्ध विकास संस्थान (डीडीसी) ले दूध, मख्खन र घृतांश (मख्खनबाहेकको पदार्थ) बिक्रीमा साढे २ करोड रुपैयाँ अपचलन गरेको पाइएको छ । मख्खन र घृतांशमा साढे ५५ लाख, दुग्ध चिस्यान सेवाबाट १ करोड ४० लाख, जमानत रकम भन्दै साढे २४ लाख, पोलिथिन खरिदमा साढे ८ लाखलगायत शीर्षकबाट उक्त रकम अपचलन गरेको भेटिएको हो ।

दुग्ध पदार्थमा साढे २ करोड अपचलन

संस्थानले एक दुग्ध पदार्थ उत्पादक सस्थासँग गरेको सम्झैताअनुसार दूधबाट निस्कने मख्खन तथा घृतांश ८० प्रतिशतका दरले मख्खन १ लाख ३० हजार र घृतांश ९६ हजार किलोग्राम डीडीसीलाई बुझाउनुपर्ने महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । तर उक्त संस्थाले ७३.७६ प्रतिशतका दरले मख्खन १ लाख २४ हजार र घृतांश ९१ हजार किलोग्राम मात्रै बुझाएको छ । ‘सम्झैताअनुसार उक्त संस्थाबाट मख्खन ६ हजार र घृतांश ५ हजार किलो असुल गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

डीडीसी स्रोतका अनुसार संस्थानसँग दूध बढी हुँदा पोखरामा रहेको सुजल डेरीमा पठाइन्छ । उक्त डेरीबाट मख्खन र पाउडर दूध बनाइन्छ । मख्खनको न्यूनतम मूल्य प्रतिकिलो ६ सय ६७ रुपैयाँ पर्छ । घृतांश न्यूनतम प्रतिकिलो ३ सय १० रुपैयाँ पर्छ । जसअनुसार मख्खनको ४० लाख २ हजार र घृतांशको १५ लाख ५० हजार रुपैयाँ असुल्न बाँकी रहेको डीडीसीका एक अधिकारीले बताए । प्रतिवेदनअनुसार विभिन्न २५ वटा बैंकमा डीडीसीको खातामा ३८ लाख ९ हजार रुपैयाँ बराबर रकम छ, जुन खाता सञ्चालनमै छैनन् । ती खाता धेरै वर्षदेखि सञ्चालनमा आएका छैनन् । पैसा यत्तिकै मौज्दात रहेकाले उक्त रकम संस्थानको चालु खातामा खातामा ट्रान्सफर गर्न प्रतिवेदनले सुझाएको छ ।

जमानतभन्दा साढे २४ लाख बढीको दूध दिइयो

संस्थानले नीतिविपरीत उधारो बिक्री गर्न नहुनेमा २४ लाख ५१ हजार रुपैयाँभन्दा बढीको दूध बिक्री गरेको पनि भेटिएको छ । त्यसैले प्रतिवेदनले बैंक जमानतभन्दा बढी दुग्ध पदार्थ उधारोमा दिने कार्य तत्काल नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ । ‘पर्याप्त धरौटी वा बैंक जमानत लिएर मात्र उधारो बिक्री गर्नुपर्ने संस्थानको नीति छ । आयोजनाबाट नियमित रूपमा दूध तथा दुग्ध पदार्थ खरिद गर्ने खरिदकर्ताहरूले बैंक जमानत राखी उधारो खरिद गर्ने गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जमानत रकमभन्दा बढी उधारोमा बिक्री गर्न नहुनेमा २४ लाख ५१ हजार बढी बिक्री गरेको पाइयो । पाउनुपर्ने रकम आर्थिक वर्षको अन्त्यमा मात्रै बैंक जमानतको सीमाभित्र रहने गरी प्राप्त हुने गरेको देखियो । बैंक जमानतभन्दा बढी रकमको दुग्ध पदार्थ उधारोमा दिने कार्य नियन्त्रण गर्नुपर्छ ।’


प्रयोग नहुने साढे ८ लाखको पोलिथिन किनियो

संस्थानले प्रयोग नहुने किसिमको ८ लाख ४५ हजार रुपैयाँको पोलिथिन फिल्म खरिद गरेको पनि पाइएको छ । फोर्टिफाइड दुग्ध उत्पादन गर्न आवश्यक पोलिथिन फिल्म संस्थानले किनेको थियो । तर संस्थानले अझसम्म फोर्टिफाइड दुग्ध पदार्थ उत्पादन नगरेकाले उक्त सामग्री मौज्दात छ । प्रयोग नहुने सामग्री खरिद गरेकोमा तत्काल छानबिन हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । भनिएको छ, ‘छानबिन गरी उक्त सामग्रीको उचित उपयोग गर्ने व्यवस्था मिलाउनुपर्दछ ।’ डीडीसी स्रोतले पनि बिनायोजना पोलिथिन खरिद गरिएको बताएको छ । ‘खरिद गरिए पनि व्यवस्थापनको कमजोरी र प्राविधिक कारण प्रडक्ट उत्पादन भएन,’ डीडीसीका एक अधिकारीले भने, ‘अहिले उक्त पोलिथिन यत्तिकै थन्किएको अवस्थामा छ ।’

१ करोड ४० लाख उधारो उठेन

डीडीसीलाई विभिन्न दुग्ध चिस्यान सेवा केन्द्रले दिनुपर्ने १ करोड ४० लाख रुपैयाँ असुल भएको छैन । केन्द्रहरूले संस्थानको घिउ तथा दाना उधारोमा लिई बिक्री गर्ने गरेका छन । ‘समयमा उधारो बिक्रीको हिसाब मिलान नभएका कारण आर्थिक वर्षको अन्त्यमा चिस्यान केन्द्रबाट उठ्न बाँकी १ करोड ४० लाख ६८ हजार रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘बक्यौता रकम समयमै असुल गर्नुपर्छ ।’ अहिले डीडीसीले ४४ जिल्लामा १२ सय दुग्ध उत्पादक सहकारीमार्फत करिब २ लाख किसानबाट दूध संकलन गरिरहेको छ । तर उसले किसानलाई समयमै भुक्तानी गरेको छैन । धूलो दूध र मख्खन मौज्दातका कारण करिब १ अर्ब पुँजी रोकिएकाले भएकाले किसानलाई भुक्तानी गर्न समस्या भएको डीडीसीको दाबी छ ।

प्रकाशित : श्रावण ११, २०७७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?