१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

किसानलाई प्रतिबाच्छी १० हजार

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको सियारी गाउँपालिकाले बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रमको सुरुवात गरेको छ । दूध उत्पादन बढाउने उद्देश्यले एउटा बाच्छी हुर्काएबापत किसानलाई १० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको हो । आर्थिक वर्ष ०७७/७८ को नीति कार्यक्रममा यस्तो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

रैथाने गाईका बाच्छी हुर्काए विदेशबाट आयात रोकिने गाउँपालिकाको दाबी छ । ‘दूध उत्पादनका लागि मुलुकमा गाईको संख्या कम भएको र विदेशबाट गाई आयात गर्नुपर्ने बाध्यता हटाउने सोचले यस्तो कार्यक्रम ल्याएका हौं,’ गाउँपालिका कृषि शाखा प्रमुख गणेश खनालले भने, ‘गत वर्ष बजेट अभाव हुँदा कार्यक्रम गर्न सकेका थिएनौं ।’ कृषिअन्तर्गत साझेदारीका कार्यक्रममा धेरै बजेट विनियोजन गर्नुपर्ने बाध्यता भएकाले सुरुवाती चरणमा बाच्छी हुर्काउने कार्यक्रमका लागि ४ लाख रुपैयाँ छुट्याइएको उनले बताए । पालिकामा २ सय ४२ जना व्यावसायिक पशुपालक किसान छन् । २ देखि ३ वटा गाई पाल्ने किसान पनि उल्लेख्य संख्यामा छन् । व्यावसायिक किसानले ठूलो संख्यामा हुर्काउन सक्ने भन्दै बढीमा ५ वटासम्म बाच्छीमा अनुदान रकम दिइने खनालले जानकारी दिए ।

बाच्छी कृत्रिम गर्भधारणबाट जन्मिएको हुनुपर्ने सर्त अघि सारेको पालिकाले २२ दिन, ३ महिना, ६ महिनामा कृषकको गोठमै पुगी निःशुल्क जुकाको औषधि खुवाउने, ६ महिनामा अहिलेको दररेटअनुसार बाच्छीको बिमा गरिदिने र १० महिना पूरा भएपछि रकम हस्तान्तरण गर्ने गरी अघि बढ्ने गाउँपालिका अध्यक्ष अयोध्याप्रसाद थारूले बताए । ‘१० महिना पूरा भएपछि निरीक्षण समितिले हेरेर मापदण्ड पूरा गरी हुर्काएको पाइएमा रकम उपलब्ध गराउनेछौं,’ उनले भने, ‘यसले माउ बन्नलायक बाच्छीको उत्पादन बढाउँछ ।’

किसानले बाच्छीलाई पौष्टिक आहार नदिने, माउ बन्दासम्म नपाल्ने गर्दा भारतबाट आयात बढिरहेको भन्दै उनले पालिकामा हुर्किएका बाच्छी देशैभरि बिक्री गर्दा देशको आम्दानी देशमै रहने र किसानलाई फाइदा हुने उद्देश्य पालिकाले राखेको बताए । कार्यक्रमका लागि यस वर्ष विनियोजित रकम कम भए पनि अर्को आर्थिक वर्षमा २५ लाख रुपैयाँसम्म पुर्‍याउने लक्ष्य पालिकाको छ ।

यस्तो प्रोत्साहनले दूध उत्पादन र स्वदेशी गाई पालनको अवधारणा पूरा हुने गाउँपालिकाले विश्वास लिएको छ । सोमबारबाट सुरु भएको कार्यक्रमअन्तर्गत सियारी–६ का पशुपालक आनन्दप्रसाद भण्डारीले एक बाच्छीको जन्मदर्ता प्रमाणपत्र प्राप्त गरी त्यसलाई हुर्काउने जिम्मेवारीको सुरुवात गरेका छन् । ०६१ सालबाट सुरु गरेको भण्डारी उन्नत गाई फार्ममा अहिलेसम्म ३६ बाच्छी हुर्काएको उनले बताए ।

प्रकाशित : श्रावण ११, २०७७ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?