३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सीमामा छैन व्यापार

भारतीय व्यवसायी सीमा खोल्न चाहन्छन्, नेपाली व्यवसायी भने तत्काल नखोल्न सुझाउँछन्
माधव ढुंगाना

सुनौली, भारत — प्रत्येक दिन बिहानदेखि साँझसम्म सीमावर्ती भारतको सुनौली बजारमा किनमेल गर्न जाने नेपाली उपभोक्ताको ताँती लाग्थ्यो । टाढा–टाढादेखि आएका नेपाली उपभोक्ताले रोजेको सामान बिक्री गर्न यहाँका व्यापारीलाई भ्याइनभ्याई हुन्थ्यो । अहिले सुनौली बजार सुनसान छ । पसल खुलेका छन् । तर ग्राहक छैनन् । कारोबार नभएपछि यहाँका व्यापारी छटपटाउन थालेका छन् ।

लकडाउनले नेपालको सीमासम्म सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा र सीमा सिल गरिएकाले सर्वसाधारणको आवागमन बन्द भएको हो । यसको प्रत्यक्ष असर सुनौलीको व्यवसायमा पर्न थालेको छ । नेपाली ग्राहकलाई कसरी सुनौलीसम्म ल्याएर कारोबार बढाउने भन्नेबारेमा सुनौलीका व्यापारीबीच हरेक दिनजसो छलफल हुने गरेको छ । यसका लागि सिल गरिएको सीमा खोल्नुपर्ने निष्कर्षमा व्यापारी छन् ।

यहाँका व्यापारीले सीमावर्ती नेपाली जनप्रतिनिधिसँग सीमा खोल्न अनुरोध गर्न थालेको र आफ्नै मुलुकको प्रशासनिक निकायलाई दबाब दिन थालेका छन् । यति मात्रै होइन, दुई/चार दिनभित्र सीमा नखोलिए आन्दोलन गर्ने चेतावनीसमेत दिएको उनीहरूले सुनाए । सीमा खुलाउन भारत महाराजगन्जका सीओ र सहायक जिल्लाधिकारी (एसडीएम) सँग कुरा गरी मागपत्र दिइएको उद्योग व्यापार मण्डल सुनौलीका अध्यक्ष अजय सिंहले बताए । ‘सिमाना बन्द गरिनाले दुवै देशको सीमावर्ती बजार बन्द हुने अवस्थामा पुगेको छ,’ उनले भने, ‘व्यापारीलाई सहुलियत हुने गरी सीमा खोलिदिने वातावरण मिलाइदिने आश्वासन भारतको प्रशासनिक निकायबाट प्राप्त भएको छ ।’ यसका लागि रूपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डेसँग पनि अनुरोध गरिएको र उनले पनि सहज वातावरण गराउनेतर्फ आफूले पहल थाल्ने आश्वासन दिएको सिंहले बताए ।

विवाह, व्रतबन्धजस्ता धेरै खर्चिला कार्यदेखि दैनिक उपभोग्य र घरायसी प्रयोजनका सामान, साइकल, मोटरसाइकल, गाडीका टायर ट्युब र हार्डवेयरका फुटकर सामान किनमेलका लागि दैनिक हजारौं नेपाली उपभोक्ता सुनौली बजारसम्म पुग्थे । सीमावर्ती आसपासका क्षेत्रका मात्र नभएर ठूलो कार्य र धेरै सामान खरिद गर्नुपरेमा कास्की, चितवन, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, तनहुँ, गोरखा, पर्वत, बागलुङलगायत टाढाका नेपाली ग्राहकको रोजाइमा सुनौली बजार हुने गर्थ्यो ।

भन्सार नतिरी सामान भित्र्याउने पेसेवर तस्कर र क्यारिअरको संख्या पनि उत्तिकै हुन्थ्यो । कोरोना संक्रमणका कारण सीमा सिल गरिएपछि औषधिबाहेक सामान खरिद गर्न जाने एकाधबाहेक अन्य उपभोक्ता नाकामा भेटिँदैनन् । ‘कि सीमा पूरै बन्द गरिनुपर्छ कि सहुलियतको व्यवस्था गरिनुपर्छ,’ व्यापार मण्डलका कोषाध्यक्ष तथा सुनौलीस्थित नेपाल फेसन पसलका सञ्चालक प्रताप मद्देसियाले भने, ‘सिमानामा सहुलियत हुने खालको व्यवस्था गरिएन भने आन्दोलन गर्छौं ।’

नेपाली व्यवसायी भने सीमा बन्द गरिनाले कोरोना संक्रमणको जोखिम कम भएको बताउँदै तत्काल सीमा नखोल्न सुझाउँछन् । भन्सार छलेर हुने अवैध कारोबार निरुत्साहित हुन थालेको उनीहरूको दाबी छ । भारतीय ग्राहक नेपाल आउन नसक्दा भैरहवाको करिब २५ प्रतिशत मात्रै कारोबारमा कमी आएको भैरहवाको बैंकरोडस्थित फेन्सी पसल सञ्चालक ठाकुर अधिकारीले बताए । ‘सिमाना खोल्नेबित्तिकै भारतीयको आगमन नेपालमा ह्वात्तै बढ्ने भएकाले यसबाट कोरोनाको संक्रमण पनि भयावह हुने निश्चित छ,’ उनले भने, ‘सिमाना बन्द हुँदा नेपाली पैसा विदेशिनबाट रोकिएको छ र भन्सार हुँदै वैध कारोबार हुन थालेको छ ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा बीएमजी नागरिक समाजका अध्यक्ष ओमकार गौचनले घरायसी सामान किनमेलका नाममा सीमापारि जाने नेपाली उपभोक्ताको प्रवृत्ति निरुत्साहित गर्न नसक्दा सीमापारिको व्यवसाय फस्टाउने र नेपाली बजार खुम्चिँदै जान थालेको बताए । ‘पारिका बजार फस्टाउँदै जान थाले, वारिका सुक्दै जान थाले,’ गौचनले भने, ‘अब लकडाउनपछि पनि यही प्रवृत्ति दोहोरिए नेपाली व्यवसायी पारि गएर व्यवसाय गर्नुपर्ने कि यताको व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउनेछ ।’

प्रकाशित : श्रावण १०, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?