प्युठानमा किसानले पक्रिए २० क्विन्टल सलह- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

प्युठानमा किसानले पक्रिए २० क्विन्टल सलह

किसानले वडा कार्यालयमा सलह बुझाउँछन्, वडाले तौलेर नगद दिँदै आएको छ
गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठानको नौबहिनी गाउँपालिका–१, स्याउँलीबाङका किसानले धमाधम सलह संकलन गर्न थालेका छन् । गाउँपालिकाले प्रतिकिलो ५० रुपैयाँ दिन थालेपछि किसानले मंगलबारसम्म २० क्विन्टल सलह संकलन गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष विकले जानकारी दिए । किसानले सलह छोपी बोरामा राखेर वडा कार्यालयमा बुझाउने गरेका छन् । वडाले किसानले ल्याएको सलह तौलेर नगद दिँदै आएको छ ।

स्याउँलीबाङमा एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सलह कीराले किसानको बालीमा क्षति गरेको छ । ‘सलह अझै गाउँमा सक्रिय छ,’ विकले भने, ‘किसानले अझै संकलन गर्दै छन् ।’ भारत हुँदै नेपालको तराईका जिल्लाबाट गत साता आएको सलहले बाली खाएर सखाप पारेपछि किसानले पालिकामा राहतका लागि माग गरेका थिए । त्यसपछि पालिकाले सलह छोपेर ल्याए प्रतिकिलो ५० रुपैयाँका दरले दिने निर्णय गरेको हो । बालीमा धेरै क्षति गरेपछि गाउँभरका किसानले सलह संकलन गर्न थालेको नौबहिनी–१ का वडाध्यक्ष शेरबहादुर सेनले बताए । ‘तराईबाट लुङ खोलैखोल आएको सलह कोठीभीर पार गरेर बागलुङतर्फ जान सकेन,’ उनले भने, ‘हप्तौं गाउँमै बसेर बाली सखाप पार्‍यो ।’ मकै, कोदोसहित डाँले घाँससमेत सलहले नोक्सान गरेको र अझै पनि स्याउँलीबाङ क्षेत्रको जंगलमा सलह बास बसेको उनले जानकारी दिए ।

सलहले स्याउँलीबाङको खलेसबाङ, खारखोला, मड्धारा, छेपेवडारलगायत बस्तीमा धेरै नोक्सानी गरेको छ । उच्च पहाडी क्षेत्रमा सलह पुगेपछि चिसोका कारण धेरै सक्रिय नभएकाले समात्न सकेको किसानहरूले बताए । ‘सुरुमा गाउँमा आउँदाखेरी सलह धेरै चलाख थिए, छोप्न मुस्किल पर्थ्यो,’ किसान लछुमन बुढाले भने, ‘चिसो हावापानीका कारणले होला अहिले त सलह भुइँमै बसेका छन् । हिजोआज धेरै उड्न सक्दैनन् । छोप्न सहज छ ।’

मंगलबारसम्म १ सय ५९ जना किसानले २० क्विन्टल सलह वडा कार्यालयमा ल्याएको नौबहिनी गाउँपालिकाले जनाएको छ । खेत, बारी, पाखापखेरामा सलहका हूलका हूल झुन्ड रहेकाले दिनमा ३०/४० किलोसम्म सलह जम्मा गर्न सकिने स्थानीय नौमती बुढाले बताइन् । आफू एक्लैले ७० किलो सलह वडा कार्यालयमा बुझाएको उनले बताइन् । ‘सलहले चारमुरी फल्ने मकैबारी पूरै नोक्सान गरेको छ,’ उनले भनिन्, ‘धपाउँदा/धपाउँदै सखाप पार्‍यो ।’ सलह बुझाएकाहरूलाई पालिकाले नगद दिने भनेपछि समात्न थालेको उनको भनाइ छ । पालिकाबाट पाइने रुपैयाँले चामल किन्ने सोच बनाएको उनले सुनाइन् ।

नौबहिनी–१, स्याउँलीबाङका किसानले संकलन गरेको सलह कीराको अवलोकन गरी नष्ट गर्न कृषि शाखाबाट टोली मंगलबार स्याउँलीबाङ पठाइएको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । स्थानीय जनप्रतिनिधिको उपस्थितिमा कृषि शाखाका कर्मचारीले नौबहिनी–१ मा २० क्विन्टल सलह खाडलमा पुरेको भण्डारीको भनाइ छ । ‘किसानले संकलन गरेको सलहको व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘सलह संकलन गर्नाले बालीमा थप नोक्सान गर्नबाट रोक्ने आशा गरिएको छ ।’

प्रकाशित : श्रावण ८, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना : ७ जनाको मृत्यु

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  स्वर्गद्वारी नगरपालिका २ स्थित भिंगृ–स्वर्गद्वारी सडकखण्डको रुमालेमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ओसिस कन्सट्रक्सन निर्माण कम्पनीमार्फत सडक बनाउन खटिएका कामदारहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु सबैजना भिंगृ– स्वर्गद्वारी सडकमा काम गर्ने कामदारहरु हुन् ।

मृत्यु हुनेहरु रोल्पा रुम्टीगढी गाउँपालिका ५ का ६ जना र रोल्पाकै त्रिवेणी गाउँपालिका चालक हुन् । मृत्यु हुनेहरु रोल्पा रुम्टगढी गाउँपालिका ५ का वर्ष २१ का सागर बस्नेत, वर्ष २४ का रिमबहादुर बस्नेत,वर्ष २५ का कबिराम बस्नेत, वर्ष १९ का बिरेन्द्र बाठा मगर, वर्ष १९ का थमन बाठा मगर, उमेर नखुलेका गोर्बधन बुढामर रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक वर्ष २५ कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकृत प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

सडक निर्माणको काम गर्ने कामदारहरु साउने सङ्क्रान्ति मनाएर काममा फर्कने क्रममा ट्याक्टर दुर्घटनमा परेको हो । ट्याक्टर घुम्तीबाट करिब ३ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा रोल्पाकै विशाल थापा हाम फालेर बाँच्न सफल भएका छन् । घटनास्थलमा प्रहरी, स्थानीय, नेपाली सेना आइतबार सबेरै पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ४, २०७७ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×