३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विद्युत् निर्यात गर्न भारतीय सहमतिको पर्खाइमा प्राधिकरण

भारतको डे अहेड मार्केटमा विद्युत् बिक्रीका लागि प्राधिकरणले भारतीय कम्पनीसँग सम्झौता गरिसकेको छ
विजय तिमल्सिना

काठमाडौँ — भारतमा विद्युत् निर्यातका लागि यसै साता मन्त्रिपरिषद्बाट पूर्वस्वीकृति पाएको नेपाल विद्युत् प्राधिकरण अब भारत सरकारको स्वीकृतिको पर्खाइमा छ । भारतको इनर्जी एक्सचेञ्ज मार्केटमा विद्युत् बिक्रीका लागि प्राधिकरणले आफ्नो प्रतिनिधि कम्पनी तोक्नेसहितका सबै प्रक्रिया पूरा गरिसकेको र भारत सरकारबाट एउटा कानुनको स्वीकृतिको पर्खाइ मात्रै रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

विद्युत् निर्यात गर्न भारतीय सहमतिको पर्खाइमा प्राधिकरण

मन्त्रिपरिषद् बैठकले सोमबार प्राधिकरणलाई भारतसहितका छिमेकी मुलुकमा विद्युत् बिक्रीका लागि पूर्वस्वीकृति दिएको थियो । विद्युत् ऐन र नेपाल विद्युत् प्राधिकरण ऐनमा छिमेकी मुलुकमा विद्युत् निर्यातका लागि सरकारको स्वीकृति आवश्यक पर्ने प्रावधान छ । यही प्रावधानलाई पूरा गर्न मन्त्रिपरिषद्ले प्राधिकरणलाई विद्युत् निर्यात गर्ने पूर्वस्वीकृति दिएको हो । यसले प्राधिकरणलाई भारतसहित बंगलादेशसँग पनि विद्युत् आयातनिर्यातको अधिकार रहन्छ । आवश्यक पर्दा तत्काल विद्युत् निर्यात गर्ने र उत्पादन बढी हुँदा रियल टाइममै निर्यात गर्न सक्ने गरी मन्त्रिपरिषद्ले प्राधिकरणलाई पूर्वस्वीकृति दिएको हो ।

नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गरिरहेको छ । नेपालसँग सीमा जोडिएका भारतीय राज्य बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट विद्युत् आयात भइरहेको छ । केही वर्षयता नेपालले पनि उत्पादन बढी भएको समयमा बिहारलाई विद्युत् दिँदै आएको छ । तर यसलाई विद्युत् निर्यात भन्न नमिल्ने प्राधिकरणका प्रवक्ता अधिकारीको टिप्पणी छ । ‘हामीले उताबाट पाएको विद्युत्बाट यताबाट पठाएको विद्युत् घटाएर पैसा तिर्दै आएका छौं,’ उनले भने, ‘अब भने भारतका सबै ठाउँमा सर्ट टर्म, मिडियम टर्म र लङ टर्म विद्युत् निर्यातको स्वीकृति पाएका छौं ।’

मन्त्रिपरिषद्बाट सरकारको स्वीकृति पाएपछि भारतीय एक्सचेञ्ज बजारको डे अहेड मार्केटमा पहुँच पाउने प्रक्रियाका लागि एउटा प्रावधान पूरा भएको अधिकारीले बताए । गत अक्टोबरमा भारतमा भएको दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा भारतले आफ्नो इनर्जी एक्सचेञ्ज मार्केटमा प्राधिकरणलाई विद्युत् बिक्रीका लागि पहुँच दिने सहमति जनाएको थियो । उक्त बैठकमा एक महिनाभित्रै प्राधिकरणले भारतीय बजारमा विद्युत् बिक्री गर्न सक्ने गरी काम गर्ने प्रतिबद्धता भए पनि कोभिड–१९ महामारीलगायत कारण ढिलाइ भएको हो ।

प्राधिकरणलाई आफ्नो बजारमा विद्युत् बिक्रीको पहुँच दिन भारतको सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटी (सीईए) ले कन्डक्ट अफ बिजनेस रुल (सीबीआर) तयार पारेको छ । सीईएले तयार पारेको यो कार्यविधि भारतको विद्युत् मन्त्रालयबाट स्वीकृत भएलगत्तै प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज बजारमा पहुँच पाउने अधिकारीले जानकारी दिए । ‘सीईएले कार्यविधि स्वीकृतिका लागि त्यहाँको मन्त्रालयमा पठाएको छ,’ अधिकारीले भने, ‘मन्त्रालयबाट चाँडै स्वीकृति हुने आश्वासन पाएका छौं ।’ कोभिड–१९ महामारीका कारण लकडाउन हुँदा नै नेपाल, भारत, भुटान र बंगलादेशका ऊर्जा सचिवहरूबीच भएको भर्चुअल बैठकमा ऊर्जा सचिव दिनेश घिमिरेले भारतीय समकक्षीलाई सीबीआर चाँडै स्वीकृत गर्न आग्रह गरेका थिए ।

भारतको डे अहेड मार्केटमा विद्युत् बिक्रीका लागि प्राधिकरणले भारतीय कम्पनी एनभीभीएन लिमिटेडसँग गत वर्ष नै सम्झौता गरिसकेको छ । उक्त कम्पनीले भारतीय बजारमा प्राधिकरणको प्रतिनिधि भर्ई विद्युत् बिक्री गर्नेछ । डे अहेड मार्केटमा विद्युत् बिक्रीका लागि एक दिनअघि नै आफूले दिन सक्ने विद्युत् परिमाण र मूल्यसहित प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

भारतीय बजारमा तत्काल पहुँच पाए अहिले नै दैनिक विभिन्न समयमा एक सयदेखि डेढ सय मेगावाट विद्युत् निर्यात गर्न सकिने प्राधिकरणका प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार आगामी एक वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निर्माणाधीन आयोजना पूरा हुँदा राष्ट्रिय प्रणालीमा एक हजार मेगावाट विद्युत् थपिनेछ । ‘निर्माणाधीन आयोजना पूरा भएपछि हामीले विद्युत् निर्यात गर्नुको विकल्प छैन,’ उनी भन्छन्, ‘अहिले नै बिहारलाई हामीले दैनिक ८० मेगावाट विद्युत् दिइरहेका छौं ।’ केही आयोजना पूरा हुनासाथ आन्तरिक उत्पादन बढी हुने र जतिसक्दो विद्युत् निर्यातका लागि तयारी भएको अधिकारीले बताए ।

प्रकाशित : श्रावण ८, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?