१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बिहीबारदेखि सबै सार्वजनिक सवारी चल्ने

विमल खतिवडा

काठमाडौँ — चैत ११ देखि बन्द रहेका सार्वजनिक सवारी बिहीबारबाट सञ्चालनमा आउन लागेका छन् । यातायात व्यवस्था विभागसँग सोमबार भएको छलफलपछि व्यवसायी गाडी चलाउन तयार भएका हुन् ।

बिहीबारदेखि सबै सार्वजनिक सवारी चल्ने

‘गाडी चलाउन व्यवसायी तयार छन्,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘बिहीबारबाट आवश्यकताअनुसार गाडी चल्दै जानेछन् ।’

छलफलमा चालक एवं सहचालकको कोरोना बिमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधाआधा तिर्न पहल गर्ने सहमति भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड सम्बन्धित व्यवसायीले आफैं व्यवस्था गर्ने भनिएको छ । गाडीमा सेनिटाइजरको व्यवस्था व्यवसायी आफैंले गर्नुपर्नेछ । साथै कोरोनाका कारण यातायात श्रमिकको मृत्यु भए आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारका तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ । यातायात श्रमिकका लागि आवश्यक स्वास्थ्य सामग्री मास्क, सेनिटाइजर, पन्जा र पीपीई सम्बन्धित व्यवसायीले उपलब्ध गराउनुपर्नेछ ।

‘यात्रु चढ्ने र झर्ने ठाउँमा कसरी स्वास्थ्य सावधानी अपनाउने भनेर स्थानीय तहसँग समन्वय गर्दै छौं,’ महानिर्देशक हमालले भने, ‘ती ठाउँ सेनिटाइजिङ गर्न काठमाडौं महानगरपालिकाले तयारी थालिसकेको छ, अन्य महानगरपालिका र नगरपालिकाले पनि तयारी गर्दै छन् ।’ लामा दूरीका सवारी चलाउने व्यवस्था गर्न पनि व्यवसायीको माग छ । ‘यसबारे छलफल गरेर माथिल्लो निकायमा पुर्‍याउने भनेका छौं,’ उनले भने, ‘जोर–बिजोर प्रणालीबाट सवारी चलाउने कुरा पनि उठेका छन्, यो खासै ठूलो कुरा भएन, यसमा छलफल गरेर अघि बढ्न सकिनेछ ।’ यात्रुको सुविधाका लागि गाडी चलाइने उनले बताए ।

यता यातायात व्यवसायी राष्ट्रिय महासंघले भने मंगलबार यातायात व्यवसायीबीच छलफल गरेर मात्र सवारी सञ्चालनबारे निर्णय गरिने जनाएको छ । ‘विभागले बिहीबारबाट गाडी चलाउन भनेको छ,’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘७ गतेसम्म लकडाउन नै छ, त्यसपछि लकडाउन के हुन्छ, त्यहीअनुसार अघि बढ्छौं ।’ महासंघ र तीनवटा मजदुर ट्रेड युनियनसहित बनेको कार्यदलको बैठक बसेर गाडी चलाउने मिति तोकिने उनले जानकारी दिए ।

‘हामीले जोर–बिजोर प्रणालीमा गाडी चलाउने गरी विभागमा प्रस्ताव गरेका छौं,’ उनले भने, ‘अहिलेको अवस्थामा धेरै भीडभाड गरेर पनि भएन, जोर–बिजोर प्रणालीमार्फत गाडी चलाउन तयार छौं ।’ सार्वजनिक यातायात केन्द्रीय महासंघले गाडी चलाउने निर्णय गरेसँगै सोमबार अघिपछिको तुलनामा उपत्यकामा सवारी चाप बढी देखिए । ‘उपत्यकामा सोमबार ३० प्रतिशत सार्वजनिक सवारी गुडे,’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘सामाजिक दूरी कायम गरेर गाडी चलाएका छन्/छैनन् भनेर अनिवार्य रूपमा हेर्ने गरेका छौं ।’

सामाजिक दूरी कायम नगर्ने, जोर–बिजोर प्रणाली नमान्ने र सम्झाउँदा पनि अटेर गर्ने सवारीलाई कारबाही गर्ने गरिएको उनले जानकारी दिए । सरकारले गत असार २६ बाट सार्वजनिक सवारी जिल्लाभित्र सञ्चालन गर्ने निर्णय गरेको थियो । अहिले उपत्यकामा बिस्तारै सवारी चाप बढ्दै गएको छ । जिल्लाजिल्लामा पनि सामाजिक दूरी कायम गरी स्वास्थ्य सावधानी अपनाउँदै सवारी चल्न थालेका छन् ।

प्रकाशित : श्रावण ६, २०७७ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?