कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मकैबारीमा छपक्कै सलह

कर्णालीका ९ जिल्लामै पुग्यो सलह

सुर्खेत — शनिबार बिहान करिब १० बजेतिर एक्कासि ठूलो संख्यामा आएको सलहको हूलले मकैबारी छपक्कै ढाक्यो । भेरीगंगा–१३ का सोमलाल खत्रीसहित किसानले थाली बजाए, होहल्ला गरे तर सलह भागेन ।

मकैबारीमा छपक्कै सलह

हेर्दाहेर्दै मकैका घोगा खायो । ‘दुई–चारवटा भए पो मारेर फालौं भन्ने हुन्थ्यो, हजारौं कीरा आएर छपक्कै ढाके,’ उनले भने, ‘हाम्रो स्वर सुक्यो, थाली कुच्चियो तर धपाउन सकेनौं ।’

सुर्खेतको भेरीगंगामा मात्र होइन, अहिले कर्णालीका मुगुबाहेक जिल्लामा सलहले मकै, सिमीलगायत बाली खाइरहेको छ । किसान टुलुटुलु हेरेर बस्न बाध्य छन् । कर्णालीमा करिब ३ साताअघि नै सलह प्रवेश गरेको हो । तर बिहीबारदेखि ठूलो समूहमा प्रवेश गरेपछि किसानलाई बेचैन बनाएको छ । भर्खरै पसाउन थालेको अन्नबाली र तरकारी सलहले खान थालेपछि किसान चिन्तित छन् ।

निकै ठूलो संख्यामा आएकाले सलह धपाउन समस्या भएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायाले बताए । शनिबार बिहान करिब १० बजेतिर सलहको ठूलो समूह सुर्खेतको रामघाट क्षेत्रमा पुगेको थियो । ‘हामीले किसानलाई थाल, टिन बजाउन र होहल्ला गर्न लगायौं, बाली बचाउन मुस्किल भयो,’ सलह आएको थाहा पाएपछि रामघाटमै पुगेका उनले भने, ‘हामीले किसानलाई सलह भगाउने उपाय सिकाउनेबाहेक अरू गर्न सक्ने कुरा पनि भएन ।’

बिहीबार प्रदेश ५ को बाँके हुँदै सुर्खेत, दशरथपुर पुगेको कीरा शुक्रबार दिउँसो सुर्खेत उपत्यकामा देखिएको थियो । नेपाल प्रवेश गरेको सलहको सम्भवतः यो सबैभन्दा ठूलो समूह रहेको कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सचिव डा. गोविन्दप्रसाद शर्माले जानकारी दिए । ‘यो समूह भारतको लखनऊ हुँदै आएको अनुमान छ, समूह निकै ठूलो पनि छ,’ उनले भने, ‘यसअघि नै सानोतिनो संख्यामा आएका भए पनि लाखौंको संख्यामा भित्रिएको सलहले हामी सबैलाई सतर्क बनाएको छ ।’

सुर्खेत उपत्यकामा सलह प्रवेश गरेपछि स्थानीयले थाल, टिन र दमाहा ठटाएर भगाएका थिए । कतिपयले आ–आफ्नो खेतबारीमा पुगेर होहल्ला गरेका थिए । ‘थाल जति ठटाए पनि भाग्दै भागेनन्, हेर्दाहेर्दै मकैबारीमा पसिहाले,’ वीरेन्द्रनगर–८, कालुञ्चोककी हरिमाया श्रीशले भनिन्, ‘लट्ठी र सिरेटो लगाएर धपाउनुपर्‍यो ।’

दिउँसोको समयमा आफ्नो खेतबारीको रेखदेख गरे बालीलाई सलहबाट जोगाउन सकिने कृषि विज्ञहरूको सुझाव छ । ‘यो कीरा रातभरि सुस्ताउँछ, पानी पर्‍यो भने वा चिसो बढ्यो भने त यो आफैं पनि मर्न सक्छ, त्यसैले यसले दिउँसोको समय बढी सजग हुने गरौं,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाका प्रमुखसमेत रहेका वरिष्ठ कृषि विकास अधिकृत विजय गिरीले भने ।

रुकुम पश्चिममा करिब तीन साताअघि आएको सलहले मकै बालीमा क्षति पुर्‍याएको छ । पहिलोपटक असार १७ मा मुसीकोट र त्रिवेणीमा सलह देखिएको थियो । सलहले मकै र आलुमा क्षति पुर्‍याएको बाँफीकोटका तिलक खत्रीले बताए । जिल्लाका विभिन्न ठाउँमा सलहका झुन्ड पुगे पनि क्षतिको विवरण आइनसकेको कृषि विकास कार्यालयका निमित्त प्रमुख राजेश साहको भनाइ छ ।

मार्सी जोगाउन मुस्किल

हिमाली जिल्ला जुम्लामा पनि सलह कीरा पुगेपछि मार्सीधान कसरी जोगाउने भन्ने चिन्ताले किसानलाई सताएको छ । धानका साथै मकै, सिमीलगायत तरकारी पनि जोगाउन मुस्किल भएको किसानको भनाइ छ । पातारासी, गुठीचौर, चन्दननाथ हुँदै सलहको झुन्ड सिन्जा क्षेत्रमा पुगेको छ । सलहले धान, मकै र सिमीमा क्षति पुर्‍याउन थालेको स्थानीय किसान कमल जैसीले बताए । ‘अलि बढी संख्यामा आए भने त बाली जोगाउनै मुस्किल हुने जस्तो छ,’ उनले भने, ‘अहिले आएको सलह सानो समूहमा भएकाले धपाइरहेका छौं ।’

मार्सीधानमा रोग–कीराको प्रतिरोधी क्षमता कम हुने भएकाले सलहले बढी क्षति पुर्‍याउने देखिएको कृषि प्राविधिकहरूको भनाइ छ । धानमा कति क्षति भयो भन्नेबारे स्थानीय तहबाट तथ्यांक संकलन भइरहेको जुम्लाका जिल्ला कृषि विकास कार्यालय प्रमुख बालकराम देवकोटाले बताए ।

सलहले पातारासी र गुठीचौर गाउँपालिकामा धेरै क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जुम्लामा दोस्रो चरणमा सलह प्रवेश गरेको उनको भनाइ छ । सलहबाट बाली जोगाउन कृषि प्राविधिकलाई गाउँमा खटाइएको उनको भनाइ छ । सलहले घोगा लागिसकेको मकै बाली सखाप पार्न थालेको पातारासीका किसान गोरख केसीले बताए ।

प्रकाशित : श्रावण ४, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?