१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोभिड-१९ प्रभावितले तिर्नुपर्ने बैंक किस्ताको समय थपियो

कम प्रभावितलाई आगामी पुस मसान्तसम्म
मध्यम प्रभावितलाई आगामी चैत्र मसान्तसम्म
अति प्रभावितलाई २०७८ असार मसान्तसम्म 
कृष्ण आचार्य

काठमाडौँ — कोभिड–१९ बाट अति प्रभावित उद्योग–व्यवसायले तिर्नुपर्ने बैंक किस्ताको समयावधि थपिएको छ । शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार ऋणीको आवश्यकता र परियोजना/व्यवसायको सम्भाव्यताको आधारमा २०७६ चैतमा कायम भएको चालु पुँजी कर्जाको सीमामा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

कोभिड-१९ प्रभावितले तिर्नुपर्ने बैंक किस्ताको समय थपियो

‘२०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमाण्ड लोन, क्यास क्रेडिटलगायतका अल्पकालीन प्रकृतिका चालुपुँजी कर्जाहरुलाई बैंक तथा वित्तीय संस्थाले ऋणीको अवस्था विश्लेषण गरी २०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सक्ने,’ मौद्रिक नीतिमा भनिएको छ ।

कम प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न मिल्ने व्यवस्था पनि गरिदिएको छ ।

मध्यम रुपमा प्रभावितलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ । अति प्रभावित भएकालाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था नीतिले गरिदिएको छ । ‘कोभिड–१९ को कारण पुन:स्थापित हुन समय लाग्ने पर्यटन क्षेत्रलगायतका अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकता अनुसार थप समय प्रदान गर्न सक्ने व्यवस्था मिलाइने छ,’ नीतिमा भनिएको छ, ‘२०७६ पुस मसान्तमा सक्रिय वर्गमा रहेका कर्जालाई ऋणीले २०७७ पुस मसान्तभित्र लिखित कार्य योजना पेस गरेमा बैंक तथा वित्तीय संस्थाले विश्लेषण गरी न्यूनतम १० प्रतिशत ब्याज असुल उपर गरी एक पटकका लागि कर्जा पुन:संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ ।’

निर्माणाधीन पूर्वाधार आयोजनामा प्रवाहित कर्जाको ग्रेस अवधिमा पाकेको ब्याज पुँजीकरण गर्न राष्ट्र बैंकबाट पूर्व स्वीकृति पाइसकेका कर्जा २०७७ पुस मसान्तसम्म पुँजीकरण गर्न सकिने व्यवस्था गरिदिएको छ ।

२०७७ असार मसान्तसम्म असुल हुन नसकेको लघुवित्त वित्तीय संस्थाबाट प्रवाहित कर्जाको किस्ता बढीमा ६ महिनासम्म भाका सार्न सक्ने व्यवस्था पनि गरिदिएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २, २०७७ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?