१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विराटनगरका होटल खुले

विनोद भण्डारी

विराटनगर — सरकारले अनुमति नदिए पनि लकडाउनपछि बन्द भएका विराटनगरका होटल बिहीबारदेखि खुलेका छन् । यहाँ ठूला २६ र साना अढाई सयभन्दा बढी होटल छन् । सरकारले खुला गर्ने आदेश नदिए पनि होटल व्यवसायीले आवश्यक मापदण्ड अपनाएर बिहीबारदेखि विराटनगरका सबै होटल खुला गरिएको क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठले बताए ।

विराटनगरका होटल खुले

उनले भने, ‘कोरोना प्रभावित विश्वका सबै मुलुकमा होटल खुला रहेको अवस्थामा नेपालमा चाहिँ किन बन्द गरिरहने ?’ स्यानिटाइजर र मास्कको प्रयोग अनिवार्य र सामाजिक दूरी कायम गर्दै ठूला–ठूला पाटी नगर्ने र रेस्टुरेन्टमा पनि न मानिसलाई मात्र सहभागी गराउने मापदण्ड बनाएर लकडाउनपछि बन्द भएको सबै होटल खुला गरिएको स्वागतम होटलका सञ्चालक समेत रहेका श्रेष्ठले बताए ।

विराटनगर ४ को तारे होटल एसियाटिक पनि बिहीबारदेखि खुला भएको होटलका प्रबन्धक पुण्य भट्टराईले बताए । होटलका कर्मचारी, कामदार र पाहुनालाई स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ । भट्टराईले भने, ‘विदेशी पाहुन होटलमा बस्न आएको अवस्थामा उनीहरुले पीसीआर रिपोर्ट अनिवार्य रुपमा देखाउनु पर्ने प्रावधान राखिएको छ ।’

सरकारले आधिकारिक रुपमा होटल खुला गर्ने अनुमति नदिएपछि व्यवसायीहरु खुला गर्न बाध्य भएको होटल व्यवसायी महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष भविष श्रेष्ठले बताए । उनले भने, ‘बैंकको ब्याज तिर्न र मजदुर, कर्मचारीलाई तलब खुवाउन होटल बन्द गरेर सम्भव छैन । होटल प्राय: सबै अघोषित रुपमा खुले पनि सार्वजनीक यातायात र हवाई सेवा सञ्चालन नभएसम्म होटलले ग्राहक पाउने स्थिति छैन ।’

लकडाउनका कारण अधिकांश होटल बन्द हुने अवस्था सिर्जना भएपछि होटल खुला गर्न व्यवसायी बाध्य भएका हुन् । लकडाउनकै कारण विराटनगरको पहिलो तारे होटल जेनियल सधैंका लागि बन्द भएको छ । उनका अनुसार प्रदेश १ मा सानाठूला गरी चार हजारभन्दा बढी होटल छन । ती होटलमा एक लाखभन्दा बढीले रोजगारी पाएका छन् ।

प्रकाशित : श्रावण १, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?