कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

प्रदेश ५ मा असारसँगै सकियो रोपाइँ

अमृता अनमोल

बुटवल — रूपन्देहीको सैनामैना नगरपालिका पर्रोहाको भाटाका किसान सोमबहादुर थापाको तीन बिघा खेत छ । खेतमा कुलो लाग्दैन । आकाशे पानीको भरमा खेती गर्नुपर्छ । तर, यसपालि निरन्तर वर्षा भयो । सबै खेत असार तेस्रो सातासम्म रोपिसके । अहिले धान गाँजिन थालेको छ ।

प्रदेश ५ मा असारसँगै सकियो रोपाइँ

‘गत वर्ष रोपाइँ सक्न साउन कुर्नुपर्थ्यो,’ उनले भने, ‘यस पटक बेलैमा रोपेकाले धान पनि बढी फल्ने आशा छ ।’ धानका लागि उर्वर भूमि हो, रूपन्देही । यहाँको ६९ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । यसबाट करिब साढे ३ लाख मेट्रिक टन उत्पादन हुन्छ । यसपालि असार सकिँदा यहाँका सबैजसो किसानले धान रोपाइँ सकेका छन् । कृषि ज्ञान केन्द्र रूपन्देहीका अनुसार मंगलबारसम्म जिल्लाको ९८ प्रतिशत धान खेतमा रोपाइँ भएको छ ।

नवलपरासी पश्चिमदेखि बर्दियासम्म समथर फाँट रहेको प्रदेश ५ का प्रायः किसानले धान रोपेका छन् । प्रदेश सरकारको कृषि विकास निर्देशनालयका अनुसार मंगलबारसम्म प्रदेशमा ९४ प्रतिशत खेतमा धान रोपिएको छ । गत वर्ष यसबेला करिब ७५ प्रतिशत किसानले मात्रै धान रोपेका थिए । धान रोपाइँ क्षेत्रफलका हिसाबले प्रदेशको करिब २५ प्रतिशत भूमिमा मात्रै बाह्रै महिना सिँचाइको सुविधा छ । पानी परेकै कारण असारमै यति धेरै धान रोप्न सम्भव भएको कृषि विकास निर्देशनालयका सूचना अधिकृत भीमनाथ शर्माले बताए । किसानले अन्य बाली स्याहार्दै गरेका कारण जम्मा ६ प्रतिशत मात्रै खेतमा रोपाइँ गर्न बाँकी छ । सूचना अधिकृत शर्माका अनुसार यसपालि पानी नलाग्ने पहाडका टारी खेतदेखि मधेसका फाँटसम्म रोपाइँ भएको छ । ‘सबैभन्दा धेरै धान उत्पादन हुने तराईमा करिब–करिब रोपाइँ सकिएको छ,’ उनले भने, ‘पहाडी जिल्लामा चैते धान नस्याहारेका कारण छिटपुट बाँकी छ ।’

तथ्यांकअनुसार नवलपरासी पश्चिममा र प्यूठानमा ९९ प्रतिशत खेतमा धान रोपिएको छ । रुकुमपूर्वमा ९४, कपिलवस्तु र बर्दियामा ९३ प्रतिशत रोपाइँ सकिएको छ । बाँकेमा ८८ र दाङमा ८० प्रतिशत रोपिएको छ । प्रदेशमा करिब ३० प्रकारका धान रोप्ने गरिएको छ । त्यसमध्ये २५ जातका धान असारमा रोप्ने गरिन्छ । प्रदेश ५ मा ३ लाख २२ हजार ४८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । त्यसबाट गत वर्ष १२ लाख ७४ हजार २ सय ६८ मेट्रिक टन धान उत्पादन भएको थियो । यो देशभरको तुलनामा २४ प्रतिशत हो । देशभरमा करिब ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टन धान उत्पादन हुन्छ ।

प्रकाशित : श्रावण १, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?