१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चल्न थाले केही सार्वजनिक सवारी

सरकारले सार्वजनिक सवारी खोल्ने निर्णय गरेसँगै उपत्यकाका सडकमा छिटपुट रुपमा टेम्पो, माइक्रो र बसहरू देखिन थालेका छन् ।

काठमाडौँ — स्वास्थ्य सावधानी अपनाएर मात्र गाडी सञ्चालन गर्नुपर्ने भन्दै छलफलमा व्यस्त छन्, यातायात व्यवसायी । छलफल जारी रहँदा केही ठूला बस, माइक्रो र टेम्पो भने सोमबारबाटै उपत्यकामा फाट्टफुट्ट सञ्चालनमा आएका छन् । मयूर यातायात सोमबारबाट सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । संयुक्त र सुन्दर यातायात भने मंगलबारदेखि चलेको महाशाखाको भनाइ छ ।

चल्न थाले केही सार्वजनिक सवारी

छिटपुट रूपमा माइक्रो र टेम्पो पनि सञ्चालनमा आएको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । चलेका सवारीले सिट संख्याको आधा मात्र यात्रु बोकेको उनले बताए । निजी सवारीलाई मात्र जोरबिजोर लागू छ । सार्वजनिक सवारीलाई भने लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ । ‘स्वास्थ्य सावधानी अपनाएर सवारी चलाउन अनुरोध गर्ने, सचेतना फैलाउने काम ट्राफिक प्रहरीबाट भएको छ,’ उनले भने, ‘ठाउँठाउँमा प्लेकार्ड बोकेर ट्राफिक प्रहरी बस्ने गरेका छन्, माइकिङ गरेर पनि सचेतना फैलाएका छौं ।’

यातायात व्यवसायी पनि सार्वजनिक सवारी चलाउन सकारात्मक देखिएका छन् । यातायात व्यवस्था विभागमा सोमबार भएको छलफलपछि व्यवसायी स्वास्थ्य सावधानी अपनाएर गाडी चलाउन तयार देखिएका हुन् । विभागमा सार्वजनिक सवारी सञ्चालनका लागि आवश्यक पहल गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बन्ध मजदुर संगठनको उपस्थितिमा छलफल भएको हो । शनिबार महासंघ र तीनवटा मजदुर संगठनले सरकारसँग आवश्यक छलफल गरी समस्या समाधान गर्न भन्दै चार सदस्यीय कार्यदल गठन गरेका थिए ।

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका कार्यवाहक अध्यक्ष दीपक केसी, ट्राफिक प्रहरीलगायतको उपस्थितिमा विभागमा भएको छलफलपछि व्यवसायी गाडी चलाउन सकारात्मक देखिएका हुन् । ‘सार्वजनिक सवारी सुरक्षित ढंगले कसरी चलाउने भन्नेबारे छलफल भयो,’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘गाडीहरू मर्मत गर्दै जाने, भएका गाडी बिस्तारै चलाउँदै लैजाने भन्ने सहमति भएको छ ।’

कोरोनाका बिरामी बढ्दै गएकाले स्थानीय तहसँग पनि छलफल गरिने उनले बताए । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहितको उपस्थितिमा बुधबार विस्तृत छलफल गर्नेछौं,’ उनले भने, ‘त्यसपछि के–कसरी अघि बढ्ने भन्ने निर्णय हुन्छ ।’

गाडी रोक्ने ठाउँमा पानी, सेनिटाइजरको व्यवस्था गर्ने, मास्क अनिवार्य गर्नेलगायत स्वास्थ्यसम्बन्धी सुरक्षाका उपाय अपनाएर सवारी सञ्चालन गर्न लागिएको उनको भनाइ छ । गाडीमा सिट संख्याको आधा मात्र यात्रु राख्ने, चालक र सहचालकको कोरोना बिमा गर्ने, १५/१५ वा एक महिनामा चालक, सहचालकको कोरोना परीक्षण गर्नेलगायत विषय पनि छलफलमा उठेका थिए ।

५० प्रतिशत चालक उपत्यकाबाहिर भएकाले उनीहरूलाई ल्याउने वातावरण बनाउने विषयमा विभाग सकारात्मक रहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘१०/२० वटा मात्र गाडी निकालेर भएन,’ उनले भने, ‘धेरै गाडी निस्कन्छन् । त्यसैले स्वास्थ्य सावधानी अपनाउन जरुरी छ ।’

यात्रु पाउनै गाह्रो

चालक अन्तरे लामाले मंगलबार लकडाउनपछि पहिलो पटक टेम्पो निकाले । लगनखेल चोकमा आएर ३० मिनेट यात्रु पर्खेपछि एक जना चढे । त्यसपछि उनी बसेनन् । लगनखेल चोकबाट सानेपातिर लागे । ती यात्रुलाई थापाथलीमा छोडेर उनी सानेपातिरै फर्किए । तर उनले यात्रु पाएनन् । सानेपाबाट त्रिपुरेश्वर हुँदै नयाँ बानेश्वर–कोटेश्वर–लगनखेलसम्म पुग्दा उनले चार जना यात्रुलाई चढाए/ओराले । आउँदा–जाँदा जम्मा ५ जना यात्रुलाई गन्तव्यमा पुर्‍याएबापत १ सय २० रुपैयाँ कमाए । मासिक १० हजार रुपैयाँ साहुलाई दिने सर्तमा ५ लाख बराबरको टेम्पोमा उनी आफैंले ब्याट्री हालेका थिए । ‘ब्याट्रीको ग्यारेन्टी ९ महिना थियो, ६ महिना चलाइसकें,’ उनले भने, ‘बाँकी तीन महिना थियो । त्यो पनि लकडाउनमा सकियो ।’ ५० प्रतिशत भाडा बढाउने र ५० प्रतिशत यात्रु राख्न पाउने भएकाले टेम्पोमा ६ जनाभन्दा बढी यात्रु नचढाउने उनले बताए ।

लगनखेल–सानेपा रुट चल्ने २७ वटा टेम्पो छन् । मंगलबार तीनवटा टेम्पो मात्र चलाइएको थियो । ललितपुर सफा टेम्पो समितिका सचिव खेलकुमार श्रेष्ठ आफैं टेम्पो चालक हुन् । उनले पनि लकडाउनपछि पहिलो पटक टेम्पो निकालेका थिए । समितिको सोमबार बसेको बैठकले कागजपत्र फेल भएको, बिमा अवधि सकिएको टेम्पो ननिकाल्ने निर्णय गरेको छ । ‘टेम्पो र चालक सरकारको मापदण्डअनुरूप नै निस्कनुपर्छ । सेनिटाइजर, मास्क र पन्जा अनिवार्य गरिएको छ,’ उनले भने, ‘सरकारले साउन ७ गतेसम्म लकडाउन भनेको छ, त्यसपछि पनि सरकारको निर्देशनअनुसार नै अघि बढ््छौं ।’ उपत्यकामा ७ सयभन्दा बढी टेम्पो रहेको उनले बताए ।

यस्तै, बिजुली बसका चालक सुकेस लामाले पनि मंगलबार लकडाउनपछि पहिलो पटक बस निकाले । बिहान ८ बजेबाट रत्नपार्कदेखि सूर्यविनायकसम्म ५ राउन्ड लगाए । कार्यालयको समयमा यात्रु भेटिए पनि दिउँसो एक/दुई जना बोकेर गुडे । सुन्दर यातायातले पनि मंगलबारदेखि लकडाउन अगाडिकै भाडामा चारवटा बिजुली बस चलाउन सुरु गरेको छ । ‘५० प्रतिशत मात्र यात्रु हाल्न पाइने हुनाले सरकारले ५० प्रतिशत धेरै भाडा लिन पाउने निर्णय गरेको छ,’ यातायातका अध्यक्ष भेषबहादुर थापाले भने, ‘तर हामीले लकडाउन अगावैको भाडादरमा बस चलाउन थालेका हौं ।’

दुईवटा पुरानै रुटमा र दुईवटा नयाँ रुटमा यातायात सेवा सुरु गरेको उनले बताए । चक्रपथ परिक्रमा पुरानै रुट भएकाले रत्नपार्क–सूर्यविनायक रुटमा दुईवटा सञ्चालन गरिएको उनले जानकारी दिए । ‘बसका चालक र सहचालकले कम्पनीले उपलब्ध गराएको बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वासेबल ग्लोब्स र मास्क लगाएका छन्,’ उनले भने, ‘बसमा सवार हरेक यात्रुको तापक्रम परीक्षण गरेका छौं ।’

उपत्यकामा मयूर, महानगर र संयुक्त यातायातले पनि बस गुडाउन थालिसकेका छन् । मयूरले शुक्रबारदेखि सेवा दिन सुरु गरेको हो । अध्यक्ष मोहन श्रेष्ठका अनुसार चालक/सहचालकलाई व्यक्तिगत सुरक्षा सामग्री, मास्क र सेनिटाइजरको व्यवस्था गरिएको छ । मास्क नलगाएका यात्रुलाई मास्क उपलब्ध गराइएको उनले बताए । ‘मयूर यातायातका सातवटा बस सञ्चालनमा छन्,’ उनले भने, ‘साउन १ गतेसम्म ४४ वटै बस सञ्चालनमा ल्याउनेछौं ।’ काभ्रेपलाञ्चोक जिल्लासँग समन्वय गरेर दुईवटा बस धुलिखेलसम्म र अन्य बस उपत्यकाभित्रै सञ्चालन भइरहेको उनले जानकारी दिए ।

साझा यातायात सहकारी संस्थाले पनि साउन १ गतेदेखि साझा बस चलाउने तयारी गरेको छ । साझाले केही बस यसअघि पनि चलाएको थियो । विदेशबाट हवाई उद्धार गरिएकाहरूलाई विमानस्थलबाट होल्डिङ सेन्टर पुर्‍याउन साझा बस प्रयोग गरिएको थियो । गाउँ गएका चालक र सहचालक फर्किइनसकेकाले कतिवटा बस चलाउने र भाडादर कति तोक्नेबारे निर्णय हुन बाँकी रहेको प्रमुख कार्यकारी अधिकृत भूषण तुलाधरले बताए ।

प्रकाशित : असार ३१, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?