कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मल नपाएपछि किसान आन्दोलित

भवानी भट्ट

कञ्चनपुर — भारतबाट मलखाद ल्याउन पाउनुपर्ने माग गर्दै सीमावर्ती क्षेत्रका किसान आन्दोलित बनेका छन् । भारतबाट दोधारा चाँदनीमा भित्रिएको मलखाद झोलुंगे पुल भएर ल्याउन पाउनुपर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

मल नपाएपछि किसान आन्दोलित

किसानले मंगलबार मल ल्याउन पाउनुपर्ने भन्दै झोलुंगे पुलमा प्रदर्शन गरे । उनीहरूले करिब दुई घण्टा पुलमा आवागमनसमेत बन्द गराए । प्रहरी र जनप्रतिनिधिले दोधारा चाँदनीबाट व्यावहारिक रूपमा मल ल्याउन दिइने बताएपछि पुलको आवागमन खुला भएको हो ।

रोपाइँ गर्ने बेला डीएपी अभाव झेलेका किसानले यतिबेला युरियाको पनि अभाव भएका कारण दोधारा चाँदनीबाट ल्याउन पाउनुपर्ने माग गरेका हुन् । ‘यता मल आउँदैन, भारतबाट आएको पनि हामीले प्रयोग गर्न पाउँदैनौं,’ भीमदत्त नगरपालिका–१३ बडैपुरकी जानकी धामीले भनिन्, ‘भारतबाट आएको मल दोधाराका गोदाममा भरिएको छ, त्यहाँबाट हामीलाई ल्याउन दिनुपर्छ भन्ने हाम्रो माग हो ।’

युरियाका लागि दोधारा पुगेका किसानलाई प्रहरीले ल्याउन नदिएपछि त्यहाँबाट फर्केर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले साइकलसमेत पुलमा राखेर आवातजावत बन्द गरेका थिए । ‘भारतबाट लुकीछिपी ल्याएर दोधारामा राखेका मलसमेत हामीले ल्याउन नपाइने, खेतीपातीका बेला जहिल्यै मलको अभाव किन गरिन्छ,’ भीमदत्त नगरपालिका–१३ बडैपुरका उत्तम नेगीले भने, ‘न यताबाट मल पाइन्छ, न त भारतबाट भित्रिएको ल्याउन पाइन्छ ।’ उनले असार पहिलो साता रोपाइँ सकेका थिए । त्यति बेला पनि डीएपी पाएनन् । अहिले युरिया हाल्ने बेलासमेत अभाव भएको उनले बताए ।

कञ्चनपुरमा प्रायः असार पहिलो साताभित्रै रोपाइँ गरिन्छ । प्रायः क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध भएकाले अन्य क्षेत्रको तुलनामा चाँडै रोपाइँ हुने गरेको छ । यहाँ रासायनिक मल भने कहिल्यै समयमा उपलब्ध हुँदैन । किसानले जहिल्यै अभाव झल्दै आएका छन् । सीमा क्षेत्रका किसानले विगतमा पनि भारतबाटै लुकीछिपी रासायनिक मल ल्याउँथे । तर यस पटक लकडाउनका कारण आफैं भारत जान नसक्दा मल ल्याउन नसकेकाले उनीहरू दोधारा चाँदनीमा भारतबाट अवैध रूपमा भित्रिएको मल ल्याउन पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रेका हुन् ।

जिल्लामा मलखाद आपूर्ति गर्ने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेड दुवैका गोदाम रित्ता छन् । वैशाखमा एक लट आएको मल सकिएपछि दोस्रो पटक डीएपी र युरिया आएको छैन । ‘भैरहवामै मल पुगेको छैन, तत्काल मल आउने सम्भावना कम छ,’ साल्ट ट्रेडिङका कञ्चनपुर प्रमुख दीपक भट्टले भने, ‘भैरहवामा आएपछि मात्रै यहाँ पनि आउने हो ।’ युरिया पनि वैशाखमै आएको थियो । सबै त्यतिबेलै सकिएपछि अहिले अभाव भएको हो । कम्पनीसँग युरिया मल मौज्दात नभएको कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरका प्रमुख बलबहादुर शाहले बताए । ‘एक महिनाअघि आएको हो, सबै सकियो,’ उनले भने, ‘तत्काल आउने सम्भावना पनि छैन ।’

प्रकाशित : असार ३१, २०७७ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?