१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फेरि देखियो सलह

दाङ/तिलोत्तमा/पोखरा — दाङमा फेरि सलह देखिएको छ । आइतबार दिउँसो राप्ती र गढवा गाउँपालिकामा प्रवेश गरेको हो । लाखौंको संख्यामा आएका सलहले धान र मकै बालीमा ठूलो क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र घोराहीले जानकारी दिएको छ ।

फेरि देखियो सलह

राप्ती–२ र ३ वडामा ८ बिघा र गढवामा १० बिघा जमिनको मकै बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख सन्देश धितालले बताए । अन्य क्षतिको विवरण संकलन हुन नसकेको उनको भनाइ छ । यो सलह फेरि पनि भारतबाटै आएको नयाँ समूह भएको उनले बताए । केही सलह मकै र धानबालीमा बसिरहेको भए पनि ठूलो समूह उत्तर–पूर्वतिर लागेको धितालले जानकारी दिए ।

सलह पसेपछि धपाउन किसानलाई खबर गरिएको र सबैतिर आवाज र धूवाँ निकाल्ने काम भएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए । ‘सबै किसानलाई सचेत बनाएका छौं । सबैले आगो बाल्ने, भाँडा बजाउने काम गरिरहेका छन्,’ उनले भने, ‘हाम्रो कृषि टोली पुगेर पनि आवश्यक प्राविधिक सहयोग गरिरहेको छ । सलहले धेरै ठाउँमा क्षति पुर्‍याएको छ ।’ सलहबाट बाली बचाउन किसानलाई सचेत रहन अनुरोध गरिएको सुवेदीले बताए ।

असार दोस्रो साता रूपन्देहीमा प्रवेश गरेको सलह भने अविरल वर्षासँगै एक सातामै हराएको छ । सलह देखिन छाडेपछि सरकारी निकायले नियन्त्रणको योजना बनाएनन् । यहाँ आएका सलह कता गए भन्नेसमेत यकिन गरिएन । गत असार १३ गते पहिलो पटक सलह रूपन्देहीमा प्रवेश गरेको थियो । प्रदेश कृषि निर्देशनालयले सलह पूर्ण रूपमा हराइसकेको दाबी गरेको थियो । तर, आइतबार दिउँसो दाङमा सलह देखिएको छ ।

वरिष्ठ बालीविज्ञ कामना अधिकारीले रूपन्देहीमा पहिलो पटक झुन्ड प्रवेश गरेपछि विभिन्न उपाय अपनाएर तितरबितर पारिएको बताइन् । ‘यहाँबाट अन्य जिल्लामा पुग्दा सानो हुँदै गएको झुन्ड सबै हरायो,’ उनले भनिन् । सुरक्षित रहन सलह जंगलतर्फ पसेपछि चराचुरुंगीले खाएको र केही संख्या त्यत्तिकै हराएको हुन सक्ने उनको अनुमान छ । ‘पहाडी जिल्लामा पसेको सलह मानिसले समातेर पकाई खाएको समेत भेटियो,’ उनले थपिन्, ‘झुन्ड ठूलो नहुँदा हराउन समय लागेन ।’ पानी पर्दासमेत केही संख्यामा सलह मरेको उनले बताइन् ।

प्रदेशमा सलहले कति क्षति गर्‍यो भन्नेबारे यकिन तथ्यांक निर्देशनालयसँग पनि छैन । स्थानीय तहसँग समन्वय गरेर संकलन गर्ने काम भइरहेको अधिकारीको भनाइ छ । मकै बालीमा सामान्य क्षति पुगे पनि प्रदेशभरि उल्लेख्य क्षति नगरेको उनको भनाइ छ । अर्घाखाँची, दाङ, पाल्पा, प्यूठानमा भने मकैमा केही क्षति गरेको निर्देशनालयले जनाएको छ ।

रुपन्देही प्रवेश गरेको सलहले यहाँको बुटवल, तिलोत्तमा, देवदह, मर्चवार, लुम्बिनी, सैनामैनामा लगाइएको मकै बालीमा छिटफुट हानि गरेको थियो । कपिलवस्तुमा तरकारी बालीमा नोक्सान गरेको थियो । असार दोस्रो साता गण्डकी प्रदेशका विभिन्न जिल्लामा सलह देखिए । स–सानो झुन्डमा देखिएका सलहले ठूलो क्षति पुर्‍याउन पाएन । सलह नेपाल प्रवेश गरेपछि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले र्‍यापिड रेस्पोन्स टिम बनायो । टिमका संयोजक एवं वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालका अनुसार सलहले स्याङ्जाको कालिगण्डकी गाउँपालिका र बागलुङको गलकोटमा केही क्षति पुग्यो । कालिगण्डकीमा १० रोपनी र गलकोटमा ५ रोपनीमा लगाइएको मकैका पात सलहले खाए । घोगा लागिसकेको मकै भएकाले पात मात्रै खाँदा कुनै असर नपुगेको संयोजक हमालले बताए । ‘घोगा नलाग्दै सलह आएको भए धेरै क्षति हुन सक्थ्यो,’ उनले भने, ‘अहिले उल्लेखनीय क्षति भएको छैन ।’

असार १४ मा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका, असार १५ मा आँधिखोला गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिकामा सलह भेटिएका थिए । कास्कीको रुपा गाउँपालिकामा असार १५ मा सलहले पीपल र स्थानीय भुइँघाँसमा सामान्य क्षति पुर्‍याए । भोलिपल्ट ती सलह उत्तर–पश्चिमतिर गए । असार १६ मा कास्कीकै अन्नपूर्ण गाउँपालिका–८ मा सलहको एक समूह देखियो । रुपाबाटै सलहको समूह अन्नपूर्ण पुगेको टिमको अनुमान छ ।

सलह उत्तरतर्फ बढ्दै जाँदा हावापानी नमिलेपछि आफैं मर्न थालेको संयोजक हमाल बताउँछन् । ‘यो कीरालाई २० डिग्रीभन्दा माथि तापक्रम चाहिन्छ,’ उनले भने, ‘उत्तरतर्फ चिसो भएको र पानी पनि परिरहेकाले फैलन पाएन ।’ किसानलाई क्षतिपूर्ति नै दिनुपर्ने गरी सलहले नोक्सानी नपुर्‍याएको उनको भनाइ छ ।

प्रकाशित : असार ३०, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?