तीन महिनामै उप्कियो कालोपत्र

चारआली–चन्द्रगढी सडकखण्डदेखि पश्चिम देउनिया पुल छेउसम्मको पिच सडक बनिनसक्दै उप्कियो
अर्जुन राजवंशी

बिर्तामोड — भद्रपुर नगरपालिका–९ र १० नम्बर जोड्ने सडकको कालोपत्र निर्माण गरेको तीन महिना नहुँदै भत्किएको छ । चारआली–चन्द्रगढी सडकखण्डदेखि पश्चिम देउनिया पुल छेउसम्मको सडकअन्तर्गत करिब एक किलोमिटर कालोपत्र भत्किएको हो । इलामको गजुरमुखी निर्माण कम्पनीले कालोपत्र गरेको थियो ।

तीन महिनामै उप्कियो कालोपत्र

सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले ठेक्का लगाएको उक्त सडक ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेकाले निर्माण सम्पन्न भएको तीन महिनामै कालोपत्र भत्किएको स्थानीय रमेश न्यौपानेको आरोप छ । चन्द्रगढी सामुदायिक वनको कार्यालयदेखि पश्चिम चन्द्रगढ हुँदै देउनिया पुलसम्म उक्त सडकको लम्बाइ ४ किलोमिटर छ । गत चैतमा सडक कालोपत्र सकेको निर्माण कम्पनीका तर्फबाट साइड इन्चार्ज प्रकाश कडरियाले जानकारी दिए ।

‘सडक जेठ अन्तिमदेखि भत्किन सुरु भएको हो,’ स्थानीय सन्तोष भण्डारीले भने, ‘एक/दुई ठाउँ मात्र होइन, एक किलोमिटर जति कालोपत्र कामै नलाग्ने गरी भत्किएको छ ।’ सरोकारवाला निकायले अनुगमन र परीक्षण नगर्दा ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेको उनको आरोप छ । ‘गुणस्तरीय भएको भए निर्माण गरेको दुई महिनामै कसरी भत्किन्छ ? त्यो पनि एक/दुई ठाउँमा होइन, एक किलोमिटर लामो सडक कामै नलाग्ने गरी भत्किएको छ,’ उनले भने ।

सडकको गुणस्तरबारे पटकपटक कुरा उठाए पनि कसैले वास्ता नगरेको भीम खतिवडाले बताए । ‘ठेकेदारका मान्छे र काम गर्नेहरुलाई सडक राम्रो बनेन भनेर हामीले सुरुदेखि नै भन्दै आएका थियौं । तर उहाँहरुले हाम्रो कुरालाई वास्तै गर्नुभएन,’ उनले भने, ‘उल्टै, सघन सहरीबाट जस्तो बनाउन भनिएको छ हामीले त्यस्तै सडक बनाएको भनेर ठेकेदारका मान्छेले हामीलाई जवाफ फर्काए ।’

गजुरमुखी निर्माण कम्पनीले सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत भद्रपुर नगरपालिकाभित्र ३१ किलोमिटर सडक र २ किलोमिटर पक्की नाला निर्माणको ठेक्का पाएको छ । उक्त ठेक्का ६५ करोड रुपैयाँमा लिएको निर्माण कम्पनीका कडरियाले जानकारी दिए । ०७४ असार २० मा २४ महिनामा निर्माण सम्पन्न गर्नेगरी पाएको ठेक्का अझै सकिएको छैन । पहिलो पटक ७ महिना थप गरिएको म्याद गुजारेको निर्माण कम्पनीले दोस्रो पटक म्याद थपको प्रक्रिया अघि बढाएको सघन सहरीका इन्जिनियर विनोद मिश्र बताउँछन् ।

सडक निर्माणलगत्तै पानी परेको र १० चक्के टिपर कुदेकाले कालोपत्र चाँडै भत्किएको कडरियाको दाबी छ । नयाँ ट्र्याकमा ग्राभेल र कालोपत्र सँगै गर्नुपरेकाले सडक भत्किएको उनको भनाइ छ । भत्किएको सडक तत्काल निर्माण गरिने उनले जानकारी दिए । ‘भत्किएको स्थानको कालोपत्र हटाएर गिटी झारिसकेका छौं । बर्खापछि फेरि कालोपत्र गर्छौं,’ उनले भने । सघन सहरी कार्यालयका साइड इन्जिनियर मिश्रले पनि क्षमताभन्दा बढी लोडसहितका गाडी चलेकाले कालोपत्र भत्किएको प्रस्ट्याए ।

सडक भत्किएकोबारे निर्माण कम्पनीको ध्यानाकर्षण गराइसकिएकाले बर्खापछि पुनः कालोपत्र गरिने उनको भनाइ छ ।

प्रकाशित : असार २७, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?