१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सिभिल मलका व्यवसायीले बुझाए साँचो

१ सय ५ व्यवसायीले चाबी जिम्मा लगाए

काठमाडौँ — सुन्धारास्थित सिभिल मलका व्यवसायीले शुक्रबार सञ्चालकलाई सटरको साँचो बुझाएका छन् । सिभिल मल सञ्चालक समितिले व्यवसायीलाई असार २५ भित्र पसलको भाडा बुझाउन दबाब दिएपछि तिर्न नसक्ने भन्दै साँचो जिम्मा लगाइएको सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले बताए ।

सिभिल मलका व्यवसायीले बुझाए साँचो

‘असार १७ गते व्यवसायीहरूलाई चैत ९ देखि चार महिनाको भाडा असार २५ गतेभित्र तिरे ५० प्रतिशत छुट दिने भनेर सञ्चालकको चिठी आयो,’ उनले भने, ‘अहिले असार मसान्तभित्र तिरे २५ प्रतिशत मात्र छुट दिने भनिएको छ ।’ कोभिड–१९ को महामारीबीच सरकारले लागू गरेको लकडाउनको निर्णयविपरीत व्यापार संघहरू मिलेर असार १ बाट मल सञ्चालनमा ल्याइएको उनले बताए । मल सञ्चालन गरे पनि व्यापार गर्न नसकेको अवस्थामा भाडा तिर्न नसक्ने भन्दै साँचो जिम्मा लगाइएको उनले सुनाए ।

मलमा रहेका १ सय ३५ सटरमध्ये १ सय ५ व्यवसायीले साँचो जिम्मा लगाएका हुन् । त्यसमध्ये शुक्रबार सञ्चालक र ब्रान्डका कम्पनीका चार–पाँच सटर मात्र सञ्चालनमा आएका थिए । ‘मलमा प्रतिमहिना १ लाखदेखि ८ लाख रुपैयाँसम्म भाडा तिर्ने व्यवसायी छन्,’ घिमिरेले भने, ‘आम्दानी नभएको अवस्थामा बैंकदेखि सबैलाई पैसा तिर्नुपर्छ । हाम्रो सम्पत्ति भनेको पसल हो । त्यही राख्नुस् भनेर साँचो दियौं ।’

व्यवसायीले ‘मल खोल्ने वातावरण तयार गर’, ‘आत्महत्यालाई प्रोत्साहन नगर’, ‘व्यापारीहरूको आर्थिक क्षति कसले व्यहोर्ने’ लगायतका प्ले कार्ड बोकेर मलबाहिर प्रदर्शनसमेत गरेका थिए ।

व्यवसायी रहे मल रहने भएकाले सञ्चालकहरूलाई छलफलको वातावरण तयार गरी सहमतिको बाटोमा जानुपर्ने माग व्यवसायीको रहेको अध्यक्ष घिमिरेले बताए ।

प्रकाशित : असार २६, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?