कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कपडा उद्योग छिटपुट मात्र चल्दै

१० प्रतिशत उद्योग सञ्चालनमा, उद्योगी भन्छन्, ‘संकटका बेला सरकारले हामीलाई बेवास्ता गर्‍यो’
नुमा थाम्सुहाङ

काठमाडौँ — ललितपुरको लुभुस्थित सागर कपडा उद्योग लकडाउनयता बन्द छ । लुभुकै केआर टेक्सटाइल उद्योग क्षमताको १० प्रतिशत मात्र सञ्चालनमा छ । लकडाउन भएको तीन महिनाभन्दा बढी भइसकेको छ । यो अझै कति समय लम्बिने हो टुंगो छैन । कपडा व्यवसायी पनि उद्योग चलाउने कि नचलाउने भन्ने अन्योलमा छन् ।

कपडा उद्योग छिटपुट मात्र चल्दै

लगानी थप्न नसकेकाले उद्योग बन्द गरिएको सागर कपडा उद्योगका सञ्चालक राजमान श्रेष्ठले बताए । ‘मौज्दात धागो सक्न लकडाउनको बीचमा १५ दिन जति उद्योग चलाएँ,’ उनले भने, ‘बजारबाट उठ्नुपर्ने पैसा उठेको छैन । धागो किन्न नि पैसा चाहिन्छ । लगानी गरेर नयाँ उत्पादन सुरु गरौं भने बजार राम्रोसँग खुलेको छैन ।’

उनको उद्योगले स्थानीय गार्मेन्टका लागि २० वर्षदेखि सुतीका कपडा तयार पार्दै आएको थियो । महिनामा १५ टन धागोबाट २० हजार मिटर कपडा उत्पादन गर्ने उनले अहिले उद्योग बन्द गरेका छन् । ‘मैले कपडा उत्पादन गरेर मात्र हुँदैन । अन्य गार्मेन्ट पनि चल्नुपर्‍यो,’ उनले भने, ‘बजार राम्रोसँग नचलेसम्म उद्योग चलाउन समस्या छ ।’

केआर टेक्सटाइलका सञ्चालक उद्योगी केशव श्रेष्ठले पनि बजार राम्ररी नखुलेकै कारण उद्योग क्षमताको १० प्रतिशत मात्र चलेको दाबी गरे । बिहान १० देखि साँझ ५ बजेसम्म मात्र उद्योग चलाइरहेको उनले जानकारी दिए । उनको उद्योगमा ३० जना कर्मचारीले काम गर्छन् । लकडाउनका कारण उनीहरू घर गएकाले भएका तीन जना कामदारबाट मात्र उद्योग चलाइरहेको उनले बताए ।

‘उद्योग चलाएर मात्र के गर्ने ? भएका कर्मचारीलाई तलब दिनै समस्या छ,’ उनले भने, ‘पहिलाको सामान कटेको छैन, उत्पादन गरेको नयाँ सामान कहाँ राख्ने ?’ उनले २० वर्षदेखि नेपाली ढाकाको कारखाना सञ्चालन गर्दै आएका छन् । उनको कारखानाले सुती र पोलिस्टरका गरी मासिक ४ हजार किलो धागो खपत गर्छ । लकडाउनका बेला नेपाली कपडा उद्योग झन् समस्यामा परेको उनको भनाइ छ ।

‘यो क्षेत्रलाई बचाउन सरकारले लगानीको वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘सरकारले बैंकको कर्जामा ५ प्रतिशत छुट र स्वदेशी उद्योगका लागि सहुलियत कर्जा प्रवाह गरे केही राहत हुन सक्छ । उद्योग चल्ने वातावरण पनि बन्छ ।’

नेपालमा धागो र कपडा गार्मेन्टका सानाठूला गरी २ हजार हाराहारीमा उद्योग सञ्चालनमा छन् । यस क्षेत्रले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । त्यसमा कपडा उद्योग मात्र २ सय ५० भन्दा बढी छन् । तिनमा ५० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको नेपाल कपडा उत्पादक संघका अध्यक्ष शैलेन्द्र प्रधानले जानकारी दिए ।

‘नेपाली कपडा उद्योग पहिलादेखि नै संकटमा थिए । तिनलाई कोरोनाले झन् शिथिल पार्‍यो,’ उनले भने । खुला सिमानाका कारण चोरीपैठारीबाट आयात हुनेसँग स्वदेशी कपडा उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ । स्वदेशी कपडा उद्योगले वार्षिक १० अर्ब रुपैयाँ बराबरको १० करोड मिटर कपडा उत्पादन गर्छन् । मुलुकमा कपडा तथा कपडाजन्य वस्तुको माग ६ खर्ब रुपैयाँ बराबरको छ । यसमा ५० अर्ब रुपैयाँ बराबरको वैधानिक आयात हुन्छ । यसबाहेक अन्य अवैध रूपमा कारोबार हुने उनको भनाइ छ ।

‘कपडा उत्पादनको प्रक्रिया लामो हुन्छ । यो रोजगारमूलक क्षेत्र हो,’ उनले भने, ‘अहिले कामदार सबै बाहिर छन् । स्कुल, कलेज बन्द छन् । बजारमा मान्छे छैनन् । उत्पादन कहाँ बिक्री गर्ने ?’ धागो उद्योगहरू पनि क्षमताको ३० प्रतिशत मात्र सञ्चालनमा रहेको नेपाल धागो उत्पादक संघका सचिव उत्तम गौतमले बताए । ‘यो ८० प्रतिशत निर्यातमा आधारित उद्योग हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजार नै ठप्प रहेको अवस्थामा उद्योगले उत्पादन गरेको वस्तु कहाँ लैजाने ?’

कच्चा पदार्थ आयात गर्न नसकेको र आम्दानीभन्दा खर्च धेरै भएकाले उद्योगहरू कम सञ्चालनमा आएको उनले बताए । माग नभएकाले उद्योग अहिले चुप लागेर बस्नुपरेको उनको भनाइ छ । नेपालमा सुती, सिन्थेटिक्स, पोलिस्टर र एग्रेलिक धागो उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । संघमा आबद्ध उद्योगले वार्षिक ४० हजार मेट्रिक टन धागो उत्पादन गर्छन् । ८० प्रतिशत निर्यात र २० प्रतिशत स्वदेशमै खपत हुने धागो उद्योग पनि लकडाउनको मारमा छन् ।

स्वदेशी कपडा तथा धागो उद्योगलाई विस्थापित हुनबाट जोगाउन सरकारले सहुलियत दिनुपर्ने उद्योगी बताउँछन् । यो क्षेत्रलाई प्रोत्साहन गर्न मूल्य अभिवृद्धि कर (भ्याट) र कर्जामा सहुलियत दिनुपर्ने उनीहरूको भनाइ छ ।

प्रकाशित : असार २६, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?