कपडा उद्योग छिटपुट मात्र चल्दै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपडा उद्योग छिटपुट मात्र चल्दै

१० प्रतिशत उद्योग सञ्चालनमा, उद्योगी भन्छन्, ‘संकटका बेला सरकारले हामीलाई बेवास्ता गर्‍यो’
नुमा थाम्सुहाङ

काठमाडौँ — ललितपुरको लुभुस्थित सागर कपडा उद्योग लकडाउनयता बन्द छ । लुभुकै केआर टेक्सटाइल उद्योग क्षमताको १० प्रतिशत मात्र सञ्चालनमा छ । लकडाउन भएको तीन महिनाभन्दा बढी भइसकेको छ । यो अझै कति समय लम्बिने हो टुंगो छैन । कपडा व्यवसायी पनि उद्योग चलाउने कि नचलाउने भन्ने अन्योलमा छन् ।

लगानी थप्न नसकेकाले उद्योग बन्द गरिएको सागर कपडा उद्योगका सञ्चालक राजमान श्रेष्ठले बताए । ‘मौज्दात धागो सक्न लकडाउनको बीचमा १५ दिन जति उद्योग चलाएँ,’ उनले भने, ‘बजारबाट उठ्नुपर्ने पैसा उठेको छैन । धागो किन्न नि पैसा चाहिन्छ । लगानी गरेर नयाँ उत्पादन सुरु गरौं भने बजार राम्रोसँग खुलेको छैन ।’

उनको उद्योगले स्थानीय गार्मेन्टका लागि २० वर्षदेखि सुतीका कपडा तयार पार्दै आएको थियो । महिनामा १५ टन धागोबाट २० हजार मिटर कपडा उत्पादन गर्ने उनले अहिले उद्योग बन्द गरेका छन् । ‘मैले कपडा उत्पादन गरेर मात्र हुँदैन । अन्य गार्मेन्ट पनि चल्नुपर्‍यो,’ उनले भने, ‘बजार राम्रोसँग नचलेसम्म उद्योग चलाउन समस्या छ ।’

केआर टेक्सटाइलका सञ्चालक उद्योगी केशव श्रेष्ठले पनि बजार राम्ररी नखुलेकै कारण उद्योग क्षमताको १० प्रतिशत मात्र चलेको दाबी गरे । बिहान १० देखि साँझ ५ बजेसम्म मात्र उद्योग चलाइरहेको उनले जानकारी दिए । उनको उद्योगमा ३० जना कर्मचारीले काम गर्छन् । लकडाउनका कारण उनीहरू घर गएकाले भएका तीन जना कामदारबाट मात्र उद्योग चलाइरहेको उनले बताए ।

‘उद्योग चलाएर मात्र के गर्ने ? भएका कर्मचारीलाई तलब दिनै समस्या छ,’ उनले भने, ‘पहिलाको सामान कटेको छैन, उत्पादन गरेको नयाँ सामान कहाँ राख्ने ?’ उनले २० वर्षदेखि नेपाली ढाकाको कारखाना सञ्चालन गर्दै आएका छन् । उनको कारखानाले सुती र पोलिस्टरका गरी मासिक ४ हजार किलो धागो खपत गर्छ । लकडाउनका बेला नेपाली कपडा उद्योग झन् समस्यामा परेको उनको भनाइ छ ।

‘यो क्षेत्रलाई बचाउन सरकारले लगानीको वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘सरकारले बैंकको कर्जामा ५ प्रतिशत छुट र स्वदेशी उद्योगका लागि सहुलियत कर्जा प्रवाह गरे केही राहत हुन सक्छ । उद्योग चल्ने वातावरण पनि बन्छ ।’

नेपालमा धागो र कपडा गार्मेन्टका सानाठूला गरी २ हजार हाराहारीमा उद्योग सञ्चालनमा छन् । यस क्षेत्रले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । त्यसमा कपडा उद्योग मात्र २ सय ५० भन्दा बढी छन् । तिनमा ५० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको नेपाल कपडा उत्पादक संघका अध्यक्ष शैलेन्द्र प्रधानले जानकारी दिए ।

‘नेपाली कपडा उद्योग पहिलादेखि नै संकटमा थिए । तिनलाई कोरोनाले झन् शिथिल पार्‍यो,’ उनले भने । खुला सिमानाका कारण चोरीपैठारीबाट आयात हुनेसँग स्वदेशी कपडा उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ । स्वदेशी कपडा उद्योगले वार्षिक १० अर्ब रुपैयाँ बराबरको १० करोड मिटर कपडा उत्पादन गर्छन् । मुलुकमा कपडा तथा कपडाजन्य वस्तुको माग ६ खर्ब रुपैयाँ बराबरको छ । यसमा ५० अर्ब रुपैयाँ बराबरको वैधानिक आयात हुन्छ । यसबाहेक अन्य अवैध रूपमा कारोबार हुने उनको भनाइ छ ।

‘कपडा उत्पादनको प्रक्रिया लामो हुन्छ । यो रोजगारमूलक क्षेत्र हो,’ उनले भने, ‘अहिले कामदार सबै बाहिर छन् । स्कुल, कलेज बन्द छन् । बजारमा मान्छे छैनन् । उत्पादन कहाँ बिक्री गर्ने ?’ धागो उद्योगहरू पनि क्षमताको ३० प्रतिशत मात्र सञ्चालनमा रहेको नेपाल धागो उत्पादक संघका सचिव उत्तम गौतमले बताए । ‘यो ८० प्रतिशत निर्यातमा आधारित उद्योग हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजार नै ठप्प रहेको अवस्थामा उद्योगले उत्पादन गरेको वस्तु कहाँ लैजाने ?’

कच्चा पदार्थ आयात गर्न नसकेको र आम्दानीभन्दा खर्च धेरै भएकाले उद्योगहरू कम सञ्चालनमा आएको उनले बताए । माग नभएकाले उद्योग अहिले चुप लागेर बस्नुपरेको उनको भनाइ छ । नेपालमा सुती, सिन्थेटिक्स, पोलिस्टर र एग्रेलिक धागो उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । संघमा आबद्ध उद्योगले वार्षिक ४० हजार मेट्रिक टन धागो उत्पादन गर्छन् । ८० प्रतिशत निर्यात र २० प्रतिशत स्वदेशमै खपत हुने धागो उद्योग पनि लकडाउनको मारमा छन् ।

स्वदेशी कपडा तथा धागो उद्योगलाई विस्थापित हुनबाट जोगाउन सरकारले सहुलियत दिनुपर्ने उद्योगी बताउँछन् । यो क्षेत्रलाई प्रोत्साहन गर्न मूल्य अभिवृद्धि कर (भ्याट) र कर्जामा सहुलियत दिनुपर्ने उनीहरूको भनाइ छ ।

प्रकाशित : असार २६, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

‘जी नाइन’ केराले आशा जगाउँदै

मालभोगभन्दा करिब दोब्बर उत्पादन दिने भएपछि चितवनका किसान जी नाइनप्रति आकर्षित हुँदै छन्
रमेशकुमार पौडेल

चितवन — मालभोग केराले राम्रो आम्दानी दिए पनि केही वर्षयता यो जातमा रोग लाग्ने क्रम बढेको छ । चितवनका किसान मालभोगसँगै केराको अर्को जात जी नाइन रोपेर व्यवसाय जोगाउनेतिर लागेका हुन् । रोग कम लाग्ने र धेरै फल्ने जात भएकाले किसानले यसलाई रोज्न थालेका हुन् ।

बगानमा लगाएको जी नाइन केरा देखाउँदै चितवनका किसान विष्णुहरि पन्त । तस्बिर : रमेशकुमार पौडेल

रत्ननगरका विष्णुहरि पन्त केरा खेतीबाट राम्रो आम्दानी गरेका किसान हुन् । उनले ४० बिघामा केरा लगाएका छन् । त्यसमा ३८ बिघामा मालभोग छ । जी नाइन दुई बिघामा छ । अर्का किसान यज्ञप्रसाद सुवेदी लक्ष्मणले चितवनका विभिन्न ठाउँमा गरेर ७० विघामा केरा खेती गरेका छन्, त्यसमध्ये करिब २५ बिघामा जी जाइन छ, अरू सबैमा मालभोग नै लगाएका छन् ।

चितवनमा दुई हजार हेक्टर (तीन हजार बिघा) मा केरा खेती हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनको केरा जोनका कृषि अधिकृत इन्द्र ढुंगानाले जानकारी दिए । त्यसमध्ये अधिकांश जमिनमा मालभोग जातकै केरा छ । यो केरामा पछिल्लो समय ‘पानामा विल’ नामक रोग देखापरेको छ । यो रोगले केराको बोट फुट्ने, पात पहेँलिने र फलमै असर गर्छ । ‘धेरै बगानमा यो रोगको समस्या छ । एउटा बोटमा रोग देखिए पूरै बगान ढाक्न बेर लगाउँदैन । त्यसैले किसानलाई ठूलो जोखिम छ,’ ढुंगानाले भने । चितवनका बगानमा ३० प्रतिशत हाराहारीमा ‘पनामा विल’ ले ढाकेको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनका प्रमुख मेघनाथ तिमिल्सेना ‘पानामा’ लाई कोरोनासँग दाँज्छन् ।

‘एउटा बगानबाट अर्को बगानमा सजिलै जान सक्ने खतरा छ । चाँडै पनि फैलने गर्दछ । यसको चरित्र कताकता कोरोनासँग मिल्छ,’ उनले भने । किसान पनि रोगको प्रकोप फैलिएको र व्यवसाय नै जोखिममा परेको स्विकार्छन् । तर मालभोगका केही खास विशेषताले गर्दा रोग प्रतिरोधी क्षमता निकै राम्रो भएको जी नाइन केरा लगाउन किसान खासै इच्छुक देखिएका छैनन् ।

मालभोग प्रतिहेक्टर २५ देखि ३० टनसम्म फल्छ । जी नाइन ५० टनसम्म फल्ने तिमिल्सेनाले बताए । केराको घरी हेर्दा नै फरक देखिन्छ । जी नाइनको लामो घरी र धेरै कोसा हुन्छन् । मालभोगको घरी नै छोटो र ठिक्कका कोसा हुन्छन् । उत्पादन दोब्बर हुँदा पनि किसानले किन रोप्दैनन् त जी नाइन ? ‘नेपालीको रोजाइमा पहेँलो केरा पर्छ । मालभोग पहेँलो र जी नाइन हरियो केरा हो,’ पन्तले भने ।

ग्राहकको रोजाइका कारण किसानले मालभोगको उत्पादन बढाइरहेका छन् । ‘चितवनमा पहिला सबैले हरियो केरा लगाउँथे । मूल्य नआउने भएपछि मालभोगतिर लागे । अहिले फेरि मालभोग छाडेर जी नाइन लगाए मूल्य नपाइने हो कि भन्ने शंका छ,’ चितवन केरा उत्पादक संघका पूर्वअध्यक्षसमेत रहेका यज्ञप्रसाद सुवेदी लक्ष्मणले भने, ‘जी नाइनको मूल्य तीन रुपैयाँ गोटा हुँदा मालभोग पाँच रुपैयाँमा सजिलै बिक्री हुन्छ ।’

जी नाइनलाई सिँचाइ पनि पर्याप्त चाहिन्छ । मालभोग सुक्खा जमिनमा पनि फस्टाउँछ । ‘सिँचाइका लागि पम्प राख्न समस्या छ । धेरै किसानले जग्गा भाडमा लिएर खेती गरेका छन् । चारपाँच वर्षका लागि जग्गा भाडामा लिए पनि बीचमै करार तोड्ने समस्या छ । त्यसैले ठूलो रकम खर्च गरेर भाडाको जग्गामा सिँचाइका लागि बोरिङ र पम्प राख्न खोज्दैनन्् । यसले लागत बढाउँछ,’ पन्तले भने ।

जग्गा १० वर्षसम्म भाडमा लिन पाउने र बोरिङको अनुदान बढाउने हो भने सिँचाइको व्यवस्था गर्न समस्या नभएको उनले बताए । सिँचाइका लागि बोरिङ राख्दा सरकारले अहिले ५० प्रतिशत अनुदान दिन्छ । किसानले भने ८५ प्रतिशतसम्म अनुदान दिनुपर्‍यो भन्ने गरेको परियोजना कार्यान्वयन इकाइका प्रमुख मेघनाथ तिमिल्सेनाको भनाइ छ । विशेष खालको चेम्बरमा भण्डारण गरे जी नाइन केरा पनि पहेँलो हुने उनको भनाइ छ ।

त्यस्तो चेम्बर निर्माणमा पनि अनुदान बढाउन किसानको माग छ । परियोजनाले जी नाइन केरा खेतीका लागि नै किसानलाई प्रोत्साहन गर्दै आएको उनले बताए । रोगले मालभोगलाई जुनसुकै बेला असर गर्न सक्ने भएकाले रोग प्रतिरोधी क्षमता राम्रो भएको केराको जी नाइन रोप्न किसानलाई प्रोत्साहन गरिएको कृषि अधिकृत ढुंगानाको भनाइ छ । परियोजनाले किसानलाई अनुदानमा जी नाइनका बिरुवा दिँदै आएको छ ।

प्रकाशित : असार २६, २०७७ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×