कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पुनर्निर्माण प्राधिकरणको समयावधिबारे विकास समितिको चासो

विमल खतिवडा

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समय पुसमा सकिँदै छ । प्राधिकरणको समय थप्ने कि नथप्ने भन्नेबारे टुंगो लागेको छैन । पुनर्निर्माणको काम जारी छ । पुस १० सम्म प्राधिकरणको समय भए पनि त्यति बेलासम्म पुनर्निर्माण सकिने अवस्था छैन ।

पुनर्निर्माण प्राधिकरणको समयावधिबारे विकास समितिको चासो

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, ०७२ मा सरकारले आवश्यक ठाने एक वर्ष समय थप्न सक्ने प्रावधान छ ।

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा राष्टिय पुनर्निर्माण प्राधिकरणको समयावधिबारे बिहीबार छलफल भएको छ । प्राधिकरणको समयबारे छिटो टुंगो लगाउनुपर्ने समिति सभापति कल्याणीकुमारी खड्काले बताइन् । निजी आवास र विद्यालय पुनर्निर्माण राम्रोसँग अघि बढेकाले सम्पदा पुनर्निर्माणलाई पनि अझ छिटो अघि बढाउन उनले निर्देशन दिइन् । बैठकमा निजी आवास, विद्यालय पुनर्निर्माण, पुरातात्त्विक सम्पदा, स्वास्थ्य संस्था, सरकारी भवन र सुरक्षा निकायका भवन पुनर्निर्माण अवस्थाबारे जानकारी गराइएको थियो ।

प्राधिकरणको समयावधिबारे निर्देशक समितिले बनाएको कार्यदलले प्रतिवेदन बनाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । ‘मेरो नेतृत्वमा अर्थ मन्त्रालयका सचिव, सहरी विकास मन्त्रालयका सचिवलगायतको टोली छ,’ उनले भने, ‘कति समय चाहिने हो, बाँकी काम कसरी सम्पन्न गर्ने र बजेट कति चाहिने हो भन्नेबारे प्रतिवेदन बनेको हो ।’

आर्थिक वर्ष सकिएपछि निर्देशक समितिको बैठक बस्ने र त्यसले प्राधिकरणको समयबारे टुंगो लगाउने ज्ञवालीले बताए । समितिले सिफारिस गरेपछि मन्त्रिपरिषद्बाट समय थपबारे निर्णय हुने उनको भनाइ छ । भूकम्पबाट क्षति भएकामध्ये ५ लाखभन्दा बढी घरको पुनर्निर्माण सकिएको उनले जनाए । २ लाख २ हजार ६ सय ४३ घर पुनर्निर्माणका क्रममा रहेको उनको भनाइ छ ।

प्रकाशित : असार २६, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?