कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अन्योलमा सार्क चेम्बर अफ कमर्सको भविष्य

संस्थालाई दिँदै आएको पहिचान तत्कालका लागि रद्द गरिएको सार्क सचिवालयको भनाइ

काठमाडौँ — दक्षिण एसियाली सहयोग संगठन (सार्क) ले दिँदै आएको पहिचान नवीकरण नभएपछि सार्क चेम्बर अफ कमर्सको भविष्य अन्योलमा परेको छ ।

अन्योलमा सार्क चेम्बर अफ कमर्सको भविष्य

सार्क सचिवालयले सोमबार सूचना जारी गर्दै सार्क चेम्बर अफ कमर्सलाई दिँदै आएको पहिचान तत्कालका लागि रद्द गरिएको जनाएको छ ।

सार्क रिकग्नाइज्ड रिजनल एपेक्स बडिजको पहिचान र नवीकरणका लागि स्ट्यान्डिङ कमिटी आधिकारिक भएकाले आगामी बैठकले पहिचान नवीकरण गर्ने, नगर्ने विषयमा निर्णय गर्ने सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । नवीकरण नहुँदासम्म सार्क चेम्बर अफ कमर्सअन्तर्गत कुनै पनि कार्य नगर्न पनि विज्ञप्तिमा उल्लेख छ ।

सार्क चेम्बर अफ कमर्समा सार्क राष्ट्रका उद्योगी व्यवसायीको संगठनहरूको प्रतिनिधित्व रहँदै आएको छ । हरेक देशका यस्ता निकायले पालैपालो सार्क चेम्बर अफ कमर्सको नेतृत्व लिँदै आएका छन् । यसअघि नेपालका तर्फबाट सुरज वैद्य सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष थिए । यो पदमा अहिले उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल छन् ।

चेम्बर अफ कमर्सको नवीकरण हरेक २ वर्षमा गर्नुपर्ने प्रावधान भएकाले यसअघि स्वतः नवीकरण हुने गरेको पूर्वअध्यक्ष वैद्यको भनाइ छ । ‘२५ वर्षे इतिहासमा यसअघि स्वतः नवीकरण हुँदै आएको थियो,’ उनले भने, ‘तर डेढ वर्षयता केही मुलुकले यसको प्रभावकारितामा प्रश्न गर्दै आएका थिए । त्यसैल यसको नवीकरणको विषय अन्योलमा परेका हुन सक्ने उनको बुझाइ छ ।

‘सार्क चेम्बर अफ कमर्सको नवीकरण भएन भने निजी क्षेत्रको आवाज कमजोर हुन्छ,’ उनी भन्छन्, ‘यसले धेरै क्षेत्रमा प्रभाव पर्छ ।’ नेपालका तर्फबाट उद्योग वाणिज्य महासंघले सार्क चेम्बर अफ कमर्समा प्रतिनिधित्व गर्दै आएको छ । यसको नवीकरण हुने वा नहुने विषय टुंगो नभएपछि सार्क चेम्बर अफ कमर्सको भविष्य अन्योलमा परेको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको टिप्पणी छ ।

‘अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व व्यापार संगठनलाई असान्दर्भिक बनाउँदै लगेका बेला सार्कको यो घटनाले क्षेत्रीय व्यापारिक प्रणालीलाई असर गर्नेछ,’ गोल्छाले ट्वीटरमा लेखेका छन् । सार्क राष्ट्रबीच व्यापार र औद्योगिक प्रवर्द्धन गर्न यो संस्थालाई सार्कले २५ वर्षअघि सन् १९८५ मा मान्यता दिएको थियो । अहिले सार्क चेम्बर अफ कमर्सको नेतृत्व पाकिस्तान चेम्बर अफ कमर्सले गरिरहेको छ । संस्थाले यो क्षेत्रमा लगानी भित्र्याउन सहजीकरणका साथै दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) कार्यान्वयनको पनि पहल गर्दै आएको थियो ।

यो क्षेत्रमा व्यापार बढाउन र कम विकसित मुलुकको व्यापार घाटा कम गर्ने उद्देश्यले सार्क राष्ट्रमा सन् २००६ देखि साफ्टा कार्यान्वयनमा आएको थियो । सार्क राष्ट्रबीच भएको साफ्टा सम्झौतामा कम विकसित मुलुकहरूले विभिन्न वस्तुमा भन्सारसहित अन्य सहुलियत प्राप्त गर्ने व्यवस्था छ ।

प्रकाशित : असार २५, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?