कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विराटनगर भन्सारको राजस्व असुली घट्यो

विराटनगर भन्सारमा प्रत्येक दिन १४ करोड उठ्ने गरेको राजस्व अहिले पाँच–सात करोडमा झरेको छ

विराटनगर — लकडाउनका बेला जोगबनी नाकाबाट आयात–निर्यात प्रभावित नभए पनि विराटनगर भन्सारको राजस्व असुली सामान्य अवस्थामा फर्कन सकेको छैन ।

विराटनगर भन्सारको राजस्व असुली घट्यो

सामान्य अवस्थामा दैनिक सरदर १४ करोड उठाउँदै आएको कार्यालयले पछिल्लो तीन सातादेखि दैनिक सरदर पाँच–सात करोड हाराहारीमा राजस्व असुली गरिरहेको छ । लकडाउनपछिका तीन महिनामा कार्यालयले ३ अर्ब ७४ करोड ६१ लाख रुपैयाँ राजस्व उठाएको छ ।

यस अवधिमा नाकाबाट १६ अर्ब ९७ करोड ६५ लाख मूल्यबराबरका सामान आयात र ३ अर्ब ३२ करोड ८ लाख मूल्यबराबरको निर्यात भएको भन्सारको तथ्यांक छ । भन्सारले चालु आर्थिक वर्षमा ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व लक्ष्य लिएकामा शनिबारसम्म ५५ दशमलव ३८ प्रतिशत अर्थात् २७ अर्ब ४९ करोड ५२ लाख २६ हजार रुपैयाँ मात्र उठाएको छ ।

औद्योगिक कच्चापदार्थ आयात हुने यो नाकाबाट लकडाउनयता त्यो पनि न्यून मात्रामा रहेकाले राजस्व असुली प्रभावित भएको भन्सार कार्यालयको बुझाइ छ । कार्यालयले चैतमा ४० करोड ४५ लाख ८२ हजार, वैशाखमा १ अर्ब ७ करोड ४४ लाख ९३ हजार र जेठमा २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ राजस्व असुली गरेको थियो । तीन सातायता नेपाल–भारत दुवैतर्फ लकडाउन केही खुकुलो भएपछि राजस्व असुली दर केही बढेको भन्सार अधिकृत गोपी उप्रेतीको भनाइ छ । यो अवधिमा दैनिक सरदर पाँचदेखि सात करोड राजस्व असुली हुने गरेको छ ।

पेट्रोलियम पदार्थ र एलपी ग्यास आयात हुँदा विराटनगर भन्सारको राजस्व बढ्ने उनले बताए । आयल निगमको भण्डारण क्षमता नहुँदा पछिल्लो समय पेट्रोलियम पदार्थको आयात एक–दुई दिन बिराएर हुने गरेको उनले जानकारी दिए । लकडाउनयता जोगबनी नाकाबाट मुख्यगरी पेट्रोलियम पदार्थ, सूर्यमुखी कच्चा तेल, रक्सीको कच्चापदार्थ, एलपी ग्यास, एमएस बिलेट, भटमासको कच्चा तेल, स्टिल वायर, खजुरको कच्चा तेल, सुपारी र प्लास्टिक सिट आयात भएको छ ।

प्रकाशित : असार २४, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?