कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटक पर्खिरहेछन् व्यवसायी

भन्छन्, ‘हाम्रा मुख्य ग्राहक विदेशी पर्यटक हुन्, उनीहरू नआएसम्म व्यवसाय चल्दैन ।’
नुमा थाम्सुहाङ

काठमाडौँ — ठमेलका हस्तकला व्यवसायी स्वप्निल महर्जनले लकडाउनयता व्यापार गर्न सकेका छैनन् । ठमेल, ज्याठास्थित चार वर्षदेखि हेरिटेज आर्ट एन्ड क्राफ्ट सञ्चालन गर्दै आएका उनले ‘वुडन मास्क’ (काठको मखुन्डो) बनाई बिक्री गर्छन् ।

सुनसान देखिएको काठमाडौंको ठमेल क्षेत्र । यहाँका केही पसल खुले पनि ग्राहक आएका छैनन् । तस्बिर : दीपक केसी

उनका मुख्य ग्राहक युरोप र अमेरिकाका पर्यटक हुन् । लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनले आफ्ना सामान पर्यटकलाई बेच्न पाएका छैनन् ।

‘नयाँ पर्यटक छैनन् । अन्तर्राष्ट्रिय उडान बन्द छ । यस्तो बेला आउन सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘विदेशी पर्यटकले नेपाली हस्तकलाका सामान मन पराउँछन् । हाम्रा मुख्य ग्राहक नै तिनै हुन् ।’ उनले काठका बुद्ध, हात्ती, ड्र्यागन, भैरव र गणेशका मुकुट बनाउँछन् । आफ्नो पसलमा न्यूनतम ४ सय ५० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्मका हस्तकलाका सामान भएको उनले जानकारी दिए ।

‘नोभेम्बर र डिसेम्बर महिना पर्यटक आउने मुख्य सिजन हुन् । अन्य समय अर्डर लिने र सामान पठाउने गर्थ्यौं,’ महर्जनले भने, ‘लकडाउनअघि महिनामा १० लाख रुपैयाँसम्म कारोबार हुन्थ्यो । अहिले पसलमा मोबाइल चलाएर बस्नुपरेको छ ।’ दिनभर पसलमा सरसफाइ, मुकुटहरूमा रङरोगन गर्ने र फिल्म हेरेर समय बिताइरहेको उनले बताए । ‘अहिले अनलाइन व्यापार राम्रो छ । मैले पनि कोसिस गरिरहेको छु,’ उनले थपे ।

ठमेलकै अर्का व्यवसायी सञ्जीव लामिछानेले ह्याम्पका सामग्री बनाउँछन् । उनले १८ वर्षदेखि क्रिएसन हेम्प सप चलाइरहेका छन् । उनले ह्याम्पका ब्याग, टोपीलगायत सामग्री बिक्री गर्छन् । उनका ग्राहक पनि विदेशी पर्यटक नै हुन् । होलसेलर व्यवसायी उनले युरोप, अस्ट्रेलिया र अमेरिकामा सामान निर्यात गर्ने गरेको जानकारी दिए । दिनको खुद्रा व्यापार २५ हजार र महिनाको १० लाख रुपैयाँबराबरका सामान बाहिर पठाउने गर्ने गरेकामा यति बेला खाली बस्नुपरेको उनको भनाइ छ ।

‘व्यापार ठप्प छ । स्टक सामानबाट काम चलाइरहेका छौं,’ उनले भने, ‘विदेशी पर्यटकलाई लक्ष्य गरेर हामीले सामान बनाएका हुन्छौं । त्यसैले व्यापार गर्न विदेशी नै चाहिन्छ । आन्तरिक पर्यटकले यो व्यवसाय धान्दैन ।’ बिस्तारै सबैको आर्थिक अवस्था सुधार हुँदै गएपछि पहिला जस्तै राम्रो व्यापार गर्न सकिने आशा पलाएको उनले बताए ।

ठमेलमै ३० वर्षदेखि ओकिल ह्यान्डी क्राफ्ट सेन्टर सञ्चालन गर्दै आएका सुनील खनालले पनि व्यापार नभएर समस्या भएको गुनासो गरे । नेपाली सुतीका कपडा बनाउने उनको आफ्नै गार्मेन्ट फ्याक्ट्री छ । गार्मेन्टले बच्चादेखि वृद्धवृद्धासम्मका सबै उमेरसमूहलाई मिल्ने खालका कपडा उत्पादन गर्छ । ‘व्यापार नभएपछि कर्मचारी पाल्न नि समस्या छ । पसलमा स्टक सामान मिलाएर बसिरहेका छौं,’ उनले भने, ‘मानिस सबै गाउँ गएका छन् । यहाँकैलाई सामान बेचेर व्यापार धानिँदैन । बाहिरबाट मानिस आउनुपर्छ ।’ लकडाउन सुरु भएपछि अनलाइनबाट कपडा बेच्न थालिएको उनले जानकारी दिए । लकडाउनमा घरमा खाली बस्नुभन्दा व्यापार हुने आसले पसल खोल्ने गरेको उनको भनाइ छ ।

ठमेल सातघुम्ती चोकस्थित ओम गणेशा ह्यान्डी क्राफ्टकी सञ्चालक कमला शिवाकोटीले बिट्स माला, ब्रासलेट बनाउने र बिक्री गर्छिन् । उनले पनि विदेशी पर्यटकमा भर परेका ठमेलका व्यवसायी अहिले समस्यामा परेको बताइन् । लकडाउनअघिसम्म दिनको १५ हजार रुपैयाँसम्म व्यापार गर्ने गरेकामा अहिले खाली बस्नुपरेको उनको गुनासो छ ।

‘दिनभर खाली भएको समयमा नयाँ मालाका डिजाइन बनाउने गरेका छौं,’ उनले भनिन्, ‘लकडाउनपछि व्यवसाय अलिक राम्रो हुन्छ जस्तो लाग्छ । घरभित्र धेरै दिन थुनिएर बस्दा मानिसलाई बाहिर घुम्ने रहर हुन्छ ।’ अन्तर्राष्ट्रिय उडान सहज भए पर्यटक आउने वातावरण हुने उनले सुनाइन् ।

विदेशी पर्यटकहरूले नेपाली हस्तकलाका सामग्री बढी मन पराउँछन् । नेपाली हातले बनेका फेल्ट, मूर्ति, थाङ्का, काठका वस्तु, नेपाली कपडालगायत सामग्री उनीहरूको रोजाइमा पर्ने गर्छन् । नेपालबाट आफ्नो देश फर्किंदा चिनोस्वरूप उनीहरूले यी सामान किन्ने गरेका हुन् । पर्यटकको चहलपहल भइरहने ठमेलमा फाट्टफुट्ट मात्र ह्यान्डी क्राफ्टका पसल खुलेका छन् । खुलेकामा पनि ग्राहक छैनन् ।

ठमेल क्षेत्रमा नेपाली हस्तकला र अन्य गरेर १० हजार व्यवसायी छन् । तीमध्ये २ सय ७० व्यवसायी विस्थापित भइसकेका ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ । विदेशी पर्यटकले धानेको व्यवसाय अहिले नाजुक अवस्थामा पुगेको उनीहरूको भनाइ छ । व्यवसाय सुध्रिन अन्तर्राष्ट्रिय उडान सहज हुनुपर्ने उनीहरू बताउँछन् ।

प्रकाशित : असार २३, २०७७ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामै २ सय ३९ संक्रमित

एकै दिन थपिए ५४ जना, राजधानीका चारै कोरोना अस्पताल भरिए
स्वरूप आचार्य, मकर श्रेष्ठ

काठमाडौँ — इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को कन्ट्याक्ट ट्रेसिङ कन्ट्रोल रुम सोमबार बिहान निकै व्यस्त थियो । एउटा कोठामा देशभरका संक्रमितको विवरण बटुलिंदै थियो भने अर्कोमा काठमाडौं उपत्यकामा कोरोना पोजिटिभ देखिएकालाई सम्पर्क गरेर विवरण टिपिँदै थियो । संक्रमितको ट्रेसिङ गरिरहेका दुई जना निकै तनावमा देखिन्थे । काठमाडौं उपत्यकामा आइतबार ३० जनामा संक्रमण पुष्टि भएको थियो ।

उपत्यकामा समुदायमा संक्रमण फैलिएको आशंकामा बस्ती–बस्तीमा नमुना स्वाब संकलन गर्ने क्रममा सोमबार शंखमूल क्षेत्रमा निकालिएको स्वाब र , राजधानीमा बढ्दै गएको संक्रमित संख्याको ग्राफ ।

उनीहरू प्रयोगशालाहरूबाट प्राप्त फोन नम्बरमा संक्रमितलाई फोन गरिरहेका थिए । तर कसैको फोन अफ हुन्थ्यो त कसैले उठाउँदैनथे । ‘हामीले हिजो संक्रमित देखिएका सबैलाई सम्पर्क गरेका थियौं, एक–दुई जनाले हामीले सम्पर्क गरेपछि फोन अफ गर्नुभयो । उहाँहरूलाई अहिले पनि सम्पर्क गर्ने कोसिस गरिरहेका छौं,’ एक कन्ट्याक्ट ट्रेसरले भने, ‘ट्रेसिङको सबैभन्दा गाह्रो पाटो भनेकै संक्रमितलाई अस्पतालको आइसोलेसनसम्म ल्याउनु हो ।’

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना गरी उपत्यकामा हालसम्म २ सय ३९ जना संक्रमित छन् । सोमबार मात्रै काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना गरी ५४ नयाँ संक्रमित थपिएका हुन् । ईडीसीडीका अनुसार सोमबार अपराह्नसम्म १ सय ५३ संक्रमित आइसोलेसनमा छन् । तीमध्ये केहीको आईसीयूमा भर्ना गरेर उपचार भइरहेको छ । ललितपुरमा १ र काठमाडौंमा १ जनाको मृत्यु भएको छ । सोमबार संक्रमण पुष्टि भएका ५४ जना र आइतबार पुष्टि भएका २ जनालाई सोमबार रातिसम्म अस्पताल ल्याइएको छैन ।

अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३२ जना, पाटन अस्पतालमा ४६ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ५७ जना, दुवाकोटको केएमसी अस्पतालमा १८ जना संक्रमित रहेको ईडीसीडीले जानकारी दिएको छ । पाटन अस्पताल स्रोतका अनुसार ४५ शय्याको कोभिड युनिट भरिएको छ । आइसोलेसनमा समेत ८९ जना शंकास्पद बिरामीलाई भर्ना गरेर राखिएको छ । ‘संक्रमितहरूले फोन गरेर हामी कहाँ जाने भनेर सोध्छन्, हामीसँग खाली बेड नै छैन,’ अस्पताल स्रोतले भन्यो, ‘मन्त्रालयको हटलाइनमा फोन गरेर सोध्नुस् भन्नुको हामीसँग पनि अर्को विकल्प छैन ।’

टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जनरल बेड भरिएपछि आईसीयूमा भर्ना गरेर उपचार भइरहेको बताए । उनका अनुसार आईसीयूमा आठ जनालाई भर्ना गरिएको छ । एक सातायता उपत्यकाका तीनै जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि ईडीसीडीमा कन्ट्याक्ट ट्रेसिङको जिम्मा पाएकाहरूको व्यस्तता निकै बढेको छ । ईडीसीडीका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार काठमाडौंमा केही समययता जिल्लाबाट आउने तथा विदेशबाट आउनेको संख्यासँगै संक्रमितको संख्या पनि बढेको हो । ‘अहिले पनि संक्रमितको विश्लेषण गर्दा अधिकांश संक्रमण विदेशबाट भित्रिएको देखिन्छ,’ उनले भने, ‘केही स्थानमा लोकल ट्रान्समिसन पनि छ तर समुदायमै गइसक्यो भनेर ठोकुवा गर्न मिल्ने अवस्था छैन ।’ उनका अनुसार वाग्मती र गण्डकी प्रदेशको अहिलेको अवस्था भनेको ‘स्प्रोडिक केसस’ (छिटपुट) को हो भने अन्य प्रदेशलाई ‘क्लस्टर अफ केसस’ (समूहगत रूपमा) मा राखिएको छ ।

उनका अनुसार काठमाडौं उपत्यका कोरोना संक्रमणको नयाँ ‘हटस्पट’ बन्ने जोखिम बढ्दै गएको छ । सोमबार थपिएको संख्याले उनको दाबीलाई थप बल मिलेको छ । त्यसमा पनि उपत्यकाका विभिन्न १२ स्थानमा ‘ट्राभल हिस्ट्री’ (यात्राको इतिहास) नै नभएका १२ जनामा संक्रमण देखिएको पुष्टि भएपछि ईडीसीडीलाई कतै समुदायमै पो संक्रमण पुगिसक्यो कि भनेर थप तनाव थपिएको छ । ‘अहिलेसम्म उपत्यकामा समुदायमा संक्रमण पुगेको छ/छैन यकिन गर्न सक्ने अवस्था छैन,’ डा. पाण्डेले भने, ‘हामीले ट्राभल हिस्ट्री नदेखिएका संक्रमित भेटिएका स्थानबाट करिब एक सय जनाको हाराहारीमा थ्रोट स्वाब संकलन गरेर परीक्षण गर्न थालेका छौं । सबै १२ स्थानमा परीक्षण सकिएपछि अवस्था के हो भन्ने थाहा होला ।’

महाशाखा प्रमुख डा. पाण्डेका अनुसार काठमाडौंको तीनकुने, कपन, खुसिबु, कागेश्वरी, मैतीदेवी, टोखा, कोटेश्वर र शंखमूल, ललितपुरको नख्खु र प्यूटार तथा भक्तपुरको भोलाछें र बोडेबाट नमुना संकलन गर्ने कार्य सुरु गरिएको छ । जसअन्तर्गत तीनकुने, नख्खु र कोटेश्वरबाट नमुना संकलन गरेर परीक्षणसमेत भइसकेको छ । त्यसमा सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै टोखाको रिपोर्ट आउन बाँकी नै छ भने शंखमूल र बोडेबाट सोमबार नमुना संकलन गरिएको छ । डा. पाण्डेका अनुसार अन्य बाँकी स्थानबाट पनि छिट्टै नमुना संकलन गर्ने व्यवस्था मिलाइँदै छ ।

यसरी ट्राभल हिस्ट्री नै नभई संक्रमित भएकाहरूमा सानोमा ४ वर्षीया बालिकादेखि ठूलोमा ६५ वर्षीया महिलासम्म छन् । तीमध्ये ४, ५ १४ र १८ वर्षका बालबालिका १–१ जना, २२ वर्षका २ जना, २५, ३२, ३४, ३५, ४५ र ६५ वर्षका १–१ जना छन् ।

‘आजै हामीले गंगालाल अस्पतालबाट पनि फ्रन्टलाइनमा बसेर काम गर्ने ५० जना स्वास्थ्यकर्मीको पनि नमुना संकलन गरेका छौं,’ डा. पाण्डेले भने । उनका अनुसार हालसम्म उपत्यकाका अस्पतालमा आइसोलेसनमा रहेका संक्रमितमध्ये लगभग सबै जनामा कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन । १२ स्थानबाहेक पनि पुन: थप केही स्थानमा ट्राभल हिस्ट्रीबिनाका संक्रमित फेला परेको उनले बताए । ‘हामी उपत्यकाका यी १२ स्थानबाहेकका अन्य केही स्थानबाट पनि थ्रोट स्वाबको नमुना संकलन गरेर परीक्षण गर्छौं,’ उनले भने, ‘त्यसपछि उपत्यकाको वास्तविक अवस्था छर्लंग हुन्छ ।’

डा. पाण्डेको भनाइमा काठमाडौं उपत्यकाको मात्रै नभई ईडीसीडीले देशभर नै संक्रमणको अवस्था के छ भनेर जान्नका लागि सेरोप्रिभेलेन्स सर्भे गर्दै छ । ‘हामीले इम्युनोएस्सेको ईएलआईएसए विधिबाट देशभर नै एन्टिबडी परीक्षणसमेत गर्दै छौं,’ उनले भने, ‘त्यसमा लगभग ४५ हजार जनाको परीक्षण गर्ने लक्ष्य लिएका छौं । त्यसपछि देशभरकै वास्तविक अवस्था थाहा हुनेछ ।’

१० दिनमा तीन गुणा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १० दिनअघि कोरोना संक्रमितको संख्या ७८ जना मात्रै थियो । सोमबार यो संख्या तीन गुणा (२ सय ३९) पुगेको छ । तीमध्ये १ सय १३ जना महिला र १ सय २६ जना पुरुष छन् ।

तीनै जिल्लामा पछिल्लो एक सातामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १५ सम्म ९२ जना संक्रमित रहेकामा १६ गते १ सय ६ जना पुग्यो । १७ गते १ सय २३ संक्रमित थिए भने १८ गते यो संख्या बढेर १ सय ५५ पुग्यो । आइतबार १ सय ८५ जना संक्रमित रहेकामा सोमबार २ सय ३९ पुगेको छ ।

देशमा पहिलोपटक कोराना देखिएको युवालाई पनि काठमाडौंकै तथ्यांकमा समावेश गरिएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ मा नेपाल आएकी मैतीदेवीकी एक युवतीमा चैत ९ मा कोरोना देखिएको थियो । उनी मुलुककै दोस्रो संक्रमित हुन् । उनलाई कोरोना देखिएलगत्तै चैत ११ देखि सरकारले देशमा लकडाउन घोषणा गरेको थियो । वैशाख ३० मा कञ्चनपुरबाट आएकी एक महिलामा कोरोना पुष्टि भएको थियो । त्यही दिन सुनसरीबाट आएकी एक युवती र नेकपाका नेता भीम रावलका सुरक्षामा खटिने सशस्त्र प्रहरी जवानलाई कोरोना देखिएको थियो । वैशाख ३० सम्म संक्रमितको संख्या सात जना मात्रै थिए । जेठ १५ मा संक्रमितको संख्या २४ जना पुग्यो । जेठ अन्तिममा भने संक्रमितको संख्या ३९ मा सीमित रहेकामा असार १३ मा ८३ जना भयो ।

यसरी काठमाडौं उपत्यकामा देखिएको संक्रमितको तथ्यांक केलाउँदा असार १६ देखि मात्रै तीन अंकले बढेको देखिन्छ । भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा संक्रमित दर पनि बढी छ । असार १६ मा ७२ जना संक्रमित रहेकामा १८ मा १ सय १० पुगेको थियो । काठमाडौंमा आइतबार संक्रमितको संख्या १ सय ३७ थियो । सोमबार यो संख्या बढेर १ सय ६१ पुगेको छ । ललितपुरमा जेठ ६ मा कन्ट्याक्ट ट्रेसिङमै खटिएका चिकित्सकलाई संक्रमण देखिएको थियो । भक्तपुरमा भने सुनसरीबाट आएर ठिमीमा साथीको कोठामा बसेकी युवती र सशस्त्र प्रहरीको जवानलाई पहिलो पटक कोरोना देखिएको थियो ।

२१–३० वर्षका बढी संक्रमित

मन्त्रालयका अनुसार देशभरका संक्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका बढी छन् । सोमबारसम्म संक्रमित १५ हजार ९ सय ६४ संक्रमितमध्ये ५ हजार ९ सय ४३ जना २१ देखि ३० वर्ष उमेर समूहका छन् । काठमाडांै उपत्यकामा पनि यही उमेर समूहका संक्रमित बढी छन् ।

कान्तिपुरलाई प्राप्त तथ्यांकअनुसार उपत्यकामा १० वर्ष उमेर समूहका ७ जना, ११ देखि २० वर्षका ९ जना रहेका छन् । यस्तै २१ देखि ३० वर्ष उमेर समूहका ४७ महिला तथा ३७ जना पुरुष छन् । यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका ३५–३५ जना महिला र पुरुष छन् । ४१ देखि ५० वर्ष उमेर समूहका १८ जना महिला तथा २२ जना पुरुष, ५१ देखि ६० वर्ष उमेर समूहका २ जना महिला तथा १३ जना पुरुष, ६१ देखि ७० वर्ष उमेर समूहका ३ महिला तथा ६ पुरुष, ७१ देखि ८० वर्ष उमेर समूहका १ महिला, ८० वर्षमाथिका २ महिला र २ पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : असार २३, २०७७ ०६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×