१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रसुवागढी नाकाबाट आयात पुनः सञ्चालन

चिनियाँ पक्षले सोमबार बिहान केरुङबाट ४ कन्टेनर सामान मितेरी पुलसम्म ल्याइदिएको छ
बलराम घिमिरे

रसुवा — साढे पाँच महिनादेखि आयात–निर्यात ठप्प भएको रसुवागढी नाका सोमबार पुनः सञ्चालनमा आएको छ । कोभिड–१९ का कारण माघ १५ देखि नै रसुवागढी नाकाबाट आयात–निर्यात तथा आवतजावत ठप्प थियो ।

रसुवागढी नाकाबाट आयात पुनः सञ्चालन

त्यसअघि पनि ल्होसार पर्व, पहिरो र हिमपातका कारण केही दिन आयात–निर्यात रोकिएको थियो । नाका सोमबार बिहान सञ्चालनमा आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । ‘चिनियाँ पक्षले सोमबार बिहान केरुङबाट ४ कन्टेनर सामान मितेरी पुलसम्म ल्याइदिएको छ,’ उनले भने । उताबाट आएका सामान यता १० देखि १२ कन्टेनरमा राखिनेछन् । चीनबाट आएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडालगायत रहेको र तिनलाई मितेरी पुलमा नेपाली कन्टेनरमा लोड गर्ने काम भइरहेको खड्काले बताए ।

उनका अनुसार चीनबाट अब दैनिक ४ कन्टेनर सामान आउनेछ । सामान लोड तथा अनलोड गर्न १५ कामदार र ढुवानी गर्न १५ जना चालक गरी ३० जना नाकामा खटिएका छन् । चालक र कामदारको दैनिक स्वास्थ्य परीक्षण गरिनेछ ।

मितेरी पुलसम्म आइपुगेको सामान १५ जना कन्टेनर चालकले पालैपालो पुनः ढुवानी गरेर भन्सार यार्डसम्म पुर्‍याउने काम गर्छन् । भन्सार यार्डबाटै सामानको जाँचपास हुने रसुवा भन्सार कार्यालयले जनाएको छ । सामानको जाँचपासपछि अन्य चालकले सामान सम्बन्धित ठाउँसम्म लैजानेछन् । टिमुरेभन्दा माथि कन्टेनर चालक, कामदार, सुरक्षाकर्मी र कर्मचारीबाहेक अन्यलाई जान रोक लगाइएको छ ।

सुरक्षित तरिकाले सामान आयात गर्ने विषयमा दुवै देशका सीमामा जोडिएका जिल्लाका समकक्षीहरूबीच असार १० गते मितेरी पुलमा छलफल भएको थियो । रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किलोमिटर छ । आयात–निर्यात ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको प्रमुख भन्सार अधिकृत खड्काले बताए । ‘दैनिक करोडौं राजस्व संकलन हुने रसुवा भन्सार कार्यालयको चैत, वैशाख र जेठ महिनाको राजस्व संकलन शून्य भएको छ,’ उनले भने । यो नाकाबाट मुख्य गरी ५ वटा मालवस्तु पैठारी भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २२, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?