१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फेसबुकसँग सम्बन्ध तोड्दै बहुराष्ट्रिय कम्पनी

३ सयभन्दा बढी कम्पनीले विज्ञापन नदिने घोषणा गरिसक्दा फेसबुकका मालिक मार्क जुकरबर्ग भने अभिव्यक्ति स्वतन्त्रता भन्दै आरोपको बचाउ गरिरहेका छन्

काठमाडौँ — यति बेला संसारभरका ठूला ब्रान्ड र कम्पनीले फेसबुकलाई विज्ञापन नदिने घोषणा गरेका छन् । कसैले एक महिना त कसैले अनिश्चितकालका लागि विज्ञापन नदिने भनिरहेका छन् ।

फेसबुकसँग सम्बन्ध तोड्दै बहुराष्ट्रिय कम्पनी

स्टप हेट फर प्रफिट (नाफाका लागि घृणा नफैलाऊ) नामक अभियानप्रति ऐक्याबद्धता जनाउँदै संसारभरका तीन सयभन्दा बढी ब्रान्ड र कम्पनीले फेसबुकलाई विज्ञापन नदिने घोषणा गरिसकेका छन् ।

विभिन्न नागरिक अधिकारसम्बन्धी संघसंस्थाहरूले संयुक्त रूपमा स्टप हेट फर प्रफिट नामक अभियानको सुरुवात गरेका छन् । जति माग गर्दा पनि आफ्नो प्लेटफर्ममार्फत फैलिने घृणात्मक अभिव्यक्ति रोक्न ठोस काम नगरेको भन्दै फेसबुकलाई दबाब दिन यो अभियान सुरु भएको हो । फेसबुकसँग सम्बन्ध तोड्ने सूचीमा स्टारबक्स, कोकाकोला, युनिलिभर, भाइबरजस्ता संसार प्रसिद्ध ब्रान्ड पनि छन् । यी कम्पनीले विज्ञापन नदिँदा फेसबुकको आम्दानीमा गम्भीर धक्का पुग्न सक्छ । स्टारबक्सले मात्र सन् २०१९ भरमा फेसबुकमा करिब १० करोड अमेरिकी डलर बराबरको विज्ञापन दिएको थियो ।

अभियानमा संलग्नहरूले घृणात्मक अभिव्यक्ति रोक्न फेसबुकले गर्नुपर्ने १० वटा माग पनि राखेका छन् । अमेरिकामा प्रहरी ज्यादतीमा ४६ वर्षीय जर्ज फ्लोयड मारिएपछि रंगभेदविरुद्धको आन्दोलन चर्किरहेका बेला फेसबुकविरुद्धको यो अभियान सुरु भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिने घृणात्मक अभिव्यक्तिसहित अमेरिकामा आप्रवासी र काला जातिलाई घृणा गर्ने व्यक्तिहरूले फेसबुकमार्फत घृणात्मक अभिव्यक्ति फैलाउँदा पनि रोक्न नसकेको भन्दै यो अभियान थालिएको हो । संसारका धेरै ब्रान्डले फेसबुकलाई विज्ञापन नदिँदा फेसबुकमाथि दबाब पर्ने र उसले घृणात्मक अभिव्यक्ति रोक्न ठोस कदम चाल्ने विश्वास छ । फेसबुकले भने आफूले घृणात्मक अभिव्यक्ति रोक्न सक्दो पहलकदमी गरिरहेको दाबी गर्छ ।

फेसबुकले सन् २०२० को पहिलो तीन महिनामा मात्रै घृणा फैलाउने खालका १ करोड पोस्ट हटाएको दाबी गरेको छ । तर अभियानले भने गलत जानकारी र घृणात्मक अभिव्यक्ति फैलिन नदिन फेसबुक उत्तरदायी बन्नुपर्ने बताएको छ । यसका लागि फेसबुकले यो विषयमा दक्ष व्यक्तिलाई कार्यकारी पदमा नियुक्त गर्नुपर्ने, तेस्रो पक्षबाट यसका पोस्ट सम्परीक्षण गराउनुपर्ने, घृणा फैलाउने सार्वजनिक र निजी ग्रुप निष्क्रिय पार्नुपर्नेलगायत १० बुँदे माग राखेको छ ।

फेसबुकमार्फत फैलिएको घृणात्मक अभिव्यक्तिका कारण सन् २०१७ मा म्यानमारमा मुस्लिम धर्म मान्ने रोहिङ्ग्या अल्पसंख्यकमाथि नरसंहार भएको र सन् २०१९ मा एक बन्दुकधारीले फेसबुकमा लाइभ स्ट्रिम गर्दै न्युजिल्यान्डको एक चर्चमा अन्धाधुन्दा गोली चलाएका थिए ।

फेसबुकको प्रयोगमार्फत यस्ता घटना हुँदा पनि रोक्न नसकेको भन्दै यो अभियान सुरु भएको हो । अभियानले जुन १७ मा संसारभरका कम्पनी र ब्रान्डलाई यही कारण देखाउँदै फेसबुकसँग सम्बन्ध तोड्न आग्रह गरेको थियो ।

फेसबुकले घृणात्मक अभिव्यक्ति रोक्न नसकेको आरोप लागिरहँदा ट्वीटरले गरेको प्रयासको भने धेरैले प्रशंसा गरिरहेका छन् । ट्वीटरले अमेरिकी राष्ट्रपति ट्रम्पदेखि धेरै राजनीतिज्ञले दिने घृणात्मक अभिव्यक्तिलाई हटाउनेदेखि चेतावनी दिनेसम्मका काम गरिरहेको छ ।

फेसबुकले घृणात्मक अभिव्यक्ति रोक्नुपर्ने आवाज कम्पनीभित्रकै कर्मचारीले पनि उठाएका छन् । अमेरिकी राष्ट्रपतिले गर्ने कतिपय पोस्ट नहटाएको भन्दै कम्पनीभित्रै विरोध भएका समाचार प्रकाशित भएका थिए ।

सूचना प्रविधिसम्बन्धी वेबसाइट दी भर्जअनुसार फेसबुकका मालिक मार्क जुकरबर्गले एउटा भाषणमा घृणात्मक अभिव्यक्ति भनेर पोस्ट हटाउँदा पनि निष्पक्ष हुन नसकिने अभिव्यक्ति दिएका थिए । घृणात्मक अभिव्यक्ति र गलत जानकारी भन्दै पोस्ट हटाउन थाल्ने हो भने यसले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्ने उनको धारणा छ ।

अमेरिकामा रंगभेदविरुद्ध आन्दोलनमा प्रहरी दमन चलिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले जब लुट सुरु हुन्छ तब बन्दुक पड्किन्छ भन्ने खालको आशयसहितको पोस्ट गरेका थिए । यो पोस्टले हिंसा भड्काउने भन्दै यसलाई फेसबुकबाट हटाउनुपर्ने माग उठेको भए पनि फेसबुकले भने हटाउन मानेको थिएन । ट्वीटरले भने ट्रम्पका कतिपय ट्वीटलाई गलत जानकारी, घृणात्मक अभिव्यक्ति भनी लेबल लगाउने गरेको छ ।

प्रकाशित : असार २२, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?