एक व्यक्तिलाई दुई सिम मात्रै

काठमाडौँ — अब एउटा दूरसञ्चार सेवा प्रदायकले एकै व्यक्तिका नाममा दुईभन्दा बढी सिमकार्ड जारी गर्न नपाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले आइतबार यससम्बन्धी निर्णय गरेको हो ।

एक व्यक्तिलाई दुई सिम मात्रै

सोहीअनुसार सेवा प्रदायकलाई निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

निर्देशन तत्काल कार्यान्वयन हुनेछ । ‘अब कुनै व्यक्तिका नाममा दुई वा सोभन्दा बढी सिमकार्ड जारी भइसकेको छ भने उसले अर्को सिम लिन पाउनेछैन,’ उनले भने, ‘यसअघि जारी भइसकेको सिमकार्डका विषयमा प्राधिकरणले सेवा प्रदायकसँग छलफल गर्छ ।’ यसअघि एकै व्यक्तिका नाममा दुईभन्दा बढी सिमकार्ड जारी भएको पाइए त्यसलाई के गर्ने भन्ने विषयमा प्राधिकरणले छिट्टै सेवा प्रदायकसँग छलफल गर्ने अर्यालले जानकारी दिए ।

प्राधिकरणले सेवा प्रदायकसँग दुई वा दुईभन्दा सिमकार्ड लिनेको संख्या कति छ भनेर तथ्यांक माग गर्ने र छलफल गर्ने उनको भनाइ छ । नेपाल टेलिकमको हकमा भने एकै व्यक्तिका नाममा तीनवटा सिम जारी गर्न पाइनेछ । टेलिकमको जीएसएम सेवातर्फ दुई वटा सिम र सीडीएम सेवातर्फ थप एक सिम जारी गर्न पाइने व्यवस्था गरिएको प्रवक्ता अर्यालले बताए । सिमकार्डमा आधारित भएर बैंकिङ कारोबार गरिने भएकाले उपभोक्ताको सुरक्षाका लागि पनि एकै व्यक्तिका नाममा धेरै सिम जारी गर्न नपाइने गरी निर्देशन दिइएको उनले जानकारी दिए ।

प्रकाशित : असार २२, २०७७ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?