नागढुंगा सुरुङलाई विस्फोटक ल्याउन स्वीकृति
काठमाडौँ — नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माण आयोजनाले माग गरेको करिब ९ महिनामा भारतबाट विस्फोटक पदार्थ ल्याउने स्वीकृति पाएको छ ।
गत असोजमा विस्फोटक पदार्थ ल्याउन पाऊँ भन्दै आयोजनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत रक्षा मन्त्रालयमा स्वीकृति मागेको थियो । रक्षाले सेनालाई पठाए पनि त्यहाँबाट स्वीकृति पाउन ढिलाइ भएको आयोजनाले जनाएको छ ।
विस्फोटक पदार्थका लागि शुक्रबार मात्र स्वीकृति पाएर परराष्ट्र मन्त्रालयमा पठाइएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए । ‘अब पराराष्ट्रले भारतीय दूतावासलाई पत्र लेख्नेछ,’ उनले भने, ‘दूतावासले भारतको विदेश मन्त्रालय हुँदै प्रक्रिया अघि बढाउँछ । विस्फोटक पदार्थ आउन अब तीन महिना लाग्छ ।’
९ सय टन विस्फोटक पदार्थ निर्माणमा प्रयोग हुनेछ । त्यति पूरै परिमाणमा विस्फोटक ल्याउन भने स्वीकृति नपाइएको प्रमुख थापाले जानकारी दिए । ‘आफूले उत्पादन गरेको विस्फोटक पदार्थ उच्च गुणस्तरको छ भन्ने सेनाले दाबी छ । उसले त्यसैलाई प्रयोग गर्न भनेको छ,’ उनले भने, ‘गुणस्तरीय विस्फोटक पदार्थ सेनाले उत्पादन गरे उताबाट थप नल्याउने कुरा भएको छ ।’ सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ गुणस्तरीय छ/छैन भन्नेबारे परीक्षण गरिनेछ ।
‘९ सयमध्ये ३ सय टन भारतबाट ल्याएर काम सुरु गर्नेछौं,’ थापाले भने, ‘यसले ८ महिना पुग्नेछ ।’ भारतबाट विस्फोटक पदार्थ ल्याएर सुरुङको काम थालेको एक/डेढ महिनाभित्र सेनाले उत्पादन गरेको विस्फोटक पदार्थको पनि परीक्षण गरिनेछ । परीक्षण सफल भए सबै विस्फोटक सेनाबाटै लिइनेछ । दसैंपछि सुरुङको काम सुरु गरिने उनले जानकारी दिए ।
सरकारले सुरुङमार्गअन्तर्गत धादिङतर्फ पर्ने श्री ५ को वायु गुठीका मोहीलाई ५० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरिसकेको छ । सुरुङमा काम सुरु भएको एक साता हुन लागेको थापाले बताए । अहिले काठमाडौं र धादिङ दुवैतर्फ निर्माणको काम जारी छ ।
‘६० जना कामदार मात्र फिल्डमा छन्,’ उनले भने, ‘बाहिरी जिल्लाबाट कामदार ल्याउँदा धुलिखेलबाट फर्काइदिएपछि समस्या भयो ।’ अहिले कामदार जुटाउन समस्या भएको छ । स्वास्थ्य सावधानी अपनाएर विभिन्न जिल्लाबाट कामदार जम्मा गरेर ल्याउँदा पनि स्थानीय तह र प्रहरीले फर्काइदिएपछि समस्या थपिएको उनको भनाइ छ ।
बर्दियाबाट आएका १० जना, धादिङको धुनीबेंसी नगरपालिका र काठमाडौंको चन्द्रागिरि नगरपालिकाका स्थानीयलाई जम्मा गरेर काम लगाइएको छ । धादिङतर्फ खोलालाई डाइभर्सन गर्ने र काठमाडौंतर्फ पहुँचमार्ग सम्याउने काम भइरहेको छ । यो आयोजना ४२ महिनाभित्र सक्ने गरी ठेक्का भएको हो । ‘लकडाउनले गर्दा ४ महिना कामै भएन,’ उनले भने, ‘अब ३/४ सय मजदुरबाट काम गर्न पाए गति बढ्ने थियो ।’ आयोजनाका लागि जापान गएका विज्ञ टोली पनि फर्किन पाएको छैन । १२ जना जापानीमध्ये ४/५ जना मात्र रहेको थापाले बताए ।
जापानी निर्माण कम्पनी हाज्मा एन्डोले ठेक्का लिएको सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ मा शिलान्यास गरेका थिए । २ दशमलव ६८ किमिको सुरुङमा जापानको साढे १६ अर्ब ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब नेपाल सरकारको लागत छ ।
प्रकाशित : असार २१, २०७७ ०८:३०