‘लाइसेन्स प्राप्त भुक्तानी प्रदायकसँग सहकार्य गर’

काठमाडौँ — लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक (गैरबैंकिङ संस्था) संस्थासँग मात्र सहकार्यको सम्झौता गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

‘लाइसेन्स प्राप्त भुक्तानी प्रदायकसँग सहकार्य गर’

केही बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट लाइसेन्स पाइनसकेका भुक्तानी सेवा प्रदायकसँग सहकार्यको सम्झौता गरेको सूचनाका आधारमा उक्त निर्देशन दिएको हो । यसको अर्थ राष्ट्र बैंकबाट अनुमति पाएका त्यस्ता कम्पनीसँग मात्र भुक्तानीका लागि सहकार्य गर्ने भन्ने हो ।

‘केही बैंक तथा वित्तीय संस्थाले भुक्तानीसम्बन्धी काम गर्न अनुमति नलिएका संस्थालाई समेत डिजिटल पेमेन्ट पार्टनरका रूपमा आबद्ध गरी भुक्तानी सेवा सञ्चालन गरेको जानकारी आएकोमा राष्ट्र बैंकको ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले भुक्तानीसम्बन्धी कामका लागि राष्ट्र बैंकबाट अनुमति पाएका त्यस्ता संस्थासँग मात्र सम्झौता गर्न सूचना जारी गरिएको छ ।’

हाल राष्ट्र बैंकले नौवटा भुक्तानी सेवा सञ्चालक र १४ वटा सेवा प्रदायकलाई लाइसेन्स प्रदान गरेको छ । यस्तै थप २० वटा संस्थाले लाइसेन्सका लागि आवेदन दिएका छन् । तीमध्ये केही संस्थाले बैंक तथा वित्तीय संस्थासँग विद्युतीय भुक्तानीका लागि सहकार्य गरिरहेका छन् । जब कि ती संस्थाले राष्ट्र बैंकबाट लाइसेन्स नलिई त्यस्तो कारोबार गर्न पाउँदैनन् । यही कारण राष्ट्र बैंकको भुक्तानी विभागले लाइसेन्स नभएका त्यस्ता कम्पनीसँग सहकार्य नगर्न बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको हो ।

प्रकाशित : असार २०, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?