नियमित हुन सकेन नेपाल लक्षित कार्गो रेल

चीनसँग अन्य पारवहन सम्झौता भए पनि तिनको कार्यान्वयन बाँकी छ
लक्ष्मी लम्साल

बेइजिङ — गत जेठ ९ मा चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरे पनि नियमित हुन सकेको छैन । करिब ८ दिनको लक्ष्य राखेर सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको रेलमा सिनोहाइड्रो ब्युरो, सिभिल हस्पिटल, नेपालस्थित चिनियाँ र नेपाली व्यवसायीहरूका अर्डरबमोजिमका सामान राखिएको थियो ।

नियमित हुन सकेन नेपाल लक्षित कार्गो रेल

काठमाडौंसम्म पुग्ने रेलको लिक नै नभएकाले यो कार्गो सिगात्सेसम्म रेलमा र त्यसपछि ट्रकमा हालेर काठमाडौंसम्म इन्टरमोडल प्रणालीअनुसार पुर्‍याइएको थियो । कार्गो रेल शुभारम्भ भएपछि अर्को रेल पठाइएको छैन । सन् २०१६ को मेमा लाञ्चौबाट काठमाडौंका लागि पहिलो पटक मालवाहक रेलमा सामान पठाइएको थियो । झन्डै ४ वर्षको अन्तरालमा लाञ्चौ कार्गो नम्बरले पनि जेठ दोस्रो साता बल्लतल्ल दोस्रो पटक मालवाहक रेल पठायो ।

सोही वर्ष क्वाङ्चौ–काठमाडौं मालवाहक रेल सेवा सुरु गरिएको थियो । कार्गो रेल चार–पाँच महिना चलाए पनि चीन सरकारले ‘सब्सिडी’ रोकेपछि त्यो पनि रोकिएको क्वाङ्चौस्थित सिनो नेपाल जयलक्ष्मी ट्रान्सपोर्टका सञ्चालक सञ्जय चेतानीले जानकारी दिए । चीन सरकारले यस्ता सेवाका लागि अनुदान दिने गरेकोमा त्यो बन्द गरेसँगै नेपाल लक्षित कार्गो रेल रोकिएको उनको भनाइ छ ।

कार्गो रेल चलाउनुअघि चिनियाँ डेलिगेसनले नेपालको भ्रमण गरेर वस्तुस्थिति अध्ययन गरेको उनले बताए । ‘यताबाट ल्हासा र नेपालका लागि सामान राख्दा कार्गो रेल भरिन्थ्यो । तर फर्किंदा खाली हुने भएकाले घाटाका कारण रोकिएको हुन सक्छ,’ उनले भने । नेपाल र चीनबीच भएको सहमतिअनुसार पछिल्लो पटक नेपालबाट थप केही सामानका लागि चीनको बाटो खुला भए पनि व्यवहारमा लागू नगरिएकाले कार्गो रेल रित्तै भएको उनको भनाइ छ । ‘नेपालबाट धेरै सामान निर्यातका लागि खुलाइएको त हो,’ चेतानीले भने, ‘तर व्यावहारिक कार्यान्वयन छैन, दस्तावेजमा मात्रै खुलेको छ ।’

कार्गो रेल सुरु भएपछि सातामा एक पटक यस्तो सेवा चलाउने योजना रहेको सिआन अन्तर्राष्ट्रिय व्यापार तथा लजिस्टिक पार्कका निर्देशक युआन स्याउच्युनले सुनाएका थिए । तर योजनाबमोजिम व्यापारिक मालसामानको परिमाण अपर्याप्त भएकाले यसले निरन्तरता पाउन सकेको छैन । ‘यातायात चुस्तता र खर्च कम गर्न सातामा एउटा कार्गो रेल चलाउने सोच हो,’ उनले भने, ‘तर वास्तविक बजार मागबमोजिम तालिका तय हुने हो ।’

यसअघि चीनसँग अन्य पारवहन सम्झौताहरू भए पनि तिनको प्रयोगात्मक कार्यान्वयन गर्न बाँकी नै छ । ०७६ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका बेला पारवहन सम्झौता कार्यान्वयनका लागि आवश्यक प्रोटोकलमा हस्ताक्षर भएको थियो । तर प्रोटोकलअनुसार नेपालले चिनियाँ बन्दरगाह हुँदै कुनै देशसँग व्यापारिक कारोबार नथालेकाले यसै अलपत्र छ । कार्गो रेलहरू नियमित हुन नेपालबाट पनि पर्याप्त अर्डर हुनुपर्ने बेइजिङस्थित कार्यवाहक नेपाली राजदूत सुशील लम्सालले बताए । ‘एउटा कार्गो रेल भरिएपछि मात्रै अघि बढ्ने भएकाले त्यतिसम्म कुर्न वा संगठित रूपमा नेपाली व्यापारीले सामान अर्डर गर्नुपर्ने हुन्छ,’ उनले भने ।

प्रकाशित : असार २०, २०७७ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?