साना सवारीसाधनमा छुटको प्रतिस्पर्धा

कम्पनीहरूले चारपांग्रे र दुईपांग्रे सवारी खरिदमा फाइनान्सिङ, मासिक किस्ता, नगद एवं कर छुट आदि योजना ल्याएर ग्राहक आकर्षित गर्दै छन्
विमल खतिवडा

काठमाडौँ — सवारीसाधन खरिदमा छुट पाउन प्रायः दसैंतिहार जस्ता मुख्य चाड कुर्नुपर्थ्यो । लम्बिँदो लकडाउन र आयअर्जनमा भइरहेको कमीले खरिदबिक्री ठप्पप्रायः भएपछि यसपटक कोभिड–१९ को असहज परिस्थितिमा समेत सवारीसाधन खरिदमा छुटको प्रतिस्पर्धा चलिरहेको छ ।

साना सवारीसाधनमा छुटको प्रतिस्पर्धा

चारपांग्रे साना सवारी र दुईपांग्रे मोटरसाइकल तथा स्कुटर खरिद गरे छुट दिन कम्पनीबीच तँछाडमछाड छ । सबैभन्दा बढी छुट दुईपांग्रे सवारीमा छ । लकडाउन खुकुलो भएसँगै असार पहिलो साताबाट मोटरसाइकल र स्कुटरमा धमाधम छुट अफर सार्वजनिक भइरहेका छन् ।

लकडाउनअघि नै आयातित साना गाडीको मौज्दात (स्टक) रहेकाले तिनलाई बिक्री गर्न पनि धेरैले छुट अफर ल्याएका हुन् । प्रायः कम्पनीले किस्ता पछि तिर्न पाउने गरी खरिदको स्किम ल्याएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलाल बताउँछन् ।

‘व्यापार राम्रो छैन,’ उनले भने, ‘सबै पसल सञ्चालनमा छैनन् । अहिले प्रायः कम्पनीले अनलाइनबाट अर्डर लिएर बिक्री गरिरहेका छन् ।’ स्टक घटाउन पनि यस्तो अफर ल्याइएको उनले जानकारी दिए । माघ–फागुनमा आयातित सवारीसाधन चैत–वैशाखमा बिक्री हुन्थ्यो । कोरोना संक्रमण कम गर्न सरकारले चैत ११ देखि लकडाउन गरेपछि फागुनसम्म आयातित सबै सवारी थन्किएर बसेका छन् । कोभिड–१९ को संक्रमणलगत्तै प्रायः सबैको आम्दानी घटेको छ । बिक्री छैन । केही महिनापछि स्थिति सामान्य होला र त्यसपछि किस्ता बुझाउन हुने प्रकृतिका स्किम सवारीसाधनमा छन् । ग्राहकलाई सवारीसाधन खरिदमा प्रोत्साहन गर्न सडक दस्तुर, बिमा, कर जस्ता शुल्कसमेत कम्पनीले नै व्यहोर्ने गरी योजना सार्वजनिक भइरहेका छन् ।

‘अझै केही गाडी भन्सारमै छन्,’ नाडाका सचिव अनुप बरालले भने । नयाँ आयात गर्ने कुरै छैन । सरकारबाट सहयोग भए पनि/नभए पनि व्यवसाय टिकाइराख्न र ग्राहकलाई सहुलियत दिन कम्पनीले नगद छुटको समेत व्यवस्था गरेको उनले बताए । ‘यो व्यापार मात्र होइन । ग्राहक र विक्रेताबीचको सम्बन्ध पनि हो,’ उनले भने ।

हिरोमा डाउन पेमेन्ट तिर्नु नपर्ने

हिरोका मोटरसाइकल र स्कुटर शून्य प्रतिशत अग्रिम भुक्तानी (डाउन पेमेन्ट) र ब्याजमा किन्न पाइन्छ । लकडाउन हुनु ५ महिनाअघि कम्पनीले यो योजना ल्याएको हो । जुन अहिले पनि कायम छ । शून्य प्रतिशत अग्रिम भुक्तानीको व्यवस्था मोटरसाइकल र स्कुटर दुवैमा छ । हिरोका ५ वटा मोडलका स्कुटरलाई लक्ष्य गरेर मात्र शून्य प्रतिशत ब्याजदरमा किस्ता लिने गरी स्किम ल्याइएको छ । अहिले बजारमा सवारीसाधन बिक्रीमा प्रतिस्पर्धा रहेको हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङका सिनियर म्यानेजर दिनेशरत्न वज्राचार्यले स्वीकारे । ‘ग्राहकलाई केही न केही राहत दिऔं भनेर यस्तो स्किम ल्याएका हौं,’ उनले भने, ‘ब्याज तिर्न नपरेपछि अवश्य राहत मिल्नेछ ।’

होन्डामा १ रुपैयाँ डाउन पेमेन्ट

होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले १ रुपैयाँ डाउन पेमेन्टमा मोटरसाइकल र स्कुटर लिन सकिने व्यवस्था गरेको छ । १ रुपैयाँ डाउन पेमेन्टमा कुनै संस्था ग्यारेन्टी बसे मोटरसाइकल तथा स्कुटर पाइने कम्पनीले जनाएको छ । यसका लागि दुई वर्षसम्म मासिक किस्ता १६ प्रतिशत ब्याजदरमा तिर्नुपर्ने कम्पनीका बिजनेस डेभलभमेन्ट म्यानेजर निजेनलाल श्रेष्ठले बताए । समयमै किस्ता तिरे तीन प्रतिशत ब्याज छुटको व्यवस्था रहेको उनको भनाइ छ । एउटा स्किममा तीन वटा विकल्प दिइएको छ । त्यस्तै एक रुपैयाँ मासिक किस्ता र एक प्रतिशत ब्याजमा होन्डाका मोटरसाइकल र स्कुटर किन्न पाइनेछ ।

३ महिनासम्म ४०, ६ महिनासम्म ५०, ९ महिनासम्म ६० र १ वर्षसम्म ७० प्रतिशत डाउपेमेन्ट गर्नुपर्ने श्रेष्ठले जानकारी दिए । यसो गर्दा मासिक किस्ता १ रुपैया तिरे पुग्छ । यसको ऋण अवधि दुई वर्ष र ब्याजदर १६ प्रतिशत रहनेछ । १ प्रतिशत ब्याजमा लिँदा यसको ऋण अवधि १ वर्षको हुनेछ ।

बजाजमा १२ हजार छुट

बजाज कम्पनीका मोटसाइकल खरिदमा १२ हजार नगद छुटको व्यवस्था गरिएको बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज एन्ड हुलासचन्द्र कम्पनीका सहायक महाप्रबन्धक पुनम सिंहले बताइन् । ‘कसैसँग कम पैसा छ भने २० प्रतिशत डाउन पेमेन्ट गर्न पाइयो,’ उनले भनिन्, ‘५० प्रतिशत डाउन पेमेन्ट गर्दा शून्य प्रतिशत फाइनान्समा सवारी लिन पाइन्छ ।’ कोभिड नियन्त्रणमा प्रत्यक्ष खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले थप छुट पाउनेछन् ।

यमाहाको सबै प्रडक्टमा अफर

यमाहाका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले सबै प्रोडक्टमा अफर ल्याएको छ । मोटरसाइकल र स्कुटर किन्दा १० हजार नगद छुट पाइने यमाहा नेपालका मार्केटिङ प्रमुख विक्रम पौडेलले जानकारी दिए । ‘यसमा दुई थरीको फाइनान्स सुविधा छ,’ उनले भने, ‘शून्य प्रतिशत अग्रिम भुक्तानी र शून्य प्रतिशत ब्याजको व्यवस्था छ ।’ शून्य प्रतिशत डाउन पेमेन्टको हकमा सर्त लागू हुनेछन् । ‘२० देखि २५ प्रतिशतसम्मको डाउन पेमेन्टको सुविधा दिएका छौं,’ उनले भने, ‘ग्राहकले अग्रिम भुक्तानी र ब्याजदरमा सहुलियत पाउनेछन् ।’ यसमा १८, २४ र ३६ महिनासम्मको स्किमको व्यवस्था हुनेछ । मोटरसाइकल र स्कुटरका सबै मोडलमा यो अफर छ ।

सुजुकीमा १५ हजारसम्म छुट

सुजुकीको आधिकारिक विक्रेता भीजी सुजुकी अटोमोबाइल्सले ‘उतारचढाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ भन्ने नाराका साथ छुट योजना ल्याएको छ । सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिदमा १५ हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था छ । एक्सचेन्ज र फाइनान्सको सुविधासमेत रहेको कम्पनीले जनाएको छ । कम्पनीले पुराना तथा चालु अवस्थाका कुनै पनि मोटरसाइकल एक्सचेन्जका साथै फाइनान्स सुविधा उपलब्ध गराउनेछ । असार ३१ सम्म यो योजना रहनेछ ।

टीभीएसको शून्य प्रतिशत ब्याज

टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक वितरक जगदम्बा मोटर्सले शून्य प्रतिशत डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल र स्कुटर लिने व्यवस्था गरेको छ । ग्राहकले मोटरसाइकलमा १२ हजार र स्कुटरमा १० हजार नगद छुट पाउनेछन् ।

‘अहिलेको जटिल अवस्थामा कसैलाई मोटरसाइकल चाहिए ५० देखि ७० प्रतिशत डाउन पेमेन्ट गरेर लिन सक्नेछन्,’ जगदम्बा मोटर्सका उपाध्यक्ष दीपककुमार अग्रवालले भने । त्यस्तै ४, ६ र ८ महिनापछि मात्र किस्ता सुरु हुने व्यवस्था पनि गरिएको उनले बताए । बीचको अवधिमा मासिक रूपमा ९९ रुपैयाँ तिरे हुन्छ । ग्राहकले अनलाइनमार्फत पनि मोटरसाइकल तथा स्कुटरका लागि अर्डर गर्न पाउनेछन् । कम्पनीले होम डेलिभरीको सुविधा पनि ल्याएको छ । लकडाउनयता १ सयवटा मोटरसाइकल र स्कुटर होम डेलिभरी गरिसकेको अग्रवालले जानकारी दिए ।

भेस्पा र अप्रिलियामा ५ हजार

भेस्पा र अप्रिलियाको खरिदमा पनि ग्राहकले ५ हजार रुपैयाँ छुट पाउनेछन् । साथै शून्य प्रतिशत ब्याजमा फाइनान्स हुने व्यवस्था गरिएको भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स प्रालिले बताएको छ । यो अफर काठमाडौं उपत्यका लागि मात्र छ । नगद छुट र निःशुल्क एक्सेसरिजको सुविधा पनि दिइएको कम्पनीको भनाइ छ । अनलाइनबाट अर्डर गरे निःशुल्क होम डेलिभरीको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

मोटर हेडमा २० हजारसम्म छुट

मोटर हेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ भन्दै कोभिड लक्षित छुट अफर ल्याएको छ । दुईवटा मोडलका मोटरसाइकल एमएच १५० आर (स्ट्रिट भर्सन) र स्क्य्राम्बलर (स्ट्रिट भर्सन) मा २० हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था गरिएको छ । अन्य सबै मोडलमा भने १५ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आर्थिक वर्षको कर छुट, तेस्रो पक्ष र खरिदकर्ताको १ लाख बराबरको निःशुल्क कोभिड बिमा गर्ने व्यवस्था गरिएको छ । फुल हेल्मेट, लेग गार्ड, दर्ता, नामसारी र नम्बर प्लेटको निःशुल्क व्यवस्था गरिएको मोटर हेडको काठमाडौंका लागि आधिकारिक विक्रेता ईको एक्जिमका अध्यक्ष प्रतीकमान सिंहले जनाए ।

हार्ले डेभिडसनको सपिङ भौचर

हार्ले डेभिडसन मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता आईएमई अटोमोटिभ्सले निःशुल्क सर्भिस स्किम ल्याएको छ । ‘सेभ फर फ्युचर, हाफ द प्राइस’ भन्ने नाराका साथ ल्याइएको योजनामा ४९ हजार ९ सय ९९ रुपैयाँको प्याकेज राखिएको छ । ग्राहकले मोटरसाइकल तीन वर्षभित्र १० पटक सर्भिसिङ गर्न पाउनेछन् । हरेक सर्भिसिङमा २ हजार ५ सय रुपैयाँको सपिङ भौचर पाइने कम्पनीका मार्केटिङ प्रमुख किरण आचार्यले जानकारी दिए । भौचर हार्लेको शोरुममै प्रयोग गर्नुपर्नेछ ।

मासिक किस्तामा हुन्डाईको साथ

हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकका लागि छुट प्याकेज ल्याएको छ । यसअनुसार हुन्डाई गाडीको खरिदमा पहिलो वर्षको मासिक किस्तामा कम्पनीले ५० प्रतिशत साथ दिने जनाएको छ । हुन्डाईका कुनै पनि गाडी खरिद गर्दा पहिलो वर्षका लागि लाग्ने ब्याज र किस्तामा साथ दिइने कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले जानकारी दिए ।

हुन्डाईको सेन्टो, ग्रान्ड आई १० र क्रेटामा पहिलो वर्षको ५० प्रतिशत किस्ता तीन कम्पनीको साथ रहने उनले बताए । अरू नगद छुट पनि छ । एक वर्षको सडक दस्तुर फ्री र सर्भिस निःशुल्क पाउने सुविधा रहेको कम्पनीले जनाएको छ ।

फोर्डमा १० वर्षसम्मको फाइनान्स सुविधा

फोर्डको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले बीएस ६ कम्प्लियन्ट फोर्ड २०२० अफर ल्याएको छ । योजनाअन्तर्गत कम्पनीले १० वर्षसम्मको फाइनान्स, ३० प्रतिशत डाउन पेमेन्ट र स्थगित भुक्तानी सुविधा उपलब्ध गराउने जनाएको छ । साथै सवारी किन्नेको परिवारमा ४ जनासम्मलाई एक/एक लाखको निःशुल्क कोरोना बिमा सुविधा पनि उपलब्ध गराउने घोषणा गरिएको छ । फोर्डको बीएस–६ कम्प्लियन्ट–२०२० मा मात्र उक्त सुविधा उपलब्ध रहने कम्पनीले जनाएको छ । एक्सचेन्ज, लोयल्टी बोनस, ३ वर्षको वारेन्टी, ३ वर्षको निःशुल्क सर्भिसिङका साथ अन्य सुविधा पनि छन् ।

मारुतीमा ९० हजार छुट

मारुती सुजुकी अल्टोको मूल्य १८ लाख ९९ हजारबाट सुरु भए पनि यसमा ग्राहकले ९० हजार रुपैयाँ छुट पाउनेछन् । मारुती सुजुकीले अल्टोमा २० प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने अफर ल्याएको कम्पनीले जनाएको छ । यो अफरमा अल्टो किन्नेले गाडीको मूल्य १८ लाख ९९ हजारको २० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ । अल्टो किन्नेले ३ लाख ७९ हजार ८ सय रुपैयाँ तिरे पुग्छ । अल्टोमा ग्राहकले एक वर्षको बिमा र सडक दस्तुर छुट पाउने मारुती सुजुकीको आधिकारिक वितरक अरुण इन्टरकन्टिनेन्टलले बताएको छ ।

डाट्सन र निसानमा ६ महिना किस्ता तिर्नु नपर्ने

निसान र डाट्सनमा छुट्टाछुट्टै अफर राखिएको छ । निसानका गाडीमा ५० प्रतिशत डाउन पेमेन्ट र ५० प्रतिशत बैंक फाइनान्सिङको सुविधा दिइएको छ । अहिले ग्राहकलाई ३० प्रतिशत मात्र डाउन पेमेन्ट गर्नुपर्नेछ । ‘बैंकको ६ महिनासम्मको मासिक किस्ता हामीले तिर्नेछौं,’ काठमाडौंका लागि निसान–डाट्सनको आधिकारिक विक्रेता मेगा मोटर्स प्रालिका म्यानेजिङ डाइरेक्टर महेश पालले भने ।

डाट्सनमा भने ५० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्नेछ । ‘त्यसपछि ६ महिनासम्मको किस्ता तिर्नुपर्दैन,’ उनले भने, ‘सन् २०२१ बाट किस्ता सुरु हुन्छ ।’ यसमा विशेष नगद छुट ७५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म छ ।

प्रकाशित : असार १९, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?