कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सलह नियन्त्रणमा अन्योल

थाल, टिन बजाउने र धूवाँ निकाली धपाउनेबाहेक उपाय स्थानीय तहले किसानलाई सुझाएका छैनन्
प्रदेश ब्युरो

बुटवल — प्रदेश राजधानी रहेको रूपन्देहीका स्थानीय तहले गत शनिबार सलह प्रवेश गरेपछि संकलन गरेर बुझाउनेलाई नगद दिने घोषणा गरे । प्रदेश सरकारले प्रतिकिलो २० रुपैयाँ उपलब्ध गराउने घोषणा गर्‍यो । त्यसपछि स्थानीय तहले पनि सलह मारेर बुझाउनेलाई प्रतिकिलो ५० रुपैयाँसम्म दिने घोषणा गरे ।

सलह नियन्त्रणमा अन्योल

तर सलहले तराईभन्दा पहाडी जिल्लामा बाली नष्ट गर्‍यो । जुन जिल्लामा धेरै क्षति भयो, ती जिल्लामा सलहविरुद्धको सरकारी योजनै नभएको पाइएको छ ।

प्यूठानमा सलहले खेतीबालीमा लाखौंको क्षति पुर्‍याइरहेको छ । यसको रोकथाममा भने स्थानीय तहले कुनै योजना सार्वजनिक गरेका छैनन् । सलह कीरा नयाँ विषय भएकाले यसको रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने अन्योल रहेको स्थानीय तहका जनप्रतिनिधि बताउँछन् । हूलका हूल सलह कीरा आएर गाउँमा अन्नबालीमा क्षति पुर्‍याउँदा कतैबाट रोकथाम र नियन्त्रणको पहल नभएको अर्खाका स्थानीय मित्र थापाको भनाइ छ । तीन दिनदेखि सलह आउन थालेको उनले सुनाए । सलह गाउँका पाखापखेरामा बास बसेका छन् । ‘झुन्डका झुन्ड सलह छन्,’ उनले भने, ‘मकै, सिमी, धानलगायत बाली सबै सखाप पारिसके ।’

गौमुखी गाउँपालिकाका ठूलाचौर, डाँडागाउँ, लुजबाङ, लाम्डाँडा, सिर्पु, हिले, अँधेरीलगायत बस्तीमा सलहले बाली खाएर सखाप पारेको थापाले बताए । पश्चिम क्षेत्रबाट आएका सलहले गौमुखी क्षेत्रमा धेरै क्षति पुर्‍याएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । सलह नयाँ विषय भएकाले सामान्य थाल, टिन बजाउने, धूवाँ निकाल्ने कुरा किसानलाई सुझाउनुबाहेक केही गर्न नसकिएको उनको भनाइ छ । सलहले गरेको क्षति अवलोकन गर्न कृषि शाखाका कर्मचारीलाई खटाएको गिरीले बताए । पालिकास्तरबाट मात्र सलह नियन्त्रण गर्न नसकिने भएकाले जिल्ला विपद् व्यवस्थापन समितिमा पनि सलह नियन्त्रणको कुरा उठाएको उनको भनाइ छ ।

प्यूठान नगरपालिकाले सलह कीराले पुर्‍याएको क्षतिको विवरण संकलन गरेर किसानलाई राहत दिने योजना बनाएको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । जिल्लाका अन्य सात स्थानीय तहले पनि सलह नियन्त्रणको ठोस योजना बनाएका छैनन् । रूपन्देही हुँदै नेपाल प्रवेश गरेको सलहको झुन्ड टुक्रिँदै प्यूठान आएको हो । सलहले जिल्लाका सबै स्थानीय तहमा बालीनाली खाएर क्षति पुर्‍याएको छ ।

दाङमा पनि सलह नियन्त्रणका लागि स्थानीय तहमा योजनाबद्ध तयारी हुन सकेको छैन । ठूलो झुन्डमा सलह आएर विभिन्न ठाउँमा क्षति पुर्‍याए पनि नियन्त्रणको प्रभावकारी तयारीमा स्थानीय तहको चासो जान सकेको छैन । एकछिन सलहको झुन्ड आएर गइसकेकाले नियन्त्रणको योजना नबनाएको लमही नगरपालिकाका कृषि विकास शाखा प्रमुख अमरकुमार चौधरीले बताए । ‘१५ हेक्टर जमिनको मकै बालीमा एकछिन बसेको हो । त्यति क्षति गर्न पाएन,’ उनले भने, ‘त्यसपछि गइहाल्यो । लामो समय नबसेका कारण योजना बनाउनुपरेन ।’ आइहाले आवाज र धूवाँ निकाल्ने काम गरेर धपाउन किसानलाई आग्रह गरिएको उनले जानकारी दिए । विषादी छर्किनेजस्ता तयारी गर्न नसकिएको उनले बताए ।

गाउँगाउँमा सलह धपाउन किसान आफैं सक्रिय रहेकाले छुट्टै तयारी गर्नु नपरेको राप्ती गाउँपालिकाका कृषि प्रसार अधिकृत महेश अधिकारीको भनाइ छ । ‘सलह लामो समय बसेन । केही समय बसेर भागिहाल्यो । सलह आउनेबित्तिकै सबै मानिस निस्केर आवाज र धूवाँ निकाले,’ उनले भने, ‘हामीले पनि त्यस्तै गर्न सल्लाह दिएका छौं । अहिलेसम्म ठूलो क्षति नभएकाले थप योजना बनाएका छैनौं ।’ सलहको प्रभाव लामो समय नरहेका कारण तयारी केही गर्नु नपरेको बंगलाचुली गाउँपालिकाका कृषि शाखा प्रमुख दानसिंह रोकायाले बताए । ‘लामो समय रहने अवस्था भए केही तयारी गर्नुपर्थ्यो होला । छिट्टै भागिसकेकाले योजना बनाउनुपरेको छैन,’ उनले भने, ‘एकछिन आएको सलहलाई किसान आफैंले सक्रिय भएर धपाइसकेका छन् ।’

सलहले ५ सय ९० हेक्टर जमिनमा लगाएको मकै, तरकारी र धानमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख सन्देश धितालले जानकारी दिए । घोराही उपमहानगर, तुलसीपुर उपमहानगर, शान्तिनगर, बंगलाचुली र राप्ती गाउँपालिकामा धेरै क्षति देखिएको उनले बताए । धितालले यसलाई कसरी नियन्त्रण गर्ने भनेर स्थानीय तहका कृषि शाखाहरूसँग समन्वय गरेर काम गरिरहेको बताए पनि स्थानीय तहमा कुनै योजना बनाएको देखिंदैन ।

कपिलवस्तुमा पनि तरकारी खेती नष्ट गर्ने सलह कीरा नियन्त्रणका लागि यहाँका स्थानीय तहले कुनै नीति बनाएका छैनन् । यहाँ १० वटा स्थानीय तहले नियन्त्रणको योजना नै ल्याएका छैनन् । सबैभन्दा बढी बुद्धभूमि नगरपालिका–१० को लोहरौला, देवपुरा र झलवागाउँमा सहलले तरकारी बाली नष्ट गरेको छ । झन्डै १० लाख रुपैयाँबराबरको क्षति भएको छ । ‘अहिले त्यस्तो नीति बनाएका छैनौं,’ बुद्धभूमि नगरपालिका प्रमुख केशव श्रेष्ठले भने, ‘आवश्यक पर्‍यो भने बनाउँछौं ।’ सामान्य क्षति पुर्‍याएको जानकारी आएको कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले बताए । किसानलाई मर्का नै परेको भए त्यसबारे सोच्ने उनको भनाइ छ । जिल्लामा आइतबार र सोमबार सलह कीरा देखिएको थियो । त्यसयता देखिएको छैन ।

अर्घाखाँचीका ६ वटा स्थानीय तहमा ५ दिनदेखि सलह कीरा डुलिरहेका छन् । सलहले मकैका पात खाएको छ । किसान टिन ठटाउँदै र धूवाँ निकाल्दै कीरा लखेट्ने प्रयासमा छन् । तर स्थानीय सरकारले सलह नियन्त्रणका कुनै योजना बनाएका छैनन् । रकम र प्राविधिकको अभावमा नियन्त्रण योजना बनाउन नसकेको उनीहरूले बताए ।

कोरोना संक्रमण र सलह आतंक एकैपटक आएकाले नियन्त्रण योजना बनाउन नकिएको शीतगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीको भनाइ छ । ‘कोरोना रोकथाममा लाग्दा नगरपालिकाको रकम सकियो । आर्थिक बाटा सबै बन्द छन्,’ उनले भने, ‘यस्तो बेलामा नगरपालिका विषादी किन्नसमेत सक्ने अवस्थामा छैन ।’ विषादी र आर्थिक सहयोगका लागि पटकपटक ज्ञान केन्द्र र प्रदेश निर्देशनालयमा माग गरे पनि बेवास्ता भएको उनले दुखेसो पोखे ।

भूमिकास्थान नगरपालिकामा बिहीबार दिउँसोसम्म करिब ४ हजार ५ सय रोपनीमा लगाएको कमै बालीमा सलहले ४० प्रतिशत क्षति पुर्‍याएको छ । तर पनि नगरपालिकामा नियन्त्रणको कुनै योजना बनेको छैन । न त विषादी छर्ने र धपाउने गरिएको छ । ‘किसानहरू धपाउने प्रयासमा हुनुहुन्छ,’ नगर प्रमुख रेशम थापाले भने, ‘हामी क्षति संकलन गर्न खटेका छौं । अग्ला रूखमा बास बसेकाले विषादी छर्न सकिएको छैन ।’

सन्धिखर्क नगरपालिकाले धूवाँ बालेरै भगाउने अभियान चलाएको छ । कीरा आयो भनेर फोन गर्नेलाई नगरपालिकाका पदाधिकारीदेखि कर्मचारीले धूवाँ बालेर भगाऊ भन्ने सल्लाह दिएका छन् । ‘सल्लीपिरल र परालको धूवाँ बाल्दा भाग्दा रहेछन्,’ नगर प्रमुख कमलप्रसाद भुसालले भने, ‘किसानहरूले त्यही गरे । हामीले पनि त्यही सुझाव दिएका छौं ।’

बुधबारसम्म प्रदेश ५ का १२ जिल्लामा फैलिएको सलह बिहीबार पाँच जिल्लामा मात्रै देखिएको छ । बुधबार दिउँसोसम्म अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र दाङमा मात्रै सलह कीरा रहेको प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । संख्यात्मक हिसाबले पनि बुधबारको तुलनामा झन्डै ५० प्रतिशत कम मात्रै सलह रहेको निर्देशनालयको तथ्यांक छ ।

सलहले पहाडका मकै बालीमा धेरै क्षति पुर्‍याएको छ । तर के कति क्षति भयो भन्ने निर्देशनालयसँग तथ्यांक छैन । स्थानीय तहले क्षतिको विवरण नपठाउँदा समस्या भएको बाली संरक्षण अधिकृत कामना अधिकारीले बताइन् । ‘धेरै ठाउँमा मकैका पात खाएका छन् । यसले शतप्रतिशत क्षति हुँदैन,’ स्थलगत अवलोकनमा हिँडेकी उनले भनिन्, ‘उत्पादनका भने कमी ल्याउँछ ।’ प्रदेश निर्देशनालयले सलह कीरा नियन्त्रणका लागि १५ लाख रकम छुट्याएको छ । उक्त रकम माग भएका जिल्लामा विषादी र स्प्रेयर मेसिन किन्न दिने बाली संरक्षण अधिकृत अधिकारीले जानकारी दिइन् ।

(प्यूठानबाट गिरुप्रसाद भण्डारी, दाङबाट दुर्गालाल केसी, कपिलवस्तुबाट मनोज पौडेल र बुटवलबाट अमृता अनमोल)

प्रकाशित : असार १९, २०७७ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?