कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

लकडाउनले रोकियो सेजको गति

स्थापनाको दुई दशक हुँदा पनि भैरहवा सेजले अझै पूर्णता पाएन
माधव ढुंगाना

भैरहवा — पर्याप्त भौतिक पूर्वाधार छैन, न त उद्योगीले पाउनुपर्ने सेवासुविधा पाएका छन् । तर पनि उद्योगी व्यवसायीले आफ्नै पहलमा यहाँस्थित विशेष आर्थिक क्षेत्र (सेज) मा धमाधम उद्योग सञ्चालनको तयारी गरिरहेका थिए ।

लकडाउनले रोकियो सेजको गति

लगानीकर्ता सक्रिय भएपछि डेढ वर्षयता सेजले गति लिन थालेको थियो । तर लकडाउनले सेज सञ्चालन भताभुंग भएको छ । उद्योग स्थापना र सञ्चालनका लागि अघि बढेका लगानीकर्ता निराश छन् । उनीहरूमा अन्योल छाएको छ ।

‘लकडाउनले अवरोध नगरेको भए यति बेला मेरो उद्योगले उत्पादन गरेर विदेश निकासीसमेत गरिसकेको हुने थियो,’ सेज सञ्चालनको तयारीमा रहेको जयबुद्ध मेटल एन्ड क्राफ्ट उद्योगका सञ्चालक राजेन्द्र गुप्ताले भने, ‘लकडाउनले तहसनहस बनायो । अब कहिलेबाट सञ्चालन गर्न सकिन्छ भन्ने निश्चित छैन ।’ आफ्नो उद्योगमा कार्यरत भारतीय कालिगढ लकडाउनका कारण सबै घर फर्केको र उनीहरू नआउन्जेल उद्योग सञ्चालनको सुनिश्चितता नभएको उनले बताए । १ करोडभन्दा धेरै लगानीमा सञ्चालन गर्न लागेको उनको उद्योगमा करिब दुई दर्जन कालिगड भारतको मुरादावादका थिए । त्यस्तै कालिगढ स्वदेशमा उपलब्ध नभएको उनले जनाए । परीक्षण उत्पादन गरेर उद्घाटनको तयारी गरेका बेला लकडाउनको मारमा उक्त उद्योग परेको थियो । जतिसक्दो चाँडो उद्योग सञ्चालन गर्न ती कामदारलाई बेलाइएको र अनुमतिका लागि प्रशासनिक पहल सुरु गरिएको उनले बताए ।

एस प्लास्टिक उद्योगले पनि सेज परिसरमा उद्योग स्थापनाका लागि ट्रस्ट हाल्ने काम गरिरहेको थियो । करिब ८० प्रतिशत काम सकिएका बेला लकडाउन भएपछि निर्माण अवरुद्ध हुन पुग्यो । अहिले उद्योगका लगानीकर्ताले के तयारी गरेका छन्, कहिलेदेखि पुनर्निर्माणमा जुट्ने हुन्, जानकारी छैन । क्रिस वर्ल्ड फुटवेयरले पनि उद्योग स्थापनाका लागि जमिन सम्याउने, झाडी पन्छाउने काम अघि बढाएको थियो । लकडाउनमा काम सेलायो । उद्योग स्थापनाका लागि जग हाल्ने तयारीमा रहेको वर्ल्डवाइड पनि लकडाउनले खुम्चिन पुग्यो । पञ्चकन्या औद्योगिक समूहले खानेपानी ट्यांकी र पीभीसी पाइप उत्पादनका लागि उद्योग स्थापनाको काम अघि बढाएको थियो । लकडाउनले निर्माणमा असर पारेको पञ्चकन्या औद्योगिक समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले बताए । ‘लकडाउन नभएको भए यतिबेलासम्म उद्योग तयार भसक्ने थियो,’ उनले भने, ‘लकडाउन खुकुलो भएसँगै अब काम सुरु गर्ने योजनामा छौं । मेसिन पनि अर्डर गरिसकेका छौं ।’

स्थापना सुरु भएको दुई दशक हुँदा पनि मुलुकको पहिलो र नमुना विशेष आर्थिक क्षेत्र भनिएको भैरहवा सेजले अझै पूर्णता पाएको छैन । चर्चा अति धेरै र काम अति सुस्त गतिमा रहेको भैरहवा सेजमा अझै पनि बिजुली, पानीजस्ता न्यूनतम भौतिक पूर्वाधार पनि उपलब्ध हुन नसकेको व्यवसायीले बताए । सेज प्राधिकरणले व्यवसायीलाई एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराउन सकेको छैन । स्थापनाको दुई दशकको अवधिमा शक्ति मिनरल्स, बी स्टार ग्लोबल र ब्रिलेन्ड लाइट एन्ड इन्डस्ट्रिज उद्योग सञ्चालनमा छन् । लकडाउनका कारण केही दिनसम्म बन्द रहेका यी उद्योग सामाजिक सुरक्षा अपनाउँदै सञ्चालन गर्न पाइने सरकारी अनुमतिपछि चलिरहेका छन् । मजदुर अभाव, कच्चा पदार्थको आयात, ढुवानी समस्यालगायतको मार भने उद्योगीले खेपिरहेका छन् ।

लकडाउनले गर्दा कच्चापदार्थ आयात गर्न र मजदुरको अभावले गर्दा क्षमताअनुरूपको उत्पादन गर्न नसकिएको ब्रिलेन्ड लाइट एन्ड इन्डस्ट्रिजका उद्योग इन्चार्जर् वसन्त बस्यालले बताए । उनका अनुसार उद्योगमा कार्यरत ३५ मजदुर तथा कामदारमध्ये लकडाउनले गर्दा २४ जना घर फर्केका छन् । उद्योगमा रहेका ११ जना कामदारलाई सामाजिक दूरी कायम गरी काममा लगाइएको छ । ‘लकडाउनले हाम्रो मात्र नभएर सबै उद्योग क्षेत्र नै प्रभावित बनाएको छ । नेपालकै अर्थतन्त्रमा असर पारेको छ,’ विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रवक्ता एवं सहसचिव सुन्दर थापाले भने, ‘लकडाउनको समस्या नआएको भए भैरहवा सेजमा यति बेला ५/६ वटा थप उद्योग सञ्चालनमा आउने वा उत्पादनको नजिकमा हुने थिए ।’ लकडाउनका बेलामा भैरहवा सेजमा सञ्चालित उद्योगले १३ करोडभन्दा धेरै मूल्यका उत्पादन आन्तरिक तथा बाह्य बजारमा बिक्री गरेको थापाले जानकारी दिए ।

प्रकाशित : असार १८, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?