२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

डेरीको कारोबार ६० प्रतिशत

असार १५ मा मात्रै साढे ७ करोडको दही खपत
राजु चौधरी

काठमाडौँ — लकडाउनका कारण समस्यामा परेको डेरी क्षेत्रले पुनः लय पक्रिँदै छ । चैत ११ देखि लकडाउन सुरु भएपछि डेरी उत्पादनको बिक्री ८० प्रतिशतसम्म गिरावट आएको थियो ।

डेरीको कारोबार ६० प्रतिशत

करिब तीन महिनापछि व्यवसाय विस्तारै लयमा आउन थालेको उद्योगीहरू बताउँछन् । ‘आपूर्ति र दुग्धपदार्थ संकलनका क्रममा भएको रोकावटले व्यवसाय चौपट भएको थियो,’ नेपाली डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले भने, ‘अहिले बिक्री क्रमशः बढेर ६० प्रतिशत पुगेको छ ।’

दुग्ध विकास संस्थानले पनि दुग्ध पदार्थको बिक्रीमा क्रमशः सुधार भएको जनाएको छ । ‘वैशाखदेखि भदौसम्म बिक्रीको सिजन हो । तर लकडाउनले कारोबार भएन,’ डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाले भने, ‘अहिले लयमा फर्कंदै छ । बिक्रीमा धेरै सुधार भएको छ ।’ लकडाउनकै बीच असार १५ अर्थात् धान रोपाइँ दिवसमा मात्रै डीडीसी र निजी क्षेत्रको गरी ७ करोड ४१ लाख रुपैयाँको दही खपत भयो ।

असार १५ गते एकै दिन ५ लाख लिटर दही खपत भएको दाहालले जानकारी दिए । दही प्रतिलिटरको १ सय २० रुपैयाँदेखि १ सय ४५ रुपैयाँसम्ममा बिक्री हुन्छ । प्रतिलिटर १ सय ३० रुपैयाँका हिसाबले निजी क्षेत्रले मात्रै उक्त दिन ६ करोड ५० लाख रुपैयाँको बिक्री गरेको हो ।

असार १४ मा करिब २ करोड ६० लाख रुपैयाँको दही बिक्री भएको छ । ‘उपभोक्ताले १४ गते पनि दूध किन्छन् अनि त्यसलाई दही बनाउने प्रचलन पनि छ,’ दाहालले भने, ‘दुई दिन राम्रो बिक्री हुन्छ ।’ दूध बिक्रीमा निजी डेरीको भन्दा डीडीसीको बजार हिस्सा धेरै छ । दही भने निजी डेरी उद्योगले बढी बेच्छन् । दहीमा निजी डेरीले करिब ७० प्रतिशत कारोबार ओगटेको डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख झाले बताए । ३० प्रतिशत हिस्सा भने डीडीसीको रहेको उनले जानकारी दिए । असार १५ मा डीडीसीले ७० हजार लिटर (९१ लाख रुपैयाँ) को दही बिक्री गरेको उनको भनाइ छ । उसले उपत्यकामा ३६ हजार २ सय २१ लिटर दही बिक्री गरेको थियो ।

गत वर्ष भने उपत्यकामा ४३ हजार लिटर बिक्री भएको डीडीसीले जनाएको छ । ‘अहिले प्रायः ग्राहक जिल्लामा छन् । रेस्टुरेन्टहरू पनि पूर्ण रूपमा खुलेका छैनन् । विद्यालय बन्द छन्,’ उनले भने, ‘मुख्य बजार काठमाडौं भएकाले धेरै असर गर्‍यो । अघिल्लो वर्षको तुलनामा काठमाडौंको व्यापार १९ प्रतिशत घट्यो ।’

यस वर्ष उपत्यकाबाहिरको व्यापारमा पनि केही कमी आयो । डीडीसीका अनुसार बुटवल र विराटनगर क्षेत्रमा ११/११ हजार लिटर दही खपत हुन्थ्यो । तर अहिले औसत ९ हजार लिटर हाराहारीमा मात्रै बिक्री भएको डीडीसीले जनाएको छ । ‘सामान्य दिनमा डीडीसीको बिक्री करिब ६ हजार लिटर हो । लकडाउन अवधिमा २ हजारदेखि २५ सय लिटर बिक्री भइरहेको थियो,’ झाले भने, ‘असार १५ मा अलि बढी नै बिक्री हुने आशा थियो तर भएन ।’

लकडाउन खुकुलो भएपछि डम्पको अवस्थामा रहेको पाउडर दूध करिब १० प्रतिशत बिक्री भए पनि बटर अझै डम्प नै छ । किसानबाट संकलनका क्रममा केही दूध कटौती गरेर उठाउनुपर्ने बाध्यता भएको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । ‘किसानका सबै दूध उठाए डम्प भएको पाउडर दूध उठ्दैन,’ उनले भने, ‘भदौबाट ३ महिना सुक्खा सिजन हो । डम्प अवस्थामा रहेको दुग्ध पदार्थ त्यस बेला उठ्ने आशा छ ।’

दुग्ध पदार्थ डम्प भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डलाई पटक/पटक पत्राचार गरे पनि सुनुवाइ नभएको उनले गुनासो गरे । ‘आधा लिटर घिउ र आधा लिटर पाउडर दूध राहतमा वितरण गर्न अनुरोध गरेका थियौं,’ उनले भने, ‘तर सुनुवाइ भएन ।’ व्यवसायीका अनुसार निजी तथा सरकारी गरेर अझै चार अर्ब रुपैयाँको दुग्ध पदार्थ मौज्दात छ । डम्प हुन थालेपछि डीडीसीले घिउमा छुट दिएर बिक्री गरिरहेको छ ।

प्रकाशित : असार १८, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?