कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

व्यवसाय जोगाउन रेस्टुराँको होम डेलिभरी

करिब २५ प्रतिशत रेस्टुराँ खुला,  व्यवसायी भन्छन्, ‘कारोबार ८० प्रतिशत घट्यो’
नुमा थाम्सुहाङ

काठमाडौँ — वसन्तपुरको झोंछेस्थित फल्चा क्याफे असार १ देखि सञ्चालनमा छ । क्याफेले सीमित खानाका परिकार पस्किएको छ । ग्राहकलाई भित्र बसेर खाने अनुमति नभएकाले टेक अवे एन्ड डेलिभरीको सेवा सुरु गरिएको क्याफे सञ्चालक विपिन पिया बताउँछन् ।

व्यवसाय जोगाउन रेस्टुराँको होम डेलिभरी

‘सरकारले क्याफेहरूमा ग्राहकलाई भित्र बसेर खान अनुमति दिएको छैन,’ उनले भने, ‘स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै क्याफे र स्टाफलाई खर्च निस्कन्छ भन्ने आसमा डेलिभरी सुरु गरेका हौं ।’ अहिलेको आवश्यकतालाई हेरेर होम डेलिभरी सेवा सुरु गरेको उनको भनाइ छ । न्युरोड क्षेत्र, यहाँकै स्थानीय र चिनजानमा रहेकाहरूले खानाको अर्डर गर्ने उनले बताए । पियाले झोंछेमा १० वर्षदेखि क्याफे चलाइरहेका छन् । लकडाउनअघि बिहान ८ देखि बेलुकी ९ बजेसम्म खुल्ने क्याफे अहिले ११ देखि साँझ ७ बजेसम्म खुल्छ ।

‘डेलिभरको अर्डर करिब २० प्रतिशत आउँछ । लकडाउनअघि दिनको ३० हजार रुपैयाँ कारोबार हुन्थ्यो । अहिले १० हजार रुपैयाँ मात्र भइरहेको छ,’ उनले भने । क्याफेको भाडा १ लाख २० हजार रुपैयाँ रहेको उनले बताए । लकडाउनको तीन महिनामा आफ्नो बचतबाट १० लाख रुपैयाँ सकिएको उनको भनाइ छ ।

संक्रमणको डरबीच बाध्यताले व्यवसाय सञ्चालन गरिरहेको अर्का रेस्टुरेन्ट व्यवसायी लक्ष्मी लामा बताउँछन् । उनले पनि झोंछेमै १७ वर्षदेखि म्यागी टिपटप रेस्टुरेन्ट चलाएका छन् । ‘सबैले खोलेको देखेपछि पाँच दिनदेखि सेवा पुनः सुरु गरेका हौं,’ उनले भने, ‘अफिसका कर्मचारी र स्थानीय ग्राहकलाई होम प्याकिङको व्यवस्था गरेका छौं ।’ चिनेकाहरूले फोन गरेर खाजाको अर्डर गरेपछि तयार गरी प्याकिङ गर्ने गरिएको उनले जानकारी दिए । ‘कर्मचारी सबै बाहिर छन् । अहिले आफैंले काम गर्दै छु,’ उनी भन्छन्, ‘पसलको भाडा तिर्नुपर्छ । समस्या छ तर पनि दैनिकी चलाउनुपर्छ ।’

झोंछेमा ५० देखि ६० को हाराहारीमा रेस्टुरेन्ट, क्याफे र फास्टफुड सञ्चालनमा छन् । तिनले होम डेलिभरी र फुड प्याकिङको सेवा दिइरहेका छन् । झोंछेमै बैग्य बिस्त्रोका सञ्चालक शिवराम महर्जनले पनि असारदेखि नै रेस्टुरेन्ट सञ्चालनमा ल्याइरहेका छन् । आफ्नो रेस्टुरेन्टबाट होम प्याकिङको सेवा दिइएको छ । साथै त्यहीं बसेर खान चाहनेलाई सामाजिक दूरी अपनाएर बस्ने व्यवस्था गरिएको उनले बताए ।

‘होम डेलिभरीको सेवा भने सुरुदेखि नै थियो,’ उनले भने, ‘बाहिरका मानिस आए ज्वरो नापेर र सेनिटाइजर प्रयोगपछि सामाजिक दूरी कायम गरेर बस्न दिन्छौं ।’

व्यवसाय सञ्चालनमा आए पनि कारोबार पहिलाको तुलनामा धेरै घटेको उनको भनाइ छ । सरकारले दिएको निर्देशनअनुरूप फास्टफुड तथा रेस्टुरेन्ट व्यवसायीले होम डेलिभरी र प्याकिङ सेवा सुरु गरे कारोबार ८० प्रतिशत घटेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) र फास्टफुड एसोसिएसन नेपालले जानकारी दिएका छन् ।

सर्वसाधारण रेस्टुरेन्ट आउने वातावरण नभएकाले कारोबार नभएको रेबानका अध्यक्ष अरनिको राजभण्डारीले बताए । ‘सरकारले यो क्षेत्रलाई विलासिताका रूपमा हेरेको छ । घरभाडा, बैंक ब्याज र कर्मचारी सबैलाई तिर्नुपर्छ । तर आम्दानी भने छैन,’ उनी भन्छन्, ‘लकडाउन बढेसँगै दिनुपर्ने कुरा थपिँदै जान्छ । आउने बाटो नभएपछि सरकारले हामीलाई हेरिदिनुपर्‍यो ।’

रेस्टुरेन्ट व्यवसायबाट ७० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । लकडाउनका कारण सबैको रोजगारी गुम्न सक्ने र व्यवसायी विस्थापित हुने अवस्था आएको राजभण्डारीको भनाइ छ । ‘दैनिक ५ करोड रुपैयाँ बराबरका कृषि उपज यो क्षेत्रमा खपत हुन्छ,’ उनले भने, ‘अहिलेसम्म यो क्षेत्रले ९ अर्ब रुपैयाँ बराबरको नोक्सान बेहोर्नुपरेको छ ।’ स्वास्थ्य सुरक्षाका उपाय अपनाएर निर्बाध रूपमा रेस्टुरेन्ट सञ्चालन गर्न पाउनुपर्ने उनको माग छ ।

फास्टफुड व्यवसायीहरूको अवस्था नाजुक भइसकेको फास्टफुड एसोसिएसन नेपालका अध्यक्ष केशरबहादुर श्रेष्ठले बताए । ‘उपत्यकाभर करिब तीन सय व्यवसायी छन् । ५० हजार जनाले रोजगारी पाएका छन्,’ उनले भने ।

रेबानको अनलाइन डेलिभरी

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) ले अनलाइनबाट होम डेलिभरी सेवा सुरु गर्ने जनाएको छ । १० दिनभित्र यो सेवा सुरु गर्ने रेबानका अध्यक्ष राजभण्डारीले बताए । ‘बिहीबारदेखि यसको परीक्षण गर्दै छौं । २५ वटा रेस्टुरेन्ट जोडिएका छन्,’ उनले भने, ‘सबै वर्गका रेस्टुरेन्ट व्यवसायीहरूलाई ध्यानमा राखेर यो सेवा ल्याएका हौं । आफ्ना कर्मचारीलाई काममा फर्काउन यसले सहयोग गर्नेछ ।’

इच्छुक होटल, रेस्टुरेन्ट वा फास्टफुड व्यवसायीले आफ्नो कम्पनीको नामपछि अर्डरसाथीडटकम राखेर यो सेवा सुरु गर्न सक्ने उनले जानकारी दिए । ‘इच्छुक कम्पनीले ६ हजार रुपैयाँ तिरेर अर्डरसाथीडटकममा जोडिन सक्छन्,’ उनले थपे ।

प्रकाशित : असार १८, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?