नरैनापुरमा बल्ल बिजुली- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नरैनापुरमा बल्ल बिजुली

बिजुली नहुँदा पालिकाले यहाँ आइसोलेसन सेन्टर बनाउन सकेको थिएन
रूपा गहतराज, ठाकुरसिंह थारू

(नरैनापुर, बाँके) — नरैनापुर गाउँपालिका–१, सुइयाका ६० वर्षीय साबिर खाँ गाउँमा बिजुली पुगेको देख्दा दंग छन् । बिजुली पुर्‍याउन ०५१ सालमा गाडिएका पोल ढलिसकेका कारण उनको बत्ती बाल्न पाउने आस मरिसकेको थियो ।



सुइयास्थित सशस्त्र प्रहरी क्याम्पअगाडि ट्रान्सफर्मर राखिएको पोलमा मंगलबार बत्ती बालिएपछि उनको खुसी फर्किएको हो । ‘बत्ती बलेको देख्दा निकै खुसी लागेको छ,’ साबिरले भने, ‘हाम्रो गाउँ पनि उज्यालो हुने भयो ।’

चार बिघामा खेती गर्दै आएका उनले अब बोरिङ गाड्ने योजना बुनेका छन् । विद्युत् नहुँदा घरमा सोलारबाट बत्ती बाल्थे । उखरमाउलो गर्मीमा चाहेर पनि पंखा राख्न सकेका थिएनन्। ‘अब सजिलो हुने भयो,’ उनले भने ।

नरैनापुर–१, मजुरोटीका ६५ वर्षीय अहमद दर्जीले सीमावर्ती भारतीय गाउँमा घरबाटै बिजुली बलेको देख्थे । आफ्नोतर्फ भने अन्धकार नै थियो । ‘बत्ती नहुँदा धेरै दिक्कत सहनुपरेको थियो,’ उनले भने, ‘केटाकेटीले राम्रोसँग पढ्न पाउँथेनन् ।’ बिजुली नपुगेकै कारण नरैनापुरमा एउटै उद्योग छैन । अधिकांश स्थानीय भारतमा रोजगारी गर्छन् ।

कोरोनाको महामारीले आक्रान्त बनेको नरैनापुरमा बिजुली पुगेपछि खुसी फर्किएको हो । स्थानीयको दैनिकी पहिलेजस्तै सामान्य बन्दै गएको छ । यहाँ १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिजुली नहुँदा पालिकाले यहाँ आइसोलेसन सेन्टर बनाउन सकेको थिएन । प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन बनाउन नसक्दा संक्रमितलाई नेपालगन्ज, दाङ र कोहलपुरसम्म लगेर राख्नुपरेको थियो ।

‘बिजुली आयो, अब गाउँमै उद्योगधन्दा स्थापनाको वातावरण बनाउँछौं,’ नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘यहाँ चिनीलगायत उद्योग मजाले स्थापना गर्न सकिन्छ ।’ सिँचाइका लागि दुईवटा डिप बोरिङ जडान गरिएको थियो । तर, बिजुलीको अभावमा बन्द भए । डिप बोरिङ सञ्चालनका लागि बजेट छुट्याइएको छ । बिजुली पुगेपछि प्राथमिक स्वाथ्य केन्द्रमा एक्सरे मेसिन, ल्याब छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

नरैनापुरमा बिजुली पुर्‍याउन एक हजार पोल गाडिएका छन् । सुइया, बानियाँ गाउँ, बिर्ता कटकुइयामा भने पोल नगाडिएको स्थानीय प्रदेशकुमार मिश्रले बताए । ‘वडा कार्यालय र केही निश्चित स्थानमा मात्र अहिले बत्ती बाल्ने भन्ने सुनेको छु,’ उनले भने, ‘त्यसैले गाउँमा पोल र तार केही ल्याइएको छैन ।’ क्षेत्रीय विद्युत् प्राधिकरण नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरले गाउँगाउँमा पोल गाडिसकेको र तार जडान गर्नमात्र बाँकी रहेको बताए ।

उनले विपन्न समुदायलाई बिजुलीबाट वञ्चित हुनु नपर्ने जनाए । ‘निःशुल्क तार, मिटर र एमसीबी जडान गर्छौं,’ उनले भने, ‘१० युनिटसम्म बाल्ने विपन्न परिवारलाई पैसा तिर्नु पर्दैन । त्यसबाहेकको बत्ती बालेबापत आएको शुल्क मात्र तिर्नुपर्छ ।’ उनले ३३ केभीको लाइन विस्तार गर्नुका साथै सबस्टेसन पनि जडान गरिसकेको जनाए ।

प्रकाशित : असार १७, २०७७ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्

बालुवाटारको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको हस्तक्षेप

तस्बिर : दीपक केसी

काठमाडौँ — सरकारको विरोधमा बुधबार बालुवाटारमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कोरोना रोकथाममा असफल भएको, भ्रष्टचारमा मुछिएको र पूर्णरुपमा पीसीआर परीक्षण नगरी आरडिटी गरिएको भन्दै इनफ इज इनफ समूहले सरकारविरुद्ध प्रदर्शन गरेको हो । प्ले कार्डसहित उपस्थित युवाहरुको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरि १५ जनालाई नियन्त्रणमा लिएको छ । युवाहरुले निषेधित क्षेत्रभन्दा बाहिर प्रदर्शन गरे पनि प्रहरीले निषेधित क्षेत्र भन्दै उनीहरुलाई पक्राउ गरेको आयोजकले बताएका छन् ।


प्रकाशित : असार १७, २०७७ २०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×