कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

९० प्रतिशत सपिङ मल सञ्चालनमा

सञ्चालक भन्छन्, ‘स्वास्थ्य सुरक्षाका उपाय अपनाएर व्यवसाय गरिरहेका छौं’
नुमा थाम्सुहाङ

काठमाडौँ — उपत्यकाका ९० प्रतिशत सपिङ मल सञ्चालनमा आएका छन् । स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मल चलाइरहेको व्यवसायी बताउँछन् ।

९० प्रतिशत सपिङ मल सञ्चालनमा

उपत्यकाका प्रायः मल सञ्चालनमा आइसकेको मल एसोसिएसनका महासचिव राजेश श्रेष्ठले पुष्टि गरे । सरकारले भने अझै पनि मल सञ्चालन गर्न अनुमति दिएको छैन । तर व्यवसायीले असार १ देखि मल सञ्चालन गरिरहेका छन् ।

‘उपत्यकाभित्र करिब १ सय सपिङ मल छन्,’ श्रेष्ठले भने, ‘संघमा भने २४ मल सदस्य छन् ।’ श्रेष्ठ आरबी कम्प्लेक्सका अध्यक्षसमेत हुन् । कोभिड–१९ को संक्रमणबाट बच्ने उपाय अपनाएर कम्प्लेक्स सञ्चालनमा ल्याइएको उनको भनाइ छ । ‘कम्प्लेक्समा तीन सय पसल छन्,’ उनले भने, ‘तिनलाई बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन गरिरहेका छौं ।’

सपिङ मलहरूले आआफ्नै किसिमका सुरक्षामा उपाय अपनाएका छन् । पिपल्स प्लाजामा ग्राहकले कपडा ट्रायल गर्न नपाउने व्यवस्था गरिएको यहाँस्थित व्यापार संघका अध्यक्ष युवराज चापागाईंले जानकारी दिए । प्लाजा लकडाउनअघि शनिबार पनि सञ्चालनमा आउँथ्यो । अहिले उक्त दिन बन्द हुने उनको भनाइ छ । प्लाजा अहिले बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालनमा आइरहेको छ ।

‘प्लाजामा १ सय २० सटर छन् । त्यसमा ९५ प्रतिशत सटर सञ्चालनमा छन्,’ उनले भने, ‘सक्ने जति सुरक्षाका उपाय अपनाएर व्यवसाय सञ्चालन गरिरहेका छौं ।’ स्यानीय निकाय र टोल सुधार समितिसँगको सहयोगमा सुरक्षित तरिकाले प्लाजा सञ्चालनमा आइरहेको उनको भनाइ छ ।

उपत्यकाका सिभिल मल, ताम्राकार कम्प्लेक्स, रञ्जना ट्रेड सेन्टर, शेर्पा मल र लबिम मललगायत पनि आआफ्नै समय तोकेर सञ्चालनमा आएका छन् । चितवनस्थित सीजी ल्यान्ड मार्क पनि सञ्चालनमा छ । सपिङ मलका सिनेमा हल, गेम जोन, फुड कोर्ट र जिम भने बन्द रहेको सञ्चालकहरू बताउँछन् । सपिङ मलको गेटमा सुरक्षा गार्डले भित्र प्रवेश गर्नेहरूको सम्पर्क नम्बरसहितको परिचय टिप्ने, ज्वरो नाप्ने र सेनिटाइजर प्रयोगपछि अनुमति पाउने व्यवस्था गरिएको छ ।

पूर्णरूपमा व्यवसाय सञ्चालनमा आए पनि व्यापार भने हुन नसकेको न्युरोडस्थित ताम्राकार कम्प्लेक्स व्यापार संघका अध्यक्ष जगत साउदले बताए । ‘सार्वजनिक यातायात नचलेसम्म व्यापार राम्रो हुन सक्दैन,’ उनले भने, ‘बाहिरका मानिस नआएसम्म व्यवसाय सुध्रिँदैन ।’ ताम्राकारमा ५६ वटा सटर छन् । सबै पसलमा सेनिटाइजर राखिएको छ । पसलमा बस्नेलाई मास्क र पन्जा अनिवार्य गरिएको उनले जानकारी दिए ।

सुरक्षित तरिकाले मल खोलिएको सुन्धारास्थित सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले बताए । ‘मलमा २ सय पसल छन् । यसमा रिटेल पसल मात्र सञ्चालन भएका छन्,’ उनले भने, ‘मलका व्यवसायी र कर्मचारीलाई सुरक्षाका उपाय अपनाएर काम गर्न निर्देशन दिएका छौं ।’ सार्वजनिक यातायात र आन्तरिक उडान सहज भए मात्र मलको कारोबार राम्रो हुने उनको भनाइ छ ।

आफ्नो मल दिउँसो १२ देखि साँझ ६ बजेसम्म सञ्चालनमा रहेको चितवनस्थित सीजी ल्यान्ड मार्क र बिग सिनेमा सिटी सेन्टरका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए । ‘भवनलाई बिहान र बेलुकी पूरै सेनिटाइज गर्छौं,’ उनले भने, ‘ग्राहक पनि सचेत भएका छन् । मलमा अत्यावश्यक सामग्री किन्नलाई मात्र सीमित ग्राहक आइरहेका छन् ।’ व्यवसायीलाई पसलमा भीडभाड नगर्न र ट्रायल गरिसकेका कपडा सेनिटाइज गर्न अनुरोध गरेको उनको भनाइ छ ।

प्रकाशित : असार १७, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?