टिपर नचल्दा पार्टपुर्जामा खिया लाग्न थाल्यो

चैत, वैशाख र जेठ महिना चुनढुंगा निकासी र निर्माण सामग्री भण्डारणको मुख्य सिजन हो, यही समयमा टिपरले काम पाएनन्
सन्जु पौडेल

तिलोत्तमा — पाल्पाको तिनाउ गाउँपालिका–३ का तोया लम्सालले सात वर्षअघि एकैपटक आठवटा टिपर खरिद गरे । त्यसबेला राम्रै मुनाफा भयो । अर्को वर्ष आठ टिपर थपे । व्यवसाय फस्टाएपछि फेरि पाँचवटा टिपर थपेर २१ वटा पुर्‍याए ।

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तमन्ना मल्टिपर्पोज कम्पनी परिसरमा थन्किएका टिपर ।

ती टिपर जिल्लाबाट निकासी हुने चुनढुंगा र निर्माण सामग्री ओसारपसारमा प्रयोग भइरहेका थिए । तीन महिनाअघि कोभिड–१९ का कारण मुलुकमा लकडाउन सुरु भएपछि टिपर थन्किएको उनले दुखेसो पोखे । अहिले टिपरका पार्टपुर्जामा खिया लाग्नेलगायत समस्या आइरहेको छ ।

व्यवसायीका अनुसार चैत, वैशाख र जेठ महिना चुनढुंगा निकासी र निर्माण सामग्री भण्डारणको मुख्य सिजन हो । यही बेला खानी उत्खनन रोकिएपछि टिपरमा लगानी गर्ने व्यवसायी धराशायी बनेका छन् । लकडाउन खुकुलो भएपछि खानी सञ्चालन हुने आस थियो । त्यसले केही समय काम मिल्ने अपेक्षा गरेका थिए । असार लागेदेखि अविरल वर्षा र पहिरो गइरहेकाले ढुवानी ठप्प भएको लम्सालले बताए ।

लकडाउनका बेला स्थानीय चालकको सहयोगले खानी क्षेत्रबाट गाडी ल्याएर भण्डारणस्थलमा पार्किङ गरिएको छ । यस अवधिमा कामै नगरी असार मसान्त नजिकिएसँगै चिन्ताले सताएको उनको भनाइ छ । ‘बैंक, ग्यारेज, टायर पसल, पेट्रोल पम्पबाट दैनिक पाँचपटकसम्म फोन आउँछ,’ उनले भने, ‘फोन अफ गरेर बस्ने अवस्थामा पुगिसक्यौं ।’

तिनाउ गाउँपालिकामा ६ वटा चुनढुंगा खानी रहेका छन् । खानीबाट चुनढुंगा निकासी गर्न गाउँपालिकामा ३१ वटा ट्रान्सपोर्ट कम्पनी सञ्चालनमा छन् । तिनले विभिन्न सिमेन्ट उद्योगलाई चाहिने कच्चा पदार्थ ढुवानी गर्छन् । त्यसका लागि तीन सय हाराहारी टिपर सञ्चालनमा रहेको व्यवसायी लम्सालले बताए । ‘झन्डै सात सय चालक र सहचालक छन्,’ उनले भने, ‘कम्पनीमा कार्यरत ६० बढी मजदुर छन् ।’ एउटा टिपरमा कम्तीमा ३१ लाख रुपैयाँ लगानी गरेर खरिद गरेको उनको भनाइ छ ।

दाङको घोराहीमा सञ्चालित दुई सय टिपरसमेत बन्दाबन्दीका कारण ठप्प छन् । स्थानीय खोलाबाट कहिलेकाहीं काम पाएर गरेको र अन्य समय घरमै थन्काइएको स्वर्गद्वारी टिपर यातायात प्रालि घोराहीका सचिव शोभाखर डाँगीले बताए । ‘भ्यालीभित्रका दुईवटा खानीमा काम गर्थ्यौं,’ उनले भने, ‘यसपालि बैंक किस्ता एक लाख बढी र अन्य आम्दानी सबै घाटा भयो ।’

बैंकलाई व्यवसायीले किस्ता र साँवा यसअघि समयमै तिरिरहेको र अहिलेको बाध्यात्मक अवस्थालाई बुझेर बन्दाबन्दीको अवधिभरको म्याद पछि सारिदिनुपर्ने डाँगीले आग्रह गरे । चार/पाँचवर्षे किस्तालाई अहिलेका महिना थपेर उता गाभिदिए सहज हुने उनको भनाइ छ । दाङमा चार सयभन्दा बढी टिपर सञ्चालनमा रहेको र सबैको समस्या एउटै रहेको उनले बताए । टिपर सञ्चालनमा ल्याउन पाउने निर्णय भए पनि ढुवानीको काम सुरु हुन नपाउँदै लगातार वर्षाका कारण नदीनाला बढ्नुका साथै बाटो खराब भएपछि टिपर व्यवसायी थप समस्यामा परेको उनको भनाइ छ । डाँगीका पाँच टिपर छन् । तीमध्ये मुस्किलले दुईवटाले मात्रै फाट्टफुट्ट काम पाएका छन् ।

प्रदेश ५ का रूपन्देही, नवलपरासी र पाल्पाका गरी नौ सयभन्दा बढी टिपरले चुनढुंगा खानीबाट ढुवानी गर्ने काम गर्छन् भने गुल्मी, अर्घाखाँचीका समेत गरी अन्य ३ सयले क्रसर उद्योगबाट खोलाजन्य सामग्री ओसारपसार गर्छन् । तिनाउबाट ल्याइने खानीजन्य वस्तु सर्वोत्तम सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बुटवल सिमेन्ट, जगदम्बा सिमेन्ट आदि उद्योगमा लगिन्छ । सिजनको अन्त्यतिर खुकुलो भएको बन्दाबन्दी पछि खानीबाट सामग्री ओसार्न थाल्दा नथाल्दै खोलामा हय्न्डापाइप राखेर बनाइएका कजवे भत्किएपछि काम रोकिएको नवलपरासीका व्यवसायी लक्ष्मी पाण्डेले बताए ।

‘हामीलाई मात्र नभई हरेक क्षेत्रलाई यसले गहिरो असर पारेको छ,’ उनले भने, ‘यसबाट निकास पाउन थप एक वर्ष कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’ कात्तिकसम्म केही काम नहुने र त्यसपछि समेत खानी चल्ने/नचल्नेबारे अन्योल रहेको उनको भनाइ छ । व्यावसायिक हिसाबले अघि बढेका बेला आपत् आइलागेको उनको गुनासो छ । उनी १६ वटा टिपरका मालिक हुन् ।

प्रकाशित : असार १७, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

ओलीले खोलेको ‘प्यान्डोराज बक्स’

सम्पादकीय

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नयाँ नक्सा जारीगरेबापत आफूलाई सरकारबाट हटाउन भारतीय राज्य संयन्त्र र आफ्नै पार्टीका नेताहरू सक्रिय भएको गम्भीर आरोप लगाएपछि सत्तारूढ दलभित्रको किचलो विस्फोटक मोडमा पुगेको छ । मंगलबार नेकपा स्थायी समितिको बैठकमा शीर्ष नेताहरूले उक्त विवादास्पद अभिव्यक्तिलाई लिएर ओलीसँग प्रस्टीकरण मात्र मागेका छैनन्, उनको कारणबाट सरकार र पार्टी अप्ठेरोमा परेको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनसमेत दबाब दिएका छन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल,वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायत शीर्ष तहबाटै यस्तो माग आएपछि प्रधानमन्त्री ओली पहिलोपटक गम्भीर संकटमा परेका छन् । सबैजसो उपल्ला पार्टी संगठनहरूमा अल्पमतमा देखिँदै आएका उनले आफ्ना सहकर्मी नेताहरूसँग पुन: नयाँ शिराबाट समझदारी कायम गर्न सक्छन् वा दुवै मोर्चाबाट हट्नुपर्ने अवस्था आउँछ, त्यो प्रस्ट भइसकेको छैन । तर यसले सत्तारूढ दललाई दुर्घटनातर्फ लैजाने र मुलुकले केही वर्षयता मात्र अनुभव गर्न पाएको राजनीतिक स्थायित्वको अभ्यास खण्डित हुने सम्भावनासमेत छ । यस्तो गम्भीर परिस्थिति उत्पन्न हुनुको मुख्य कारक भने अरू कोही नभई स्वयं प्रधानमन्त्री ओली हुन्, जसका असहिष्णु अभिव्यक्ति, व्यवहार र सरकारको कमजोर कार्यशैलीले गर्दा चौतर्फी निराशा र आक्रोश छाएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी जन्मदिवसको अवसर पारेर जसरी आफ्ना सहकर्मी नेता र भारतलाई जोड्दै आफ्नो सरकार संकटमा परेको सार्वजनिक अभिव्यक्ति दिए, त्यो उनकै निम्ति ‘प्यान्डोराज बक्स’ सावित भएको छ । प्रधानमन्त्री तहबाट आन्तरिक राजनीति र बाह्यचलखेललाई जोड्दै अमूर्त र उत्तेजक टिप्पणी गर्नु आफैंमा पदीय मर्यादा सुहाउँदो काम होइन । भारतले उनीविरुद्ध खेलिरहेको छ र उनले भनेझैं भारतीय दूतावास नै यसमा सक्रिय छ भने त्यसलाई सार्वजनिक खपतको सस्तो विषय बनाएर पन्छिन पाइँदैन, तथ्यगत विवरण दिन सक्नुपर्छ र त्यसमा संलग्न कूटनीतिज्ञलाई प्रमाण पुर्‍याएर ‘पर्सना–नन–ग्राटा’ घोषित गर्न सक्नुपर्छ । नत्र यसलाई जनताले ‘राष्ट्रवादी कार्ड’ दुरुपयोगको नयाँशैलीका रूपमा मात्र लिनेछन् । निश्चय पनि प्रधानमन्त्री ओलीले यसबीचमा भारतसँगका कतिपय मामिलामा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै दृढ अडान लिएको पृष्ठभूमि छ । नाकाबन्दीदेखि हालै नक्सा जारी गर्ने बेलासम्म उनले आफ्नो यो दृढताको परिचय राम्रोसँग दिएका छन् । तर सदैव यसैलाई आधार बनाउँदै राष्ट्रवादलाई आफ्नो शासकीय कमजोरी ढाक्ने अस्त्र बनाउने छुट उनलाई छैन ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताका मुद्दामा अडान लिएको देखिए पनि घरेलु मामिलामा उनी निकै कमजोर देखिएका छन् । खासगरी सरकार सञ्चालनमा असफलप्राय: भइसकेका छन् । झन्डै दुई तिहाइको बहुमत पाएर सरकार चलाउने दुर्लभ अवसर जुटे पनि जनअपेक्षाअनुरूप काम गर्न नसक्दा अहिले उनी यस्तो रक्षात्मक स्थितिमा झर्न पुगेका हुन् । खासगरी प्रधानमन्त्री ओली स्वयंको अहंकार, आलोचना पचाउन नसक्ने स्वभाव र अधिनायकवादी कार्यशैलीले धेरैलाई चिढ्याएको छ । यसबीचमा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितता, यति समूहलाई राज्यका सम्पत्ति विवादास्पद ढंगले सुम्पने प्रवृत्तिको निरन्तरता र अन्य कतिपय भ्रष्टाचारजन्य गतिविधिलाई देखेको नदेख्यै गर्ने वा त्यस्ता भ्रष्ट प्रवृत्तिलाई छुट दिने शैलीले प्रधानमन्त्रीको छवि नराम्रोसँग बिग्रेको छ । ओलीले आफूनजिकका व्यक्ति वा समूहले सही–गलत जे गरे पनि संरक्षण दिन्छन् भन्ने मान्यता नै स्थापित भइसकेको छ । यो सबैले उनको पार्टीभित्रै अन्तरविरोध सिर्जनागरेको हो, जसलाई हल गर्न नसक्दा प्रधानमन्त्री ओलीका आगामी दिनहरू सुखद हुने देखिँदैन ।

निश्चय पनि ओलीलाई सत्ताच्युत गरेर शक्तिमा आफू स्थापित हुने चाहना प्रतिस्पर्धी नेताहरूले राखेका होलान् । मूल नेतृत्व अप्रभावकारी वा असफल देखिएपछि त्यसैलाई आधार बनाएर अरूले विस्थापित गर्न खोज्नु राजनीतिको स्वाभाविक नियम नै हो । बाह्य शक्तिले नेपालको आन्तरिक राजनीतिमा खेल्न खोज्ने प्रवृत्ति पनि नौलो होइन । त्यसैले मूल कुरा, प्रधानमन्त्री ओली र उनको कार्यशैली नै हो । उनले चुनावमार्फत जनताबाट पाएको कार्यादेश राम्रोसँग पालना गर्न सकेका भए अहिले यस किसिमको प्रतिकूल परिस्थिति नै उत्पन्न हुने थिएन । राम्रोसँग सरकार चलाउन सकेको भए आम जनता नै उनको प्रतिरक्षार्थ खडा हुन्थे । तर अहिले आफ्नै पार्टीको शीर्ष तह ओलीको विकल्प खोज्नुपर्ने निर्णायक मोडमा आइपुगेको छ ।

यो अवस्थामा प्रधानमन्त्री ओलीलाई सत्तामै राख्ने वा अरू कसैले उनलाई विस्थापित गर्ने भन्ने कुरा अब नेकपाको आन्तरिक जोडघटाउ र भावी निर्णयमा निर्भर होला । तर यसबाट मुलुकमा पुन: राजनीतिक अस्थिरता छाउने र अवैधानिक कदम चाल्नेतर्फ कोही उद्यत हुने अवस्था भने आउन दिनु हुँदैन । आपसी प्रतिस्पर्धा र तीव्र मनमुटावका बाबजुद नेकपाका दुई अध्यक्ष ओली र दाहालले यसतर्फ भने विचार पुर्‍याउनैपर्छ ।

प्रकाशित : असार १७, २०७७ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×