कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सलह पसेपछि कपिलवस्तुमा तरकारी सखाप

ऋण गरेर खेती गरिरहेका किसान उत्पादनले प्रतिफल दिने बेला सलह लागेपछि हेरेको हेर्‍यै भए
प्रदेश ब्युरो

बुटवल — कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० लोहरौलाका लालबहादुर केवट सोमबार रोपाइँमा व्यस्त थिए । त्यही बेला बोडी र करेलाबारीमा सलहको हुल पसेको छिमेकीले जनाए ।

सलह पसेपछि कपिलवस्तुमा तरकारी सखाप

उनी आधा घण्टामा बारीमा पुग्दा डेढ कट्ठामा लगाएको बोडी र करेला सखाप भइसकेको थियो । ‘आँसु नै आयो, किसान जताबाट पनि मारमा छन्,’ उनले दुखेसो पोखे ।

२० हजार रुपैयाँ ऋण लिएर तरकारी लगाएको केवटले बताए । भर्खर फल्न थालेको थियो । एक पटक पनि बेच्न नपाई बाली सखाप भयो । अहिले जिल्लामा बोडी र करेला महँगोमा बिक्री भइरहेको छ । यसपालि डेढ लाख आम्दानी हुने अनुमान गरेको उनको भनाइ छ । परिवारमा ६ जना छन् । अब कसरी गुजारा चलाउने भन्ने चिन्ता सुरु भएको उनले बताए ।

बुद्धभूमि–१० का उमेश केवट पनि सलहको मारमा परेका छन् । उनको एक कट्ठामा लगाइएको बोडी र घिरौंला नष्ट भएको छ । ‘१५ हजार रुपैयाँ खर्च गरेर तरकारी लगाएँ,’ उनले भने, ‘अहिले कन्पारोमा हात लगाएर बसेको छु ।’ यसअघि यस्तो विपत्ति नपरेको उनले सुनाए । ‘कीराको झुन्ड आएर बारीमा बसेको देखेँ,’ उनले भने, ‘तर, कसरी भगाउने ज्ञान नहुँदा मिहिनेत खेर गयो ।’

जिल्लामा आइतबार र सोमबार सलहका झुन्डले तरकारी बाली सखाप बनाएको हो । एक सातामा बेच्न तयारी भइरहेको तरकारी आधा घण्टामै नष्ट भएको किसानहरूको भनाइ छ । जिल्लामै तरकारीको उत्कृष्ट पकेट क्षेत्र बुद्धभूमि नगरपालिका–१० को लौहरौला हो । यहाँका हिमाञ्चल, बिनाचल, रमाचल, हनुमान र विनेश्वर केवटको तरकारी बाली सलहले एकैछिनमा चरेर नष्ट गरिदिएको छ । देवपुराका उमेश, चिन्कु, बह्ररैची र राजु केवटको तरकारी पनि खाएर नष्ट गरेको छ । झलवाका राजेन्द्र केवटको पनि टिप्न तयार तरकारी खाइदिएको छ । अहिले पनि कीरा झुन्डमा यहीँ छ । लकडाउनका बेला खेतबारीमै तरकारी कुहिएर लगानी पनि उठेन । ‘अहिले फेरि सलहले समस्यामा पार्‍यो,’ लौहरौलाका किसान कृष्णमोहन केवटले भने, ‘पीडामाथि पीडा थपियो ।’

यहाँका तरकारी किसानलाई सरकारले राहत नदिए चुलोचौको गर्न सकस हुने उनले बताए । बुद्धभूमि–१० मा १० बिघाभन्दा बढीमा लगाइएको बोडी, करेला, घिरौंला र खुर्सानी खाएर नष्ट गरेको किसान दयाशंकर केवटले जानकारी दिए । करिब १५ किसानको १० लाखभन्दा बढीको क्षति भएको उनले बताए । शिवराज नगरपालिका–१, करहियामा लगाइएको मकैलाई सलहले क्षति पुर्‍याएको बताइएको छ ।

बुद्धभूमि–४ बुढडीमा लगाइएको मकै खेतीमा समेत क्षति पुर्‍याएको छ । स्थानीय विष्णु भुसालको ३ कट्ठा र ढुण्डीराज पन्थीको ढाई कट्ठामा रहेको मकै खेती सलह कीराले पूर्ण रूपमा नष्ट गरेको छ । नेपालमै सबैभन्दा ठूलो झुन्ड यहाँ देखिएको थियो । सर्वसाधारणसमेत एकछिन आतंकित भएका थिए ।

सलहको ठूलो झुन्डले केही ठाउँमा बालीनालीमा क्षति पुर्‍याएको प्रारम्भिक सूचना आएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रामगोविन्द अर्यालले बताए । सोमबार दिउँसो शिवराज नगरपालिकामा प्रवेश गरेको सलहको झुन्डले सोनबर्सीमा धानको बीउ र रोपेको धान बालीमा क्षति गरेको प्रारम्भिक जानकारी आएको उनले बताए । अहिले प्राविधिकलाई फिल्डमा पठाएर क्षतिको विवरण संकलन गर्न थालिएको छ ।

दाङमा मंगलबार सलहका तीन झुन्ड प्रवेश गरेका छन् । विभिन्न ठाउँमा मकै र धान बालीमा समेत बसेको र केही क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र घोराहीले जानकारी दिएको छ । सबै क्षतिको विवरण आउन नसकेको कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख सन्देश धितालले बताए । दिउँसोपख ठूलो संख्यामा पूर्वतिरबाट तीनवटा झुन्ड आएको उनको भनाइ छ । दुई झुन्ड उत्तर पश्चिम र एक झुन्ड उत्तर दिशामा गएको धितालले जानकारी दिए । ‘पानी परेकाले घोराही र तुलसीपुर क्षेत्रमा बास बसेको छ,’ उनले भने ।

घोराही उपमहानगरपालिकाका–१०, १२, १५, १६, १८ र १९ र तुलसीपुर उपमहानगरपालिका–३, ४, ११, १४ र १७ वडामा बढी सलह देखिएको उनले बताए । लमही नगरपालिकाका साथै गढवा र राप्ती गाउँपालिकामा पनि सलह बाक्लो बसेको छ ।

बालीमा बस्न नदिन समुदायबाट ठूलो आवाज निकाल्ने, बालीमा बस्न नदिने, धूवाँ निकालेर झुन्डलाई तितरवितर पार्ने काम गरिरहेको धितालले बताए ।

प्रतिकिलो ५० रुपैयाँसम्म

रूपन्देहीमा सम्भावित जोखिम न्यूनीकरणका लागि गैडहवा गाउँपालिकाले सलह संकलन गरेर ल्याउनेलाई ५० रुपैयाँ प्रतिकिलोका दरले रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका आर्थिक विकास संयोजक कृष्णशंकर यादवको भनाइ छ । ‘नोक्सान गरेको भन्ने त छैन,’ उनले भने, ‘आइहालेको खण्डमा कस्ता उपाय अपनाउने भन्नेबारे रेडियो र अन्य माध्यमबाट सूचना जारी गरेका छौं ।’

तराईमा वर्षाका बेला काग, चिलजस्ता चरा उडिरहने भएकाले तिनले समेत कीरा मार्न सघाउने उनले बताए । सलह एकैपटक आएर नोक्सान गर्ने समस्या आएमा तत्कालै समिति गठन गरी अन्य निर्णय गर्ने छलफल भएको यादवले जनाए । सलह बढेर विषादी छर्कनुपर्ने अवस्था आएमा कृषि प्राविधिकसँग सल्लाह लिन किसानलाई आग्रह गरिएको सम्मरीमाई गाउँपालिकाका कृषि शाखाका नायब प्राविधिक सहायक महेन्द्रप्रसाद हरिजनको भनाइ छ । ‘पालिकाले सामाजिक सञ्जाल, वडा जनप्रतिनिधिमार्फत सूचना जारी गरिसकेको छ,’ उनले भने, ‘सोमबार २ प्रतिशतजति देखिएको सलह मंगलबार देखापरेन । त्यसैले आउँदैन कि भन्ने लागेको छ ।’

सलहको एक झुन्ड मंगलबार कञ्चन गाउँपालिकामा देखिएको गाउँपालिकाका कृषि प्राविधिक रामप्रसाद अधिकारीले बताए । ‘गाउँपालिकाले पनि प्रतिकिलो ३० रुपैयाँका दरले रकम दिने निर्णय गरेको छ,’ उनले भने, ‘विषादीसमेत खरिद गरेर तयार पारेका छौं ।’ सलह व्यापक भई धानको बीउ र अन्नबाली नोक्सान गरे किसानलाई सोहीअनुसार राहतस्वरूप क्षतिपूर्ति दिने उनले जानकारी दिए । सूचना जारी गर्ने र प्राविधिक सल्लाह दिइरहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका कृषि विकास अधिकृत अब्दुल जलिल मुसलमानले जानकारी दिए । सलह छिटफुट मात्रै देखिएकाले अहिले नै तयारी व्यवस्थापन गर्न पालिकाले निर्देशन दिएको छैन ।

बुटवल उपमहानगरले शनिबार नै एक किलो सलह संकलन गरेर बुझाउनेलाई २० रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरिसकेको छ । प्रदेश ५ मा शनिबार पहिलो पटक सलह प्रवेश गरेको थियो । सोमबार पुनः अर्को झुन्ड रूपन्देहीमा आएको र मंगलबार दाङ पुगेको प्रदेश कृषि निर्देशनालयकी बालीविज्ञ कामना अधिकारीले बताइन् । पहिलो पटक रूपन्देही आएको झुन्डले नै यहाँका किसानमा त्रास फैलाएपछि स्थानीय तहले सलह धपाउन विभिन्न प्रयास सुरु गरिसकेको जनाएका छन् । सलहका झुन्ड तितरवितर भएका छन् । प्रदेशमा भारतीय सीमाबाट रूपन्देही हुँदै शनिबार दिउँसो एक र सोमबार साँझ अर्को हूल सलह प्रवेश गरेको थियो ।

मंगलबार सलह तितरवितर भएर प्रदेशको रुकुम पश्चिमबाहेक अन्य ११ जिल्लामा पुगेको छ । रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम, गुल्मी र अर्घाखाँचीमा बाक्लो गरी देखिएको सलह दाङ, बाँके, बर्दिया, रोल्पा र प्यूठानमा भने छिटफुट मात्रै देखिएको छ । क्षतिको विवरण संकलन गरिएको छैन ।

मनोज पौडेल (कपिलवस्तु), सन्जु पौडेल (तिलोत्तमा), दुर्गालाल केसी (दाङ) र अमृता अनमोल (बुटवल)

प्रकाशित : असार १७, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?