३५ लाख सलह नेपालमा

हिमालपारिको जिल्ला मुस्ताङसहित ५२ जिल्लामा पुगिसक्यो सलह
राजु चौधरी

काठमाडौँ — भारतबाट चार दिनमा करिब ३५ लाख सलह भित्रिएका छन् । पछिल्लो समय ठुल्ठूलो झुन्डमा सलह भित्रिरहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

३५ लाख सलह नेपालमा

‘एक वर्गकिलोमिटरमा करिब एक करोड हुन्छन्, त्यही आधारमा करिब ३५ लाख सलह भित्रिएको अनुमान छ,’ केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईंले भने ।

केन्द्रका अनुसार मंगलबार बिहान १२ बजेसम्म बारा, पर्सा, रौतहट र सर्लाहीमा करिब तीन हजार सलह देखिएका छन् । ती सलह पहाडतर्फ जाने क्रममा छन् । महोत्तरीमा केही मात्रामा देखिए पनि संख्या यकिन हुन सकेको छैन । मकवानपुरमा करिब १० लाख रहेको केन्द्रले जनाएको छ । त्यहाँ सलह करिब एक हजार रोपनी मकैबालीमा बसेका छन् । पानी पर्दा भने नजिकैको जंगलमा जाने गरेका छन् । चितवनमा करिब एक लाख रहेको अनुमान छ । सिन्धुलीमा दुईदेखि तीन लाख सलह जंगलमा बसेका छन् । रामेछाप र काभ्रेमा देखिएको सलहको संख्या यकिन भएको छैन ।

रूपन्देहीमा शनिबार ५ देखि ७ लाख, पाल्पामा ४ देखि ५ लाख, स्याङ्जामा ५० हजार सलह रहेको केन्द्रले जनाएको छ । दाङमा करिब ४ हजार छन् । कपिलवस्तुमा शनिबार ७ हजार सलह थिए, आइतबार पुनः ८ देखि १० लाख सलह छिरेका छन् । प्यूठानमा १ हजार, कास्कीमा १ देखि २ लाख, पाँचथर र कैलालीमा एक/एक सय छन् ।

सलह ५२ भन्दा बढी जिल्लामा फैलिएको प्राविधिक कार्यदलका संयोजकसमेत रहेका हुमागाईं बताउँछन् । भारतबाट प्रवेश गरेको सलह तराई, पहाड हुँदै हिमाली जिल्लासम्म पुगेको छ । ‘खोटाङ, भोजपुरदेखि हिमालपारिको जिल्ला मुस्ताङमा समेत सलह देखियो,’ उनले भने, ‘चिसो ठाउँमा हुनु नपर्ने तर देखियो ।’ सलहको संख्या बढ्दै गएकाले पहाडका किसानलाई दुःख भएको उनले बताए । पानी परिरहँदा सबै सलहको झुन्ड खेतबारीमा पुगेको छैन । पश्चिम भारततर्फ सलहको ठूलो समूह देखिएको प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जनाए । त्यसैले केही झुन्ड अझै आउने सम्भावना छ । ‘किसान आत्तिएका छन्,’ उनले भने, ‘कुनै उपाय अपनाएर भगाउने प्रयासमा छौं ।’

रूपन्देही र डडेलधुरामा सोमबार नयाँ सलहको झुन्ड देखिएको छ । सोमबार करिब ४ बजेतिर प्रवेश गरेको सलहको ठूलो झुन्ड (करिब १२ लाखको संख्यामा) टुक्रिएर दाङदेखि रोल्पासम्म पुगेको सुवेदीले जानकारी दिए । ‘सलहको ठूलो झुन्ड रूपन्देहीबाट छिरेको थियो । त्यहाँका किसानले धपाएर तितरवितर पारे । ठूलो झुन्ड टुक्रिएर अर्घाखाँची, प्यूठान र दाङतिर गएको छ,’ उनले भने, ‘दाङ प्रवेश गरेको झुन्ड तीन समूहमा टुक्रिएर लमही, रोल्पा गएको देखिन्छ ।’

केन्द्रका अनुसार दाङको लमहीमा करिब २ लाख सलह पुगेका छन् । पश्चिम भारतबाट उत्तराखण्ड जाने क्रममा डडेलधुरामा पनि सलह छिरेको सुवेदीले बताए । ‘डडेलधुरामा करिब ४ सय सलह गएको अनुमान छ,’ उनले भने । सलह धानभन्दा मकैबालीमा बस्न रुचाएको देखिन्छ । ‘विभिन्न जिल्लामा रोपाइँ सुरु भएको छ । धानको ब्याड छन् । तर सलह त्यता गएको देखिँदैन,’ उनले भने, ‘मकैबालीमा भने छपक्कै देखिन्छ ।’

काठमाडौंमा पनि

मंगलबार काठमाडौं उपत्यकामा पनि सलहको ठूलो झुन्ड देखिएको छ । बेलुका पौने ६ बजेतिर दक्षिण भेगबाट सलह स्वयम्भू हुँदै नागार्जुनतर्फ गएको प्राविधिक कार्यदलका संयोजक हुमागाईंले जानकारी दिए । ‘ठूलो झुन्ड डाँडामा देखिन्छ । केही टुक्रिएर नुवाकोट पनि गएको छ,’ उनले भने, ‘करिब एकचौथाइ ललितपुरतिर गएको देखिन्छ ।’ काठमाडौंमा देखिएको झुन्ड पुरानै रहेको उनको अनुमान छ । ‘नयाँ भए वीरगन्जबाट आएको हुनुपर्छ । तर त्यताबाट रिपोर्टिङ भएको छैन । काठमाडौंमा देखिएको सलह चिन्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘बुधबार यकिन हुन्छ ।’

प्रकाशित : असार १७, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?