कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानीले निकास नपाउँदा खाली ठाउँ बने पोखरी

स्थानीय भन्छन्, ‘बर्सेनि वर्षामा मरिन्छ कि बाँचिन्छ भन्ने त्रास लिएर बस्नुपर्छ’
सन्जु पौडेल

तिलोत्तमा — केही दिनदेखि परेको पानीले निकास नपाउँदा बुटवल र आसपासका क्षेत्रमा डुबान सुरु भएको छ । यहाँका खाली स्थान पोखरी बनेका छन् । बुटवल उपमहानगरपालिकाले सडक विस्तार र नाली निर्माण समयमै पूरा नगर्दा यस्तो समस्या देखिएको हो ।

बुटवल–११ कालिकापथमा घरनजिकै रहेका खाली जग्गामा पानी ताल परेपछि कहाँबाट कटाउने भन्ने चिन्ता स्थानीयमा बढेको छ । एकातिर पानी जम्दा रोग बढ्ने र अर्कोतिर सडकमा नाली निर्माणका लागि सामग्री र माटो फ्याँक्दा हिलाम्मे भएर हिँड्न समस्या भएको स्थानीय चन्द्र धितालले बताए । ‘वर्षा लाग्ने बेलामा काम सुरु भएको छ,’ उनले भने, ‘खाली जग्गामा जमेको पानी बग्ने नाली नहुँदा लामखुट्टे लाग्ने, मलेरिया हुने डर हुन्छ ।’

तिनाउ किनारमै घर भएकाले हरेक दिन पानीको बहाव हेरेर बस्नुको विकल्प नरहेको बुटवल–१ की ६० वर्षीया विद्यालक्ष्मी शाक्यको भनाइ छ । ‘६ दशक भयो, बुटवलमा बस्न थालेको,’ उनले भनिन्, ‘बर्सेनि वर्षामा मरिन्छ कि बाँचिन्छ भन्ने त्रास लिएर बस्नुपर्छ ।’ उपमहानगरले पुल बनाए पनि त्यसको तल रहेको जाली टुटिसकेको र ठूलो पानी आउँदा जाली जति पानीले बगाउने निश्चित भएको उनले बताइन् । आफ्नो परिवारका सदस्य सामाजिक काममा अग्रसर रहने भएकाले अहिलेको यो समस्याबारे वडाध्यक्षलाई जानकारी गराइसकेको र मर्मतको काम हुन्छ भन्ने आश्वासन पाएको शाक्यले बताइन् । खोला छेउमा खोल्सा खनेर सडक निकाल्न थालेकाले पनि माथिबाट बग्दै आएको पानी सीधै तल झर्ने र बस्तीमा समस्या पर्ने उनको भनाइ छ । बाँध भत्कियो भने पानी सबै घरभित्र पस्ने चिन्ता रहेको उनको भनाइ छ ।

तिनाउ नदी किनारका ६ सय ५० भन्दा बढी घरधुरीमध्ये एक सय हाराहारी घर जोखिममा रहको वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगलले जानकारी दिए । ‘ती घरटहरा जोखिममै छन्,’ उनले भने, ‘विपद् परिआएको खण्डमा कसरी सुरक्षित राख्न सकिएला भन्नेबारे अहिल्यै केही भन्न सकिँदैन ।’ उपमहानगरको बजेटले सबै काम नभ्याउने भएकाले संघीय सरकारकै मुख ताकेको र सरकारले तिनाउ नदी संरक्षणका लागि जनताको तटबन्ध कार्यक्रममार्फत तिनाउ किनारमा वाल लगाएर पानीको बहाव रोक्ने काम गर्ने उनले बताए ।

भैरहवामा घरभित्रै पानी पसेर समस्या भएको सिद्धार्थनगर नगरपालिका–६, चित्रगुप्त पथका रामदयाल गुप्ताको गुनासो छ । ‘अघिपछि पनि पानी त आउँथ्यो,’ उनले भने, ‘यस वर्ष झन् बढी भयो ।’ नगरपालिकाले नाली बनाउन बजेट छुट्याएर काम भइरहँदा लकडाउन भएपछि काम रोकिएको थियो । पुन: काम सुरु हुँदा वर्षा लागिसकेकाले न नाली बन्न पायो, न त पानी नै बग्न पाएको उनको भनाइ छ । वडाका सोमइमाई पथ, अमरनाथ पथ, बीपी पथमा समेत पानी घरघरै पसेको छ । पानी पर्न रोकिएर घाम नलागेसम्म पानी नसुक्ने र यसले घरबाहिर निस्कनै जोखिम हुने गरेको छ ।

प्रकाशित : असार १६, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?