प्रदेश ५ का १० जिल्ला पुग्यो सलह

प्रदेश ब्युरो

बुटवल — तीन दिनअघि यहाँ देखापरेको सलह सोमबार प्रदेश ५ का १० जिल्लामा पुगेको छ । रूपन्देही हुँदै पाल्पा, कपिलवस्तु र अर्घाखाँचीमा देखिएका सलह सोमबार पश्चिम बर्दियासम्म पुगेका छन् । यसरी फैलिएपछि धमाधम रोपाइँ गरिरहेका किसान चिन्तित छन् ।

प्रदेश ५ का १० जिल्ला पुग्यो सलह

रूपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, दाङ, प्यूठान, बाँके हँुदै सलह बर्दियासम्म पुगेको छ । सोमबार साँझसम्म रूपन्देहीको सैनामैना र देवदह, अर्घाखाँचीको शीतगंगा, छत्रदेव र सन्धिखर्क, गुल्मीको कालीगण्डकी र रुरु, पाल्पाको दोभान, प्यूठानको सर्मैरानी, कपिलवस्तुको कपिलवस्तु र शिवराज एवं दाङको तुलसीपुरमा सलह देखिएको छ । बर्दियाको गेरुवा गाउँपालिकाको जंगलमा पुगेका छन् ।

बाँकेको राप्ती सोनारी र नेपालगन्जलगायत केही क्षेत्रमा सलह भेटिएको कृषि विकास निर्देशक यामनारायण देवकोटाले जानकारी दिए । ‘वर्षाले उड्न र दिशानिर्देश गर्न सकेनन् । त्यसैले सलह सानो समूहमा छन् तर धेरै जिल्लामा पुगेका छन्,’ उनले भने ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सम्भावित सलह कीराको व्यवस्थापनका लागि र्‍यापिट रेस्पोन्स टिम (आरआरटी) गठन गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको सोमबार बसेको बैठकले वडाध्यक्ष सोहनप्रसाद थारूको संयोजकत्वमा कृषिविज्ञ, कृषि प्राविधिक, कृषक, सुरक्षाकर्मीको प्रतिनिधित्व रहने गरी टिम गठन गरेको हो ।

सलह भित्रिएपछि नगरपालिकाले सम्भावित जोखिम व्यवस्थापनका लागि टिम गठन गरेको नगरका कृषि शाखा प्रमुख दोमलाल भुसालले बताए । पाल्पाका विभिन्न स्थानमा छरिएर बसेका सलह धपाउन किसानलाई गाह्रो भएको छ । मकै, धानको बीउलगायत घाँस खाएपछि त्यसलाई भगाउन सकस व्यहोर्नुपरेको हो । पानी पर्दा बस्ने र पानी रोकिएपछि सलह उड्ने गरेको तिनाउका किसान रुद्र जीसीको भनाइ छ । उनका अनुसार शनिबार बेलुकी बास बसेको सलह आइतबार दिउँसो उडेको थियो । ‘सोमबार कतैकतै मात्र देखिएको छ,’ उनले भने, ‘धेरै उडेर पश्चिम लागेका छन् ।’

उड्ने, बस्न खोज्ने र हल्ला गरेपछि पुन: भाग्ने गरेको रैनादेवी छहराका भुवन रायमाझीले जानकारी दिए । ‘बारीको मकैमा बस्न खोजेको थियो,’ उनले भने, ‘टिन ठटाएर र धूवाँ लगाएपछि भाग्यो ।’ बास बसे पनि किसानको मकैबारीलगायत अन्य बालीमा क्षति नपुगेको कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख शिव अर्यालले बताए । ‘अहिलेसम्म किसानको ठूलो नोक्सानी भएको भन्ने खबर आएको छैन,’ उनले भने, ‘उड्ने र बस्न खोज्ने गरेको छ । त्यसरी हानिनोक्सानी पुगेको छैन ।’

दाङका केही ठाउँमा सानो संख्यामा मात्रै सलह देखिएको छ । ठूलो झुन्ड नदेखिएको र त्यसले बालीमा केही क्षति नपुर्‍याएको कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख सन्देश धितालको भनाइ छ । तुलसीपुर उपमहानगरपालिका–३ को राम्री र ४ को खाद्रेमा सानो संख्यामा मात्रै देखिएको उनले बताए । गढवा–१ मा पनि केही ठाउँमा देखिएको धितालले जानकारी दिए ।

‘२०/२५ वटाको संख्यामा मात्रै देखिएको छ, ठूलो झुन्ड आएको छैन,’ उनले भने, ‘यसले अहिलेसम्म कुनै बालीनालीमा क्षति पुर्‍याएको छैन ।’ सलह नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गरेर अग्रिम तयारी गरिरहेको धितालले बताए । ‘केही संख्यामा आएका छन् । कपिलवस्तुमा आएको ठूलो झुन्डबाट छुट्टिएर आएको जस्तो देखिएको छ,’ उनले भने, ‘यसलाई कसरी नियन्त्रण गर्ने भनेर स्थानीय तहका कृषि शाखाहरूसँग समन्वय गरेर काम गर्दै छौं ।’

बर्दियाको गेरुवा गाउँपालिका–१ बगैपुर र जनकनगरको खेतमा सोमबार सलहको झुन्ड देखिएको छ । ‘कीराको झुन्ड देखियो । त्यसपछि गाउँभरका मिलेर मार्न सुरु गर्‍यौं,’ वडाध्यक्ष दयाराम वैद्य थारूले भने, ‘तर ठूलो झुन्ड छैन ।’

(अमृता अनमोल (बुटवल), सन्जु पौडेल (तिलोत्तमा), माधव अर्याल (पाल्पा), दुर्गालाल केसी (दाङ) र ठाकुरसिंह थारू (बर्दिया)

प्रकाशित : असार १६, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?