१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भित्रिँदै सलहका थप ठूला झुन्ड

प्रदेश २, ५ र ७ को सीमा आसपास नयाँ समूह देखिए
उच्च सतर्कता अपनाउन प्रदेश मन्त्रालयलाई आग्रह
कपिलवस्तु छिरेका झुन्डमा लाखौंको संख्यामा सलह रहेको अनुमान
राजु चौधरी

काठमाडौँ — शनिबार चारवटा झुन्ड छिरेको सलहमा आइतबार अर्को नयाँ समूह थपिएको छ । लाखौंको संख्यामा रहेको सलहको उक्त झुन्ड कपिलवस्तुमा देखिएको हो । उक्त झुन्ड बुद्धभूमि, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकामा देखिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए ।

भित्रिँदै सलहका थप ठूला झुन्ड

‘भारतको पूर्वतिर जाँदै गर्दा सलहको झुन्ड केही नेपालको बोर्डरमा झरेको देखिन्छ,’ सलह सूचना केन्द्रका संयोजकसमेत रहेका सुवेदीले भने, ‘ठूलो झुन्ड भए पनि ठाउँ–ठाउँमा छुट्टिएका छन् । जंगलमा बसेकाले बालीमा क्षति भइसकेको छैन ।’ सोमबार दिउँसो पानी परेकाले सलहको झुन्ड खेतमा गएका छैनन् । नजिकैको रूखमा बसेको उनले जानकारी दिए । ‘नयाँ भित्रिएको सलहको झुन्ड ठूलै छ । रूखमा बसेको छ । उडेर खेतीतर्फ गयो भने समस्या हुन्छ,’ उनले भने । असार १५ मा मुलुकभर रोपाइँ दिवस मनाइरहँदा ती क्षेत्रका किसानलाई भने धानको ब्याड बचाउनै गाह्रो भएको छ ।

तरकारीको पकेट क्षेत्रमा सलह पुगे ध्वस्त पार्ने जानकारहरू बताउँछन् । ‘क्षतिको अवस्थाबारे केही भन्न सक्ने अवस्था नै भएन,’ रेग्मीले भने, ‘घाम लाग्यो भने सलहले तरकारी र ब्याडमा क्षति पुर्‍याउँछ ।’ केन्द्रका अनुसार कपिलवस्तुबाट सलह उड्यो भने अर्घाखाँची, प्यूठान, दाङतर्फ जाने अनुमान गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सलहका केही झुन्ड नेपालको सीमा नजिक आएर बसेका छन् । ती सबै प्रवेश गरे थप समस्या उत्पन्न हुने जनाइएको छ । कीरा भित्रिए त्यसको निवारण गर्न प्रदेश तथा स्थानीय तहलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।

‘अरू पनि सलहको झुन्ड आउने सम्भावना छ । भारतबाट नेपालको प्रदेश २, ५ र ७ को सिमाना आसपास देखिएका छन्,’ उनले भने, ‘सीमा नजिकै भएकाले सतर्क रहन अनुरोध गरेका छांै । तर हावाको वेगअनुुसार आउन पनि सक्छ/नआउन पनि सक्छ ।’ प्रदेश मन्त्रालयलाई पनि तयारी अवस्थामा रहन पत्र पठाइएको छ । संघीय मामिला मन्त्रालयमार्फत स्थानीय निकायलाई पत्रचार गरिएको केसीले बताए । ‘मध्य प्रदेशबाट उत्तरतर्फ हावा आएको छ । त्यही भएर सतर्क रहन भनेका हौं,’ उनले भने । सोमबार धनगढीमा पनि सलह देखिएको केन्द्रले जनाएको छ । ती सलह कपिलवस्तुमा देखिएको झुन्डबाट छुट्टिएर धनगढी र बाँकेसम्म पुगेको सुवेदीको भनाइ छ । मकवानपुरको झुन्ड चितवनको कालिका, शक्तिखोर र रत्ननगर क्षेत्रसम्म पुगेको छ । रत्ननगरमा धान खेतमा समेत देखिएको छ ।

अहिलेसम्म दुई दर्जनभन्दा बढी जिल्लामा सलह फैलिसकेको छ । त्यसमा सबैभन्दा बढी मकवानपुर र बुटवलको सैनामैनामा क्षति पुर्‍याएको छ । केन्द्रका अनुुसार मकवानपुरमा रहेको सलहको झुन्ड जंगल नजिकै छ । ‘त्यसले एक हजार हेक्टर मकै खेती कब्जा गरेको छ । पानी पर्दा जंगल गएको छ । घाम लाग्दा फेरि मकैमा आएको देखिन्छ,’ सुवेदीले भने । बुटवलमा पनि मकै खेतीमा असर गरेको छ । तर त्यसको यकिन विवरण आइसकेको छैन । सलहको भुन्ड टुत्रिँmदै गए बालीमा कम असर गर्छ । त्यसैले झुन्ड तितरबितर बनाउन सबैलाई अनुरोध गरिएको केन्द्रले जनाएको छ ।

सलहको एउटा कीराले प्रत्येक दिन आफ्नो शरीरको तौल बराबर खान सक्छ । यसले प्रत्यक्ष रूपमा मानिस वा पशुपन्छीलाई भने असर गर्दैन ।

कसरी व्यवस्थापन गर्ने ?

सलह अति प्रोटिनयुक्त कीरा हो । त्यसैले आएका झुन्डहरूलाई पासोमा संकलन गरी जम्मा गरेर हाँस, कुखुराको आहारा बनाउन सकिन्छ । आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिए कुनै पनि माध्यम (ठूलो आवाज, धूवाँ आदि) बाट तिनलाई बस्न बाधा पुर्‍याएर अन्यत्रै मोडिदिने गर्नुपर्छ । नर्सरी, करेसाबारीजस्ता साना क्षेत्रफलमा हुने खेतीलाई झुल वा जालीले छोपेर पनि जोगाउन सकिने मन्त्रालयले जनाएको छ । खेतबारी वा घर नजिकै कीराले आश्रय लिइरहेको पाइएको अवस्थामा भने तत्काल असर गर्ने विषादी प्रयोग गर्नुपर्छ ।

प्रकाशित : असार १६, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?