कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जियोसँग नेटवर्क जुध्दा वाइम्याक्स बन्द

भारतसँग सीमा जोडिएका जिल्लामा समस्या आएपछि टेलिकमले रोक्यो देशभर वाइम्याक्स विस्तार
विजय तिमल्सिना

काठमाडौँ — भारतीय टेलिकम कम्पनी रिलायन्स जियोसँगको नेटवर्क समस्याका कारण नेपाल टेलिकमले आठ वर्षअघि सुरु गरेको वाइम्याक्स प्रविधिमा आधारित इन्टरनेट सेवा रोकेको पाइएको छ । भारतसँग सीमा जोडिएका जिल्लामा देखिएको समस्या सम्बोधन गर्नुको सट्टा तीन वर्षदेखी देशभर वाइम्याक्स विस्तार रोकेको छ ।

जियोसँग नेटवर्क जुध्दा वाइम्याक्स बन्द

महालेखा परीक्षकको कार्यालयले यो वर्ष तयार पारेको प्रतिवेदनमा यो विषय उठान गरिएको छ । प्रतिवेदनमा फ्रिक्वेन्सीमा जुध्न वा अवरोध हुन नदिन दूरसञ्चार प्राधिकरणले पर्याप्त अनुगमन नगरेको विषय औंल्याइएको छ । ‘नेपाल टेलिकमले वाइम्याक्स सञ्चालनका लागि तराईका जिल्लामा प्रयोग गरेको ब्यान्डविथ र भारतको जियो मोबाइलले जीएसएम फोरजीका लागि समान फ्रिक्वेन्सी ब्यान्ड प्रयोग गरेकाले इन्टरफेरेन्स (अवरोध) भई टेलिकमले वाइम्याक्स नै बन्द गरेको सम्बन्धमा प्राधिकरणबाट अनुगमन भएको देखिएन,’ प्रतिवेदनमा भनिएको छ ।

टेलिकमले २३ सय मेगाहर्ज ब्यान्डमार्फत वाइम्याक्स सेवा विस्तार गरिरहेको थियो । तर सीमा जोडिएका जिल्लामा रिलायन्स जियोले सोही मेगाहर्ज ब्यान्डमा फोरजी विस्तार गरेपछि दुई कम्पनीको नेटवर्क जुध्ने समस्या देखिएको थियो । तीन वर्षअघि यस्तो समस्या आएपछि तराईका जिल्लामा वाइम्याक्स विस्तार रोकी अन्य प्रविधिले विस्थापन गरिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । भारतसँग सीमा जोडिएका जिल्लामा समस्या आएपछि टेलिकमले देशभर यसको विस्तार रोकेको थियो । अब वाइम्याक्सका लागि प्रयोग भएको फ्रिक्वेन्सीमा फोरजी विस्तार गरिने उनको भनाइ छ ।

टेलिकमले २३ सय ब्यान्डको ३० मेगाहर्ज फ्रिक्वेन्सीमा ताररहित उच्च गतिको इन्टरनेट वाइम्याक्स सञ्चालन गरेको थियो । ०६९ कात्तिक २७ देखि टेलिकमले वाइम्याक्स सेवा सुरु गरेको हो । धेरै स्थान कभरेज हुने भएकाले नेपालका दुर्गम स्थानमा यो प्रविधि उपयोगी हुने अनुमान थियो । टेलिकमले करिब ५ वर्षमा देशका सबै जिल्लामा यसलाई विस्तार गरेको थियो । समस्या समाधानका लागि नेपाल टेलिकम, भारतीय जियो र नेपाल दूरसञ्चार प्राधिकरणबीच पटकपटक छलफलसमेत भएको अधिकारीले बताए । एउटै फ्रिक्वेन्सी ब्यान्डमा दुई खालका प्रविधि सञ्चालनमा आउँदा समस्या देखिएपछि टेलिकमले तराईका जिल्लामा वाइम्याक्स विस्तार रोकेको उनको भनाइ छ ।

महालेखा परीक्षकको कार्यालयले तयार गरिरहेको प्रतिवेदन सार्वजनिक हुन बाँकी छ । प्रतिवेदन र त्यसमा औंल्याइएको विषयबारे प्रत्युत्तरका लागि सम्बन्धित कार्यालयहरूलाई महालेखाले पत्र लेखिसकेको छ । प्रतिवेदनमा दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सीसम्बन्धी नीतिअनुसार दूरसञ्चार सेवा प्रदायकबीच फ्रिक्वेन्सी अवरोध हुन नदिन प्राधिकरणले अनुगमन गर्नुपर्ने भनिएको छ ।

फाइभजी सेवा सुरु गर्न आवश्यक पूर्वतयारीका काम पनि प्राधिकरणले नगरेको प्रतिवेदनले औंल्याएको छ । साथै फाइभजी सेवाका लागि फ्रिक्वेन्सी स्लट तोक्ने, फ्रिक्वेन्सी प्रयोगबापतको दस्तुर तथा शुल्क तय गर्नेजस्ता काम प्राधिकरणबाट नभएको भनिएको छ ।

जीएसएम फाइभजीका लागि आवश्यक उपकरणको गुणस्तर तथा अन्य प्राविधिक पक्षसमेत निर्धारण गर्ने, फाइभजीमा प्रयोग हुने मोबाइल उपकरण तथा अन्य उपकरणको मापदण्ड तयार गरी लागू गर्नुपर्नेलगायत काम प्राधिकरणबाट नभएको प्रतिवेदनमा औंल्याइएको छ ।

‘दूरसञ्चार क्षेत्रमा नयाँ प्रविधिको विकास तथा उपयोगका लागि अन्तर्राष्ट्रिय टेलिकम युनियन (आईटीयू) ले लागू गरेको मापदण्डअनुसार नेपालको परिप्रेक्ष्यमा निकै लामो अनुसन्धान तथा प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘हालको अवस्थामा फाइभजीको सेवा सुरु गर्नका लागि उल्लिखित कार्य गर्नुपर्नेमा सोअनुसार गरेको प्रगति विवरण पेस हुन आएन ।’

प्रकाशित : असार १६, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?