२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ठमेल क्षेत्रका २७० पसल विस्थापित

कारोबार नभएपछि ट्राभल, कार्गाे, गेस्ट हाउस, बेकरी सप, ट्रेकिङ गियर्स, ह्यान्डी क्राफ्टलगायत व्यवसाय संकटमा
नुमा थाम्सुहाङ

काठमाडौँ — ठमेल नरसिङ चोकका व्यवसायी राजकुमार थापाको लगानी रहेको ज्वेलरी पसल हालै बन्द भयो । घरभाडा धेरै महँगो र व्यवसाय थप विस्तारको सम्भावना नदेखेपछि पसल बन्द गर्ने निर्णय गरेको उनको भनाइ छ ।

ठमेल क्षेत्रका २७० पसल विस्थापित

‘पसलमा १० लाख रुपैयाँ बराबरको सामान छ,’ थापाले भने, ‘महिनाको भाडा १ लाख १० हजार बुझाउनुपर्छ । घरबेटीले भाडा घटाउन नमानेपछि पसल बन्द गर्‍यौं ।’ लकडाउनका कारण पसल राम्रोसँग नचलेको उनको भनाइ छ । ‘यस्तो अवस्थामा घरभाडा कसरी बुझाउनु ?’ उनले भने, ‘केही घरबेटीले भने घरभाडा छुट दिएका छन् ।’ व्यवसाय पहिलाको जस्तै अवस्थामा आउन कम्तीमा दुई वर्ष लाग्ने उनले सुनाए । ‘अब एक वर्षसम्म व्यवसाय नगर्ने योजना छ,’ उनले भने ।

यस्तो समस्या उनको मात्र होइन । ठमेलमै २६ वर्षदेखि प्लानेट उल हाउस सञ्चालन गर्दै आएका व्यवसायी दिवाकर थपलियाले पनि सटर खाली गर्दै छन् । एक/दुई दिनभित्र पसल बन्द गर्ने उनले बताए । ‘भाडा धेरै महँगो भयो । धान्न नसकिने जस्तो छ, त्यसैले पसल बन्द गर्दै छु,’ उनले भने, ‘तीन महिनाको लगातारको लकडाउनमा १० लाख रुपैयाँ बराबरको घाटा भयो । व्यवसाय गर्ने कि नगर्ने भन्नेमा अब पर्ख र हेरको अवस्थामा छु ।’

घरबेटीले ६ महिनासम्मको भाडा ५० प्रतिशत छुट गर्छाैं भन्दा पनि पसल चलाउने सक्ने अवस्था नदेखिएकाले छाड्न बाध्य भएको उनले सुनाए । ‘वर्षमा १० देखि २० प्रतिशतसम्म पसलको भाडा बढ्छ,’ उनले भने, ‘त्यसैले अहिले व्यवसायीहरूलाई गाह्रो छ ।’ ठमेल क्षेत्रका ट्राभल, कार्गाे अफिस, गार्मेन्ट्स, गेस्ट हाउस, बेकरी सप, ट्रेकिङ गियर्स र ह्यान्डी क्राफ्टलगायत पसल बन्द गर्ने क्रम बढेको व्यवसायी बताउँछन् ।

लकडाउनका कारण पर्यटकीय क्षेत्र ठमेल अहिले सुनसान छ । यहाँका केही पसल मात्र आंशिक रूपमा सञ्चालनमा छन् । ठमेलमा आयआर्जनको मुख्य स्रोत भनेकै विदेशी पर्यटक हुन् । अन्तर्राष्ट्रिय उडानहरू बन्द भएकाले विदेशी पर्यटक आउन सक्ने अवस्था छैन । त्यसैले अहिले यो क्षेत्रका व्यवसायी बढी समस्यामा परेका हुन् । पसल खोले पनि पर्यटक नभएकाले व्यापार हुन नसकेको ज्याठास्थित नेपाल क्याप एन्ड ब्याग हाउसका सञ्चालक कृष्ण थपलियाले बताए ।

‘नेपाल भ्रमण वर्ष २०२० भनेर सामान धेरै बनाएका थियौं,’ उनले भने, ‘अहिलेसम्म १५ लाख रुपैयाँ घाटा लागिसक्यो । घरबेटीले भाडा मागिरहेका छन् । व्यापार नभएपछि कसरी दिने ?’ व्यवसायको सिजनमै लकडाउन भएकाले पसल चलाउन समस्या भइरहेको उनको भनाइ छ ।

पुरानो ठमेल भनेर चिनिने वसन्तपुर, झोछेंका व्यवसायीको अवस्था पनि उस्तै छ । यति बेला वसन्तपुर डबलीमा व्यवसायीले पसल राखेका छैनन् । पसलको सामान बिग्रन्छ भनेर र समय बिताउनका लागि पसल खोलेको एए क्राफ्टका सञ्चालक अच्युत अर्यालले बताए । ‘अरू बेला दिनको १ लाख रुपैयाँसम्म कारोबार हुन्थ्यो । अहिले खाली बस्नुपर्छ,’ उनले भने, ‘पर्यटक आउने वातावरण नभएसम्म व्यवसाय हुँदैन ।’

आइतबारसम्म २ सय ७० जना व्यवसायी ठमेलबाट विस्थापित भइसकेको ‘कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समिति’ का संयोजक तथा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले जानकारी दिए ।

५० प्रतिशत भाडा छुट गर्न २५० घरधनी तयार

ठमेल क्षेत्रका २ सय ५० घरधनी र व्यवसायीबीच लकडाउन अवधिभरको घरभाडा ५० प्रतिशत छुट गर्नेसम्बन्धी समझदारी भएको छ । आइतबार यससम्बन्धी सम्झौता भएको ‘कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समिति’ का संयोजक तथा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले जानकारी दिए । घरधनी र व्यवसायीबीच घरभाडालाई लिएर कसरी समाधान गर्ने भन्ने सम्बन्धमा उनीहरूबीच व्यक्तिगत सम्झौता भएको उनको भनाइ छ ।

ठमेलस्थित यात्री सुइट होटलमा ठमेल क्षेत्रका घरधनी र व्यवसायीबीच भएको अन्तक्र्रियात्मक कार्यक्रममा समझदारी भएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ठमेल क्षेत्रमा १० हजार व्यवसायी र २ हजार घरधनी रहेको शर्माले जानकारी दिए । ‘मेरा घरबेटीले एक वर्षको २ महिनाको सय प्रतिशत घरभाडा छुट दिने भन्नुभएको छ,’ ठमेल, सातघुम्ती चोकस्थित क्रिएटिभ नेपाल एक्सपोर्ट प्रालिका सञ्चालक हरि ढकालले भने, ‘बाँकी महिनाको अवस्था हेरेर छलफल गरौं भन्नुभएको छ ।’ अन्तर्राष्ट्रिय उडान नखुल्ने र लकडाउन लम्बिँदै गए यसबारे सोच्न सकिने विषयमा छलफल भएको उनको भनाइ छ ।

व्यवसायी र घरधनीबीचको घरभाडालाई लिएर मिलेर अघि जान सकिने ठमेलका घरधनी अशोकनाथ प्याकुरेलले बताए । ‘समितिले ५० प्रतिशत घरभाडा छुट भने पनि घरधनी र व्यवसायीबीच कुन हदसम्म छुट दिन सकिन्छ, यसमा समझदारी गर्न सक्छौं,’ उनले भने, ‘घर, पसल र ठाउँअनुसारको भाडा बेग्लै छ । घरधनी र व्यवसायी दुवैलाई सहज हुने किसिमले सम्झौता गर्नुपर्छ ।’

ठमेलमा एउटा पसलको मासिक भाडा ५० हजारदेखि ३ लाख रुपैयाँसम्म छ । यसअघि व्यवसायी र घरधनीबीच एक वर्षसम्मको भाडा ५० प्रतिशत छुट दिनेबारे विवाद भइरहेको थियो । यसैका लागि विकास परिषद्ले समन्वय समिति गठन गरेको संयोजक शर्माले जानकारी दिए ।

प्रकाशित : असार १६, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?