रिक्सा चालकलाई हातमुख जोड्नै सकस

एक छाक जोहो गर्नकै लागि दिनभरि रिक्सा लिएर ठमेलका चोक तथा गल्लीहरु चहार्दा पनि रित्तो हात फर्कनुपर्ने अवस्था रहेको चालकहरु बताउँछन् ।

काठमाडौँ — लामो समयको लकडाउनपछि व्यवसाय केही खुकुलो भए पनि ठमेल क्षेत्रमा सुनसान छ । व्यापारिक तथा पर्यटकहरुको चहलपहल नहुँदा त्यसको प्रत्यक्ष मारमा रिक्सा चालकहरु पनि परेका छन् ।

रिक्सा चालकलाई हातमुख जोड्नै सकस

एक छाक जोहो गर्नकै लागि दिनभरि रिक्सा लिएर ठमेलका चोक तथा गल्लीहरु चहार्दा पनि रित्तो हात फर्कनुपर्ने अवस्था रहेको चालकहरु बताउँछन् । शुक्रबार मध्याह्नतिर ठमेलस्थित जेपी मार्गमा भेटिएका सिन्धुपाल्चोकका टासी शेर्पाले खाना खाएका थिएनन् । बिहान ५ बजेदेखि रिक्सा निकालेका उनले कमाइ नभएपछि खाना खान नपाएको बताए । बाङ्गेमुढामा बस्दै आएका शेर्पाले साढे दुई वर्षदेखि रिक्सा चलाएर नै चार जनाको परिवार जेनतेन धान्दै आएका थिए । निजी सवारीसाधन चल्न थाले पनि रिक्सा चलाउने मजदुरलाई मूल सडकमा रिक्सा चलाउन नदिएकोमा उनले आक्रोश पोखे । ‘पैसा हुनेलाई छोराछोरी कहाँ पढाउने र कत्रो घर बनाउने भन्ने चिन्ता छ,’ उनले प्रश्न गरे, ‘हामी गरिब जनता भोकै मर्ने ? हामीलाई भोक लाग्दैन ?’ सरकारले रोगको कारण देखाएर गरिब जनतालाई गरी खाने बाटो नदेखाएको उनको आरोप छ ।

टासीजस्तै काभ्रेका नमराज महत ४० वर्षदेखि ठमेल क्षेत्रमा रिक्सा चलाउँदै आएका छन् । क्वाबाहल बस्ने महतको आफूसहित ६ जनाको परिवार छ । उनका छोराबुहारी गाउँमै खेतीपाती गर्छन् । महत नातिनातिनी र श्रीमतीसहित ठमेलस्थित क्वाबाहलमा तीन हजार रुपैयाँ भाडा तिरेर बस्दै आएका थिए । अहिले उनी एक्लै बसे पनि घरमा खाद्यान्न नहुँदा होटल र कतै खाना बाँड्ने ठाउँतिरै गएर पेट भर्ने गरेको उनले सुनाए । लकडाउनमा पनि रिक्सा निकालेका महत भन्छन्, ‘रिक्साको दैनिक १ सय ५० रुपैयाँ भाडा तिर्नुपर्छ, लकडाउनमा रिक्सा निकाले पनि आफ्नै एक छाक टार्नै मुस्किल छ ।’ लकडाउनको अवधिमा उनलाई बौद्धबाट राहत दिएका थिए । लकडाउन सुरु भएदेखि कोठा भाडा तिरेका छैनन् । सुरुवाती दिनमा उनले रिक्साको भाडा तिरे पनि अहिले तिर्न सकेका छैनन् ।

त्यस्तै दोलखाका विष्णु अछामी पनि ३२ वर्षदेखि रिक्सा चलाउँदै छन् । अछामीको आफ्नै रिक्सा भएकाले भाडा तिर्नु पर्दैन । अभावकै कारण श्रीमतीलाई ६ महिनादेखि शरीर सुन्निने रोगले च्यापे पनि उनले उपचार गराउन सकेका छैनन् । वडा नम्बर ७ मा बस्ने भएकाले उनलाई ५ किलो चामलको प्याकेट भएको राहत पाए । उनले भने लकडाउन खुकुलोपछि पनि रिक्सा निकालेका छैनन् ।

काभ्रेका हर्कबहादुर तामाङ पनि २७ वर्षदेखि रिक्सा चलाएर नै गुजारा गरिरहेका छन् । हर्कका एक छोरा र एक छोरी छन् । छोरा शिक्षक भए पनि लकडाउन लागेपछि घरमै बन्द छन् । उनले एक सातादेखि रिक्सा चलाउन सुरु गरेको बताए । रिक्सा निकाले पनि कमाइ नभएपछि उनलाई अहिले छाक टार्न मुस्किल छ । कोठा भाडाको चिन्ता र भोकै मरिने पीरले सडकमा निस्किएको उनले दु:ख पोखे । वर्षौं देखि रिक्सा चलाउँदै आएका चालकहरुको ०७२ सालको भूकम्पपछि समस्या झेल्दै आएका दोलखाका चन्द्रबहादुर गुरुङले बताए । लकडाउनले झन समस्या थपिदिएको उनको पीडा छ । अहिलेको अवस्थाले रिक्सा चालकहरुलाई काठमाडौंबाट नै विस्थापित गर्ला कि भन्ने उनलाई अर्काे चिन्ता छ ।

अहिलेको महामारीमा रोग र भोकबाट जनतालाई बचाउने हो भने सरकारले मजदुरी गरेर खाने रिक्सा चालकहरुलाई एक छाक दालभात खानाको जोहो गरिदिनुपर्ने उनीहरुको अनुरोध छ । भोकै बसेका जनतालाई सरकारले सामाजिक दूरी कायम गर्नुपर्ने, मुखमा मास्क लगाउनुपर्ने र साबुनपानीले हात धुनुपर्नेजस्ता सूचनाहरु दिएर लज्जास्पद कुरा गरेको रिक्सा मजदुरहरुको भनाइ छ ।

महानगरीय पर्यटकीय स्वतन्त्र रिक्सा चालक संगठनको तथ्यांकअनुसार हाल ठमेल क्षेत्रमा ४ सय ७२ वटा रिक्सा र ७ सयभन्दा बढी रिक्सा चालकहरु छन् । १ सयको हारहारीमा रिक्साहरु ग्यारेजमा थन्किए पनि अधिकांश रिक्सा सञ्चालनमा आएको संगठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले बताए । उनका अनुसार अशिक्षा, गरिबी र पहिचान विहीन कतिपय रिक्सा चालकहरु वडा तथा विभिन्न संघसंस्थाले वितरण गरिने राहतबाट वञ्चित हुनुपरेको छ । ‘सबैजसो चालकहरुलाई अहिले बिहान/बेलुका खानाका लागि गाह्रो छ,’ उनले भने, ‘कतिको नागरिकताको प्रमाणपत्र छैन । हुनेले पनि बोल्न सक्दैनन् । उनीहरुलाई कता जाने र कसलाई भन्ने केही पत्तो छैन ।’ रिक्सा चालकहरुको दयनीय अवस्थामा बुझेर सरकारले तत्काल राहत वितरण गर्नुपर्ने उनको माग छ ।

प्रकाशित : असार १५, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?