कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोनाले रोकेन असारे विकास

असार लागेसँगै उपभोक्ता समिति बनाउने, सम्झौता गर्ने र हतारहतार बजेट भुक्तानी गर्ने क्रम तीव्र
प्रदेश ब्युरो

सुर्खेत — कोरोना प्रकोपका कारण देशभर लकडाउन भए पनि कर्णालीका स्थानीय तहमा भने असारे विकासलाई कोरोना कहरले छुन सकेको छैन । असार लागेसँगै उपभोक्ता समिति बनाउने, सम्झौता गर्ने र हतारहतार बजेट भुक्तानी गर्ने क्रम तीव्र छ ।

कोरोनाले रोकेन असारे विकास

दैलेखको ठाँटीकाँध गाउँपालिकामा एक महिनायता ३० वटा सडक योजना निर्माणको काम जारी छ । तीमध्ये ६ वडामा १० डोजरले सडक निर्माणको काम गरिरहेका छन् । अधिकांश योजना निर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता गरिएको छ । तर काम ठेकेदारले गरिरहेका छन् ।

छिटो काम सक्ने बहानामा उपभोक्ता समितिले ठेकेदारलाई योजनाको जिम्मा दिएपछि स्थानीयले गुणस्तरमा प्रश्न उठाएका छन् । ‘एक त असारे विकास, त्यसमा सम्झौता उपभोक्ता समितिको, काम ठेकेदारको,’ स्थानीय कमल केसीले भने, ‘विकासका नाममा आर्थिक अराजकता बढ्यो ।’

उपभोक्ता समितिमा योजना बेच्ने प्रवृत्ति मौलाउँदै गएको गाउँपालिकाका इन्जिनियर कुमार खेमसुन्दर शाही बताउँछन् । ‘टाठाबाठाहरू कार्यालयमा उपभोक्ता समितिद्वारा काम गराउनुपर्छ भन्दै टेबल ठटाउँछन्,’ उनले भने, ‘काम पाउनासाथ ठेकेदारलाई कम मूल्यमा बेचेर बाँकी रकम कुम्ल्याउने प्रवृत्तिले सडकको बजेट बर्सेनि खेर गइरहेको छ ।’ ठाँटीकाँधमा यस वर्ष प्रादेशिक र स्थानीय सडकमा झन्डै ३ करोड रुपैयाँ खर्च भइरहेको उनले जानकारी दिए ।

कतिपय स्थानीय तहमा निर्मित सडकमा मान्छे हिँड्नसमेत मुस्किल छ । महाबु गाउँपालिका ४ काब्रीखोलामा उपभोक्ता समितिमार्फत १३ लाख ५० हजार रुपैयाँमा खनिएको सडकले सामाजिक सञ्जालमा चर्चा पाएको छ । सडक हेर्दा नेपालको झन्डा आकारको देखिन्छ । ‘कार्यकर्ता रिझाउन जथाभावी सडक निर्माण हुन थाले,’ केसीले भने, ‘डोजर चालक नै इन्जिनियर बनेपछि सडकमा मानिस हिँड्न पनि समस्या भएको छ ।’

जथाभावी डोजरमार्फत सडक निर्माण हुँदा युवाहरू बेरोजगार बनेको स्थानीय धर्म बुढाले बताए । ‘स्थानीय तह डोजरमय बनेका छन्,’ उनले भने, ‘उपभोक्ता समितिमा बस्नेहरू डोजरको कमिसनले मालामाल हुन थाले ।’ दैलेखका ९० वडामा अहिले ५८ वटा डोजर चलिरहेका छन् । दुल्लुमा २, नारायणमा १५, चामुण्डाबिन्द्रसैनीमा ६, गुराँसमा ८, नौमुलेमा ५ र ठाँटीकाँधमा १० डोजरले विभिन्न सडक निर्माण गरिरहेका हुन् । त्यस्तै महाबुमा ७, डुगेश्वरमा ६, भैरवीमा २ र आठबीस र भगवतीमाईमा ७/७ डोजर चालु अवस्थामा छन् ।

सदरमुकामस्थित नारायण नगरपालिकाले स्थानीय पूर्वाधार विकास कोषको ५ करोड ४५ लाख र आफ्नै २ करोड रुपैयाँ खर्च गरी सडक निर्माण गरिरहेको छ । झन्डै ८० प्रतिशत सडकको काम सकिएको नगरपालिकाका इन्जिनियर हिक्मत रोकायले जानकारी दिए । डुगेश्वर गाउँपालिकाले यस वर्ष ३ करोड रुपैयाँ सडकमा छुट्याएको छ । प्रदेश सरकारको १ करोड ४० लाख रुपैयाँ पनि सडकमै खर्च भइरहेको छ । सडक निर्माणको काम छिटो गर्न डोजर प्रयोग गरिरहेको नौमुले गाउँपालिका अध्यक्ष भदे बुढामगरले बताए । नौमुलेमा पनि प्रदेश सरकारको १ करोड ६१ लाख र गाउँपालिकाको ६१ लाख बजेटमा सडक निर्माणको काम जारी छ ।

काम डोजरले, भुक्तानी डोर हाजिरीमा

कालीकोटमा कोरोना कहरबीच बजेट फ्रिज जाने सम्भावना बढेपछि बजेट सक्न धमाधम उपभोक्ता समिति गठन गरेर काम थालिएको छ । उपभोक्ता समिति गठनको मिति भने पहिलेको राख्ने गरिएको स्थानीयको भनाइ छ ।

असार १ मा रास्कोट नगरपालिकामा निर्माण हुन लागेको रंगशालाको उपभोक्ता समिति गठन गरिएको थियो । विवादबीच बनेको उपभोक्ता समितिले पूर्णता पाउन भने एक हप्ता लाग्यो । समितिले ११ दिनपछि मात्र नगरपालिकासँग सम्झौता गरेर काम थालेको छ । १ करोड रुपैयाँको उक्त आयोजना असार २० गतेसम्म काम सकेर भुक्तानी लिइसक्नुपर्नेछ । बजेट सक्नकै लागि एक्स्काभेटरमार्फत काम भइरहेको छ । तर उपभोक्ता समितिले कामदारको डोर हाजिरी बनाएर रकम लिने पुरानै चलन छ । डोजरबाट काम गर्ने र नक्कली डोर हाजिरी बनाएर रकम भुक्तानी लिने चलन रहेको स्थानीय रणबहादुर बमले बताए । रास्कोट नगरपालिकाका आफ्नै योजनाको ८० प्रतिशत काम सकिए पनि कर्णाली प्रदेश सरकारमार्फत बजेट खर्च हुने योजनाको काम भर्खर सुरु भएको नगर प्रमुख काशीचन्द्र बरालले बताए ।

खाँडाचक्र नगरपालिका–३, ताडी बसपार्कदेखि तिलाकर्णाली बहुमुखी क्याम्पस पुग्ने आरसीसी ढलानको ठेक्का भएको दुई महिना पुग्यो । काम भने बल्ल सुरु भएको छ । करिब १ करोडको योजनाको हाल ढुंगा बिछ्याएर काम हुँदै छ । कालीकोटका ९ वटै पालिकामा मुख्यमन्त्री रोजगार कार्यक्रम पनि असार लागेपछि सुरु भएको छ । कालीकोटमा आएको बजेट विकास निर्माण गर्नेभन्दा पनि आफ्ना नेता–कार्यकर्ता पाल्ने काम मात्र हुने गरेको पूर्वजिविस उपसभापतिसमेत रहेका राप्रपा नेता सत्यबहादुर शाहीले जानकारी दिए ।

प्रदेश सरकारबाट आएको ताडीदेखि राराघाटसम्मको सडक, फोराबान्ना नैनकुञ्ज सडक, जिम्जेडी खआनेपानी, जनजीवन मावि, लिगासैनी मावि दशालालगायत काम असारमै सुरु भएका छन् । खाँडाचक्रमा आएको २० लाख विशेष अनुदानको रकमले नगरका ११ वटै वडामा बाख्रा वितरण गर्न लागिएको छ । अन्य काम गर्न नसकिने भएकाले बाख्रा वितरण गर्ने योजना बनेको बुधबार सम्पन्न नगर सभामा वडाका जनप्रतिनिधिलाई जानकारी गराइएको थियो ।

मुगुका स्थानीय तहले पनि कोरोना त्रासबीच असारे विकास जारी राखेका छन् । विषयगत कार्यालयमा पनि योजना सम्झौता, प्राविधिक मूल्यांकन, भुक्तानीलगायतको काम जारी छ ।

यार्चा यात्रा रोकिएपछि काममा

मुगुमकार्मारोङ गाउँपालिका–२ मा विकास निर्माणको काम जारी छ । यस वर्ष यार्चा संकलनमा प्रतिबन्ध लगाइएपछि स्थानीयवासी विभिन्न विकास योजनाका काममा जुटेका छन् । गाउँपालिकाले ४० लाखको कोइकी पर्यटकीय पदमार्ग, ५५ लाखको गाउँपालिका भवन निर्माण र ५० लाखको आवासीय विद्यालय भवन निर्माणको कामलाई तीव्रता दिएको छ । तीनवटै योजना उपभोक्ता समितिमार्फत जारी राखिएको हो । ‘एकातिर कोरोना संक्रमणको डर छ, अर्कोतिर यार्चा संकलन गर्न नपाउनुको पीडा छ,’ पुलुगाउँका कर्माछिरिङ लामाले भने, ‘यार्चा टिप्न नपाइएपछि गाउँ नै उर्लिएर विकासको काममा जुटेका छौं ।’

सामाजिक दूरी कायम गरी विकास निर्माणलाई तीव्रता दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए । ‘आर्थिक वर्ष सकिन थालेकाले सतर्कता अपनाएर साना योजना सुरु गरेका हौं,’ उनले भने, ‘कोरोनाको डरले मानिस जम्मा हुन गाह्रो मानेकाले केही योजना सुरु गर्न सकिएको छैन ।’

विकासे कार्यालयमा पनि असारे विकासको चटारो सुरु भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत छायानाथरारा नगरपालिकास्थित थार्पदेखि लहतिर्पसम्मको ग्रामीण सडक निर्माणको काम एक साताअघि सुरु भएको छ । आर्थिक वर्ष सकिन लागेकाले छिटो योजना सक्नुपर्ने बाध्यता भएको १ करोड ५७ लाख रुपैयाँको उक्त योजना ठेक्कामार्फत सुरु गरिएको हो । डिभिजन वन कार्यालयले पनि २३ मध्ये १७ योजनाको सम्झौता गरी काम अघि बढाएको छ । डिभिजन कार्यालयका सूचना अधिकारी वसन्तकुमार शाहीले बताए । अन्य विषयगत कार्यालयले पनि कामका आधारमा भुक्तानी दिने गरी विकास निर्माणलाई तीव्र बनाएका छन् ।

ज्योति कटुवाल (दैलेख), राजबहादुर शाही (मुगु) र तुलाराम पाण्डे (कालीकोट)

प्रकाशित : असार १४, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?