कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

करिब २१ प्रतिशत क्षेत्रफलमा रोपाइँ

औसत रोपाइँ साढे ८ प्रतिशत बढ्यो
कर्णाली र गण्डकी प्रदेशमा घट्यो
राजु चौधरी

काठमाडौँ — जेठ तेस्रो सातादेखि सुरु भएको धान रोपाइँ हालसम्म २ लाख ७५ हजार २९ हेक्टरमा भएको छ । बर्खे सिजनमा करिब १३ लाख ७१ हजार हेक्टरमा रोपाइँ हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये यस वर्ष असार १० सम्म २०.०५ प्रतिशत रोपाइँ भएको छ । यो तथ्यांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४१ प्रतिशत बढी हो । मन्त्रालयका अनुसार ०७६ असार १० सम्म ११.६४ प्रतिशत रोपाइँ भएको थियो ।

करिब २१ प्रतिशत क्षेत्रफलमा रोपाइँ

‘किसानले समयमै बीउ राखे । मनसुन सक्रिय भएको छ । अहिले गाउँघरमा जनशक्ति पनि छ,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘मनसुन यही हिसाबले भयो भने रोपाइँ राम्रो हुन्छ ।’ यस वर्ष बाँझो जग्गा नराख्ने अभियानले पनि रोपाइँ बढाउने मन्त्रालयको दाबी छ । उच्च पहाड, मध्यपहाड हुँदै तराईसम्म धान रोपाइँ हुन्छ । तराईमा साउन अन्तिमसम्म रोपाइँ चल्छ ।

असार १० सम्म रोपाइँ २६.०७ प्रतिशत भएको मन्त्रालयको तथ्यांक छ । अघिल्लो वर्ष सोही अवधिमा २४.९४ प्रतिशत थियो । मध्यपहाडमा रोपाइँ २०.०७ प्रतिशत भएको छ । ०७६ असार १० सम्म १६.९१ प्रतिशत मात्रै रोपाइँ भएको थियो । तराईमा भने १९.७५ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ९.११ प्रतिशत मात्रै रोपाइँ भएको थियो । अहिलेसम्म औसत रोपाइँ ११.६४ बाट बढेर २०.०५ प्रतिशत पुगेको छ,’ मन्त्रालयका प्रवक्ता केसीले भने ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश ५ मा रोपाइँ भएको छ । त्यहाँ अहिलेसम्म ३६.२६ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यति बेला १३.९६ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिम प्रदेशमा भने २१.४६ प्रतिशत रोपाइँ भएको मन्त्रालयको विवरणमा उल्लेख छ । अघिल्लो वर्ष यही अवधिमा २० प्रतिशत रोपाइँ भएको थियो ।

वाग्मती प्रदेशमा १८.६८ प्रतिशत रोपाइँ भएको छ । गतवर्ष सोही अवधिमा ६.७१ प्रतिशत भएको थियो । प्रदेश २ मा रोपाइँ १५.५३ प्रतिशत भएको मन्त्रालयले जनाएको छ । गतवर्ष यति बेला ५.२० प्रतिशत मात्रै रोपाइँ भएको थयो । प्रदेश १ मा १० प्रतिशत रोपाइँ भएको छ । गतवर्ष सोही अवधिमा ९.९७ प्रतिशत थियो ।

कर्णाली र गण्डकी प्रदेशमा भने रोपाइँ प्रतिशत घटेको छ । ०७६ असार १० सम्म कर्णालीमा २६.१३ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । अहिले घटेर २०.११ प्रतिशत मात्रै भएको छ । गण्डकी प्रदेशमा पनि गत वर्ष १७.९९ प्रतिशत रोपाइँ भएको थियो । अहिले घटेर १३.७२ प्रतिशतमा झरेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

नेपालको खेती प्रणाली मनसुनमै आधारित छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा रोपाइँका लागि मनसुन नै कुर्नुपर्छ । मनसुन सक्रिय नहुँदा रोपाइँ पनि बढ्ने आकलन गरिएको हो । तर रासायनिक मल अभाव हुँदा उत्पादनमा असर गर्ने चिन्ता छ । हरेक वर्षझैं यस वर्ष पनि मल अभाव छ । ‘असार अन्तिम/साउन पहिलो सातासम्म मल नआए पश्चिमतिर केही समस्या हुन सक्छ,’ मन्त्रालयका प्रवक्ता केसीले भने ।

प्रकाशित : असार १२, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?