रसुवागढीबाट सामान आयात गर्न सहमत

बलराम घिमिरे

रसुवा — पाँच महिनादेखि आयात–निर्यात तथा आवतजावत ठप्प रसुवागढी नाकाबाट सामान ल्याइने भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण माघ १५ देखि रसुवागढी नाकाबाट आयात–निर्यात र आउजाउ ठप्प छ ।

रसुवागढीबाट सामान आयात गर्न सहमत

सामान आयात गर्ने विषयमा दुवै देशका समकक्षीहरुबीच बुधबार मितेरी पुलमा सामान आयात गर्नेबारे छलफल भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । छलफलमा कोभिड–१९) को माहामारी समेतलाई मध्यनजर गरी मानिसको आवागमनलाई अस्थायी रूपमा बन्द गर्ने, मालवस्तुको एकतर्फी जाँचपास हुने गरी नाका सुचारु गर्न चिनियाँ पक्ष तयार रहेको पन्तले बताए । त्यसका लागि नेपाली पक्षले सीमानाकाको सुरक्षा प्रबन्ध, क्वारेन्टाइन जाँच, स्वास्थ्य सुरक्षाको प्रबन्ध, भन्सार जाँचपासलगायतका विषयमा आवश्यक तयारी पूरा गर्नुपर्ने समझदारी भएको छ ।

आयात हुन थालेपछि चिनियाँ पक्षले मितेरी पुलसम्म सामान ल्याइदिने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।

‘मितेरी पुलबाट नेपाली चालकले सामान सम्बन्धित ठाउँसम्म लैजानेछन् । त्यसका लागि नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराउनुपर्नेछ,’ उनले भने, ‘जति सक्दो छिटो चिनियाँ पक्षलाई नेपाली पक्षले चालक र कामदारको विवरण उपलब्ध गराउन सक्यो त्यति नै छिटो सामान आयात हुन्छ ।’

मितेरी पुलसम्म दैनिक चार ट्रक सामान आयात हुन्छ । सहज हुँदै गएमा विस्तारै सामान आयातलाई बढाइनेछ । अहिले अत्यावश्यक समान आयत हुनेछ । असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने आयोजनाका सामानहरु जलविद्युत् तथा विमानस्थलका समानहरु आयात हुनेछन् । मितेरी पुलबाट कोही पनि पारी जान पाइने छैन । मितेरी पुलमा सामग्री लिन जाने चालक कामदारको दैनिक परीक्षण गरिनेछ ।

सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ । उक्त नाकाबाट पाँच महिनादेखि आयात निर्यात ठप्प छ । अहिले रसुवागढी नाका सुनसान छ । सीमामा सुरक्षा अधिकारीहरू मात्र छन् । सामान लिन केरुङ जान लाइनमा राखिएका केही खाली कन्टेनर छन् । नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर रहेको छ । आयात निर्यात ठप्प भएकाले राजस्व संकलन प्रभावित भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत खड्काले बताए । यो नाकाबाट मुख्य गरी ५ वटा मालवस्तु पैठारी भइरहेको रसुवा भन्सार कार्यालयले बताएको छ । पैठारी हुने मुख्य मालवस्तुमा तयारी कपडा, स्याउ, जुत्ता र चप्पल, झोला र चस्मा र फ्रेम रहेका छन् ।

प्रकाशित : असार ११, २०७७ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?