१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पूर्वी नाकामा खुकुलिँदै निर्यात अवरोध

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतको पश्चिम बंगाल सरकारले कोरोना संक्रमणको कारण देखाउँदै नेपाली उत्पादन निर्यातमा गरेको अवरोध खुकुलो बन्दै गएको छ । 

पूर्वी नाकामा खुकुलिँदै निर्यात अवरोध

बंगलाको अवरोधका कारण ५ दिनदेखि नेपाल–भारत जोड्ने मेची पुलमा नेपाली सामान बोकेका ट्रक तथा कन्टेनरहरु अलपत्र थिए । सोमबार साँझ ६ ट्रक र अलैंचीका ५ ट्रक भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

पुलमा अझै १० ट्रक निर्यातको पर्खाइमा छन् । जसमा ६ चिया र ४ अलैंचीका ट्रक छन् । ‘ती गाडीहरु पनि सम्भवत आज अपरान्हसम्ममा निर्यात हुने विश्वास छ’, भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले भने,‘अब अवरोध क्रमश: खुकुलिँदै गएको छ ।’ अम्लिसोका १३ वटा ट्रक पनि सोमबारै निर्यात भएको छ । यसअघि ९ ट्रक अम्लिसो हरियाणा निर्यात भएको थियो ।

भन्सार प्रमुख विश्वकर्माका अनुसार बंगालले आफ्नो राज्य बाहिर जाने सामानलाई सहजै छाडिरहेको छ । तर, बंगालकै लागि गएका सामानमाथि कडाइ जारी छ ।

पूर्वी नाकामा रोकिएका नेपाली सामानबारे सञ्चारमाध्यमहरुमा समाचार आएपछि दिल्लीस्थित नेपाली दूतावासले चासो लिएको थियो । सोमबार नेपाली दूतावासका अधिकारीले बंगालका मुख्य सचिव राजीव सिन्हालाई फोनमा निर्यात व्यापारमा भएको अवरोधबारे जानकारी गराएका थिए ।

मुख्य सचिव सिन्हाले निर्यात अवरोधवारे आफू अनभिज्ञ भएको र कुनै हालतमा रोक्न नमिल्ने जनाएका थिए । व्यवसायीका अनुसार मुख्य सचिव सिन्हाले पानीट्यांकी नाकामा फोन गरेर नेपाली सामान नरोक्न निर्देशन दिएपछि निर्यात खुकुलो भएको एक व्यवसायीले जनाए ।

उनका अनुसार बंगालमा निर्यात हुने चियाप्रति भने अझै राज्य सरकार अनुदार रहेको छ ।

प्रकाशित : असार ९, २०७७ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?